निबन्ध

जिन्दगीः जोखिममा बग्ने यात्रा

ज्ञानेन्द्र विवश
२५ असोज २०८२ ६:४७
36
Shares

जीवनको प्रत्येक पल जोखिममा हुन्छ। कहिले के विपत्ति आइलाग्ने हो भन्न सकिँदैन। अकल्पनीय घटनाले हामीलाई कहिले खुसीको उत्सवमा सामेल गराउँछ। कहिले पीडा र चोटको गहिराइमा असह्य दुखाइको सामना गर्न लगाउँछ। त्यसैले लाग्छ- जोखिममा बग्ने यात्रा नै जिन्दगी हो।

कहिलेकाहीँ लाग्छ- मानिसको जीवन पनि कुनै नदीजस्तै हो। कहिले शान्त र चम्किलो सतहमा टल्किन्छ, कहिले अविरल बग्ने बाढीको उन्मादमा उफ्रिन्छ। कहिले कुनै पहाडको गर्भ चिरिँदा भत्किन्छ- तर रोकिँदैन।

आजका दिनहरूमा मानिसले जोखिमलाई आफ्नो नियतिजस्तै बोक्नुपरेको छ। आकाशमा बादल बाक्लिँदै आउँछ, हावाको वेगमा भय मिसिन्छ र बाटोको माटो चिप्लिन थाल्छ। तर पनि कोही खेततिर जान्छन, कोही गन्तव्यतिर लाग्छन्।

किनकि जिन्दगी चुपचाप बस्न सक्दैन। यसरी हात बाँधेर बस्नु पनि हुँदैन। भोकको आगो, परिवारको आशा र भविष्यको खोजीले मानिसलाई हरेक विपद्को सामना गर्न बाध्य बनाएको हुन्छ। र, जिन्दगी कुनै न कुनै काममा लागिरहेको हुन्छ। त्यसबाट उसलाई सानै पाओस् वा ठूलै प्राप्ति होस्। तर कामप्रतिको मोह टुटेको हुँदैन र टुट्नु पनि हुँदैन।

अविरल पानीको प्रवाहमा डुब्न नसकेको मान्छेले त्यही पानीमाथि जिन्दगीको डुङ्गा चलाइरहेको छ। सडक पहिरोले बगाउँछ, पुल भत्किन्छ, तर यात्रुहरूको आँखा अझै पारिपट्टिको उज्यालोतिर नै हुन्छ। उनीहरू भीरपाखा समातेर अघि बढ्छन्- जसरी कुनै गीतकार दुःखको घाउमाथि गीत लेख्छ वा चित्रकार आँसुको रङले आशाको चित्र बनाउँछ।

कुनै गाउँमा रातभर बाढीको गर्जन सुनिन्छ र बिहान उठ्दा बगाएको घर, उध्वस्त खेत र बेपत्ता सपना देखिन्छ। तर त्यही गाउँका मान्छेहरू साँझमा फेरि बचेको माटोमा बिउ छर्छन्- जिन्दगीको पुनर्जन्मको प्रतीक बनेर। यही त मान्छेको अदम्य साहस हो-जोखिमसँगै बस्ने, भयसँगै हाँस्ने र मृत्युको छायासँगै पनि जीवनको उज्यालो खोज्ने।

यात्रुहरू अलपत्र छन्, तर उनीहरू निराश छैनन्। भिजेका कपडाभित्र पनि तातो मुटु ढुक-ढुक धड्किरहेको हुन्छ। भीरबाट ओरालो झर्ने पानीले बाटो मेटाउँछ। तर मान्छेका पाइलाले नयाँ बाटो कोर्छन्। यो जबरजस्ती होइन-यो जीवनको स्वाभाविक संघर्ष हो। यसले मानव अस्तित्वको अर्थलाई गहिरो बनाउँछ।

कहिलेकाहीँ आकाशको गर्जन र पृथ्वीको कम्पनबीच पनि एउटा शान्त संगीत सुन्न सकिन्छ-जीवनको संगीत। त्यसमा पीडा पनि हुन्छ, डर पनि, तर त्यसैभित्र आशाको स्वर मिसिएको हुन्छ।

आकाश कालो-निलो भयो। गर्जन र चट्याङले पृथ्वी थर्कियो। यो कुनै सामान्य मेघगर्जन थिएन। यो त प्रकृतिको विकराल रूप थियो। त्यसले पहाड, खोला र मानिसको जीवनलाई एकैचोटि निल्यो। अविरल पानीका थोपाहरूले जमिन भिजेर पानीका पोखरीहरू बने, जसले सडकहरू नदीमा परिणत भए।

पहाडहरू कमजोर भए र अब ती पहिरोको रूपमा खस्ने तयारीमा छन्, जसले मुनि रहेका बस्ती र सडकहरूलाई आफूसँगै लैजानेछ। मानिसहरूका अनुहारमा त्रास स्पष्ट देखिन्थ्यो, उनीहरू प्रकृतिको क्रोधसँग लडिरहेका थिए, तर आफ्नो शक्तिहीनता देखेर डराएका थिए। आखिर प्रकृतिसँग कसैको केही लाग्दैन। प्राकृतिक विपत्तिलाई कसैले रोकेर रोक्न सक्दैन।

बाढीले सडक र गाउँहरू डुबायो र मानिसहरूलाई जोखिममा पा¥यो। नदीको बहाव यति बलियो भयो कि यसले ढुङ्गा र रुखहरूलाई पनि बगाएर लग्यो, जसले सडक र पुलहरूलाई भत्कायो। यात्रुहरू बाटोमा फँसे, घर फर्किन सकेनन्।

उनीहरूको यात्राले सुखको बाटोमा हिँडिरहेको बेला अचानक त्रासदीमा परिणत भयो। मानिसहरूले सहयोगका लागि चिच्याए, तर आवाज पानीको बहावमा हरायो। केही मानिसहरूले आफ्नो ज्यान बचाउन रुखमा चढे, तर धेरैले आफ्नो जीवन हारगुहार ‘अरण्य रोदन’ भयो। अकालमा ज्यान गुमाउने कति भए, को-को भए ? कसैलाई त्यसको अत्तोपत्तो भएन।

यो केवल बाढी, पहिरो र दुर्घटनाको कथा थिएन। यो त मानिसको जीवनको कथा थियो, जुन प्रकृतिको अगाडि निरीह थियो। यो दुःख, विछोड र संघर्षको कथा थियो, जहाँ मानिसहरूले आफ्नो सबै कुरा गुमाए र पनि बाँच्ने आशा राखे।

यो पीडा र साहसको कथा थियो, जहाँ मानिहरूले सबै कठिनाइहरूको सामना गरेर पनि आफ्नो मानवता गुमाएनन्। आफू पीडित भएर पनि सहयोग गरे। साथ दिए, हातेमालो गरे। बाँडिचुँडी खाए। अलिकति ओभानो खोज्दै ओत लागे। बचेखुचेको खुसी बटुल्दै हाँस्ने चेष्टा गरे।

यस्ता घटनाहरूले हामीलाई हामीतिर फर्काउँछ। प्रकृतितिर लैजान्छ। प्राकृतिक प्रकोपको जोखिममा हाम्रो जीवन कति कमजोर छ भन्ने कुराको सम्झना गराउँछ। यी घटनाहरूले जीवनमा प्राकृतिक प्रकोपको जोखिमलाई सामना गर्न हाम्रो तयारी र हाम्रो प्रतिक्रियालाई सुधार गर्न आवश्यकता देखाउँछन्।

सरकारले बाढी, पहिरो र अन्य प्राकृतिक प्रकोपको जोखिमबाट बच्नका लागि आवश्यक पूर्वाधार र योजनाहरू बनाउनुपर्छ। यस्ता घटनाहरूबाट हामीले पनि पाठ सिक्नु आवश्यक छ। प्राकृतिक प्रकोपको जोखिममा हाम्रो जीवनलाई सुरक्षित राख्नका लागि मिलेर काम गर्नुपर्छ।

प्रकृतिको सुन्दर र भयावह दुवै पक्षको अगाडि हाम्रो जीवन सधैँ जोखिममा रहन्छ। तर पनि, हामीले कहिल्यै हार मान्नु हुँदैन। हामीले एकसाथ काम गर्नुपर्छ, एकअर्कालाई समर्थन गर्नुपर्छ र प्रकृतिको सौन्दर्यबाट प्रेरणा लिन सक्नुपर्छ।

प्रकृतिको क्रोधबाट आफूलाई र अरूलाई बचाउने प्रयास गर्नुपर्छ। यसैले, हामी सबैलाई थाहा छ कि जोखिममा जिन्दगी जिउनु एउटा जबरजस्ती हो। तर, हामीले यसलाई साहस र दृढताका साथ सामना गर्नुपर्छ। किनकि जिन्दगीको यात्रा जति नै खतरनाक भए पनि, हामीले हार मान्नु हुँदैन।

जोखिममा जिउनुपर्ने यो जबरजस्ती होइन, यो त जीवनले देखेको र लेखेको अद्भुत निबन्ध हो। त्यसमा जीवन बनेको छ क्यानभास, रङ बनेका छन् आँसु र साहस तूलिका।

यसै पृष्ठभूमिमा सिर्जनाको अविरल धारा बगेको छ। त्यस बगाइमा जीवनको लय यसरी घोलिएको हुन्छ कि त्यसले घाउचोटलाई पनि सौन्दर्यको भाषामा रूपान्तरण गरिदिन्छ। यसपछि रङ-लेपनको प्रक्षपण अत्यन्त कलात्मक किसिमले अभिव्यक्त गर्छ। फलतः यसले ‘जोखिममा जिन्दगी जिउनुपर्ने जबरजस्ती’ को सारलाई समेट्छ।

 

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.