जुम्ला र रुकुम पश्चिमका १९ जना कैदीबन्दी अझै फरार

डिसी नेपाल
२५ असोज २०८२ १०:४८

सुर्खेत । गत भदौ २४ गते जेनजी आन्दोलनका क्रममा जिल्ला कारागार जुम्ला र रुकुमपश्चिमका २९ जना कैदी बन्दी अझै फरार रहेका छन्। फरार कैदी बन्दी मध्ये १९ जना रुकुम पश्चिम र १० जना जुम्ला कारागारबाट भागेका हुन्।

जेनजी आन्दोलनका क्रममा जुम्लाबाट ४१ र रुकुम पश्चिमबाट ८८ जना केदी बन्दी कारागारबाट भागेका थिए। ती मध्ये जुम्लाबाट ३१ जना र रुकुमपश्चिमबाट ६९ जना केदीबन्दी प्रहरीले पक्राउ गरेको जनाएको छ।

कारागारबाट भागेका कैदीबन्दीलाई प्रहरीको पटक–पटक सम्पर्कमा आउन अनुरोध गरेपनि सम्पर्कमा आएका छैनन्। फरार कैदीबन्दीको खोजीका लागि जिल्लाभर सशस्त्र प्रहरी र नेपाल प्रहरीले संयुक्त रूपमा निगरानी बढाएको जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रमुख रबिन बाबु रेग्मीले बताए।

‘कारागारबाट फरार भएका कैदीबन्दीलाई आत्मसमर्पण गर्न पटक पटक आग्रह गरे पनि उनीहरुले अटेर गरेका छन्’ उनले भने, ‘फरार कैदीबन्दीको खोजी कार्य जारी रहेको छ।’ फरार रहेका कैदीबन्दीमा अधिकांश विभिन्न आपराधिक मुद्दामा जेल सजाय काटिरहेका थिए।

जिल्ला प्रहरी कार्यालय रुकुमपश्चिमका सूचना अधिकारी प्रहरी निरीक्षक हरिप्रसाद पुनका अनुसार अझैसम्म १९ जना कैदीबन्दी फरार छन्। जिल्ला प्रशासन कार्यालयले सूचना जारी गर्दै असोज २० गतेसम्म फरार कैदीबन्दीहरुलाई आफैँ कारागारमा आउन समय दिएको थियो। पछिल्लो पटक सम्पर्कमा आउनको लागि दिइएको समयमा पाँच जना मात्र कैदीबन्दी आफैँ सम्पर्कमा आएका हुन्।

प्रशासनले सम्पर्कमा आउन दिएको असोज १२ गतेदेखि २० गतेसम्मको समयमा पाँच जना मात्र कैदीबन्दी आफैँ सम्पर्कमा आएको प्रहरी निरीक्षक पुनले जानकारी दिए। अझैसम्म १९ जना कैदीबन्दीहरु बाहिर नै रहेको र खोजी कार्य तिब्र नै पारिएको उनले बताए। जिल्ला कारागारमा कर्तव्य ज्यान, जबरजस्ती करणी, लागु औषध, ज्यान मार्ने उद्योग र हातहतियार सम्बन्धि कसुरमा कैद भुक्तान गरिरहेका ८८ जना कैदीबन्दीरु जेन–जी आन्दोलनको फाइदा उठाउँदै भागेका थिए।

जिल्ला प्रशासन र प्रहरीले पटक पटक सूचनामार्फत सम्पर्कमा आउन र सम्पर्कमा आए थप कारबाही नहुने भन्दै अपिल गरेका थिए। तोकिएको समयमा नआए कारागार ऐन, २०७९ र अन्य प्रचलित कानुन बमोजिम कारबाही हुने प्रशासनले जनाएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.