भारतमा हत्या आरोपमा ४ जना नेपाली पक्राउ

डिसी नेपाल
२५ भदौ २०७६ १०:४७

काठमाडौं। भारतको हिमांचल प्रदेशमा हत्या आरोपमा ४ जना नेपाली पक्राउ परेका छन् । पक्राउ परेका कूल ९ जनामध्ये ४ जना नेपाली र ५ जना भारतीय नागरिक रहेको भारतीय मिडिया अमर उजालाको समाचारमा उल्लेख छ । हिमांचल प्रदेशको किन्नौर जिल्लाको पुहमा उनीहरुले एक ट्रक चालकको हत्या गरेर सतलज नदीमा बगाइदिएको आरोप छ ।

घटना शनिबार राती १० बजेको भएको समाचारमा उल्लेख छ । मृतक ट्रक चालकको शव भेटिएको छैन । पुलिसले घटनास्थलमा रगतका धब्बा र मृतक ट्रक चालकका जुत्ता बरामद गरेको छ । त्यहीँको खाब भन्ने ठाउँमा बस्ने प्रकाश चन्द्र नेगीले पुलिलाई दिएको उजुरीमा बताएअनुसार उनका छोरा २८ वर्षका सोनम नेगी बालुवा निकाल्न मजदूरसँग गएका थिए । त्यही बेला बालुवा निकाल्नकै लागि आएका अर्का ट्रक चालक अनुप रामसँग एकै ठाउँबाट बालुवा निकाल्ने विषयमा सोनमको विवाद भयो । विवाद भएपछि अनुप रामका मजदूरहरुसमेत गरी कूल ९ जनाले उनका छोराको हत्या गरेर शव सतलज नदीमा बगाइदिए ।

सूचनापछि पुगेको पुलिले मृतकको शव भेटेको छैन । मंगलबार नमज्ञा पंचायत खाबका स्थानीय र मृतक सोनमका परिवारले प्रदेश सरकार, जिल्ला र पुलिस प्रशासनविरुद्ध सडकमा उत्रेर विरोध प्रदर्शन गरेका थिए । मृतकका परिवारको उजुरीको आधारमा पुलिसले नौ जनाविरुद्ध मुद्दा दर्ता गरेको छ । पुलिले सबै ९ जनालाई नै पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा पुहका स्थानीय ४९ वर्षका संडुप नेगी, ४० वर्षका शशिभूषण नेगी, ३८ वर्षका लक्ष्मण सिंह, निरमंग निवासी ४३ वर्षका दिलाराम र ४२ वर्षका अनुपराम छन् । यस्तै पक्राउ परेका ४ जना नेपालीहरुमा २८ वर्षका दिलिप, २७ वर्षका गोरख, ४२ वर्षका शंकर र ३२ वर्षका दिपक छन् । नेपालीहरुको पूरा नाम र नेपालको ठेगाना खुलाइएको छैन ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *