कहीँ नभएको जात्रा हाँडीगाउँमा

डिसी नेपाल
२२ असोज २०८२ १७:०२
20
Shares

काठमाडौं । काठमाडौंमा वर्षेनी निकालिने ‘कहीँ नभएको जात्रा हाँडीगाउँमा’ आज पनि निकालिएको छ। हरेक वर्ष कोजाग्रत पूर्णिमाको भोलिपल्टबाट उक्त जात्रा निकालिन्छ।

‘कहीँ नभएको जात्रा हाँडीगाउँमा’ भन्ने जात्रा सत्यनारायणको जात्रा हो। राजधानीको हाडीगाउँमा बुधबार गजुर भुइँपट्टि र देवता टुप्पोमा भएको जात्रा मनाइएको हो। यही जात्राले गर्दा नै ‘कहीं नभएको जात्रा हाडीगाउँमा’ भन्ने उखान नै बन्यो। यसलाई श्री चोकटे नारायण जात्रा पनि भनिन्छ भने यो जात्रा हाडीगाउँको प्रसिद्ध परम्परा हो र लिच्छवीकालदेखि मनाउँदै आइएको छ।

कोजाग्रत पूर्णिमाको भोलिपल्ट मनाइने यो जात्रामा ब्रह्मा, विष्णु र महेश्वरको छुट्टाछुट्टै खट यात्रा गरिन्छ। सामान्यतया गजुर टुप्पोपट्टि फर्किएको खट बोकेर जात्रा गरिन्छ।

हाँडीगाउँका स्थानिय बासिन्दा रोहन प्रजापतिले यो जात्रा परापूर्व कालदेखि नै एउटा दिदीबहिनीको कथासँग जोडिएको बताए। उनले एकै समयमा सुत्केरी रहेका दिदीबहिनीको कथामा नारायण भगवानको प्रसंग समेत यो जात्रामा जोडिएको बताए।

उनले भने, ‘यो जात्राको विशेषता भन्ने हो भने यो जात्रा परापूर्व कालदेखि नै एउटा दिदीबहिनीको कथासँग जोडिएको छ। किंवदन्ती अनुसार कुनै समयमा एक राजाका दुई छोरी थिए। उनीहरूको एकै समयमा सुत्केरी हुने समय थियो। दिदीले सुत्केरी गराउन नारायण भगवानको शक्ति आवश्यक रहेको बताए पनि बहिनीले यस कुरामा विश्वास गरेकी थिइनन्। जसकारण, दिदीले सफलतापूर्वक सन्तानलाई जन्म दिए पनि बहिनीको १२ वर्षसम्म पनि सन्तानलाई जन्म दिन सकिनन् । यसको कारण खोज्दै जाँदा रिसाएका नारायण भगवान् हिमालमा तपस्या गरेर बसेका थिए। ती भगवानलाई प्रसन्न पार्न ‘कहीँ नभएको जात्रा’ गरेपछि मात्रै बहिनी सुत्केरी भएकी थिइन् भन्ने विश्वास रहेको छ।’

हाँडीगाउँको जात्राले छुट्टै मौलिकता र विशेष पहिचान बोकेको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.