८१ वर्षे वृद्धको भेषमा अमेरिका उड्न लागेका ३२ वर्षे भारतीय युवक पक्राउ

डिसी नेपाल
२६ भदौ २०७६ ७:३१

बीबीसी। भेष बदलेर ८१ वर्षे वृद्ध बनेका एकजना भारतीय युवालाई अमेरिकी सहर न्यूयोर्कका लागि विमान चढ्न लागेका बेला नक्कली राहदानीका साथ पक्राउ गरिएको अधिकारीहरूले बताएका छन्।

३२ वर्षे जएस पटेललाई भारतको राजधानी नयाँ दिल्लीस्थित इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलबाट आइतवार पक्राउ गरिएको हो।

फुलेको दाह्री र मोटो चस्माका साथ पटेलले प्रारम्भिक सुरक्षा जाँच र अध्यागमन विह्वल चेयरमा बसेर पार गरेको स्थानीय सञ्चारमाध्यमले जनाएका छन्। तर उनले सबै अधिकारीहरूलाई झुक्याउन भने सकेनन्।

“उनी पक्कै पनि ८० वर्षका थिएनन्। उनको छाला युवाहरूको जस्तो थियो,” सेन्ट्रल इन्डस्ट्रियल सेक्युरिटी फोर्सका प्रवक्ताले सीएनएनलाई बताए।

दोस्रो सुरक्षा जाँचका बेला उमेरका कारण आफू उभिन नसक्ने बताएपछि उनीमाथि शङ्का बढेको थियो। अधिकारीहरूले राहदानी मागेपछि उनले अम्रिक सिङ नाम रहेको कागजात दिएका थिए।

राहदानीमा उनको जन्ममिति फेब्रुअरी १, १९३८ उल्लेख थियो। उनको जन्म दिल्लीमा भएको थियो। “यात्रुको हुलिया र छाला हेर्दा राहदानीमा उल्लेख गरिएको उमे सँग मेल खाएजस्तो देखिएन,” सेन्ट्रल इन्डस्ट्रियल सेक्युरिटी फोर्सका प्रवक्ताले भने।

सोधपुछका क्रममा पटेलले आफूले वृद्धका रूपमा हुलिया बदलेको र उक्त राहदानी गैरकानुनी रहेको स्वीकार गरेका थिए। लगत्तै उनलाई पक्राउ गरेर अध्यागमनका अधिकारीहरूलाई जिम्मा लगाइएको थियो। उनीमाथि छानबिन जारी छ।

भारतका प्रहरी अधिकारीहरूले एनडीटिभीलाई बताए अनुसार गुजरात राज्यका पटेललाई एकजना दलालले राहदानी र अमेरिकी भिसा उपलब्ध गराउने वाचा गरेका थिए। एनडीटिभीको रिपोर्ट अनुसार ती दलालले पटेलको हुलिया बदल्ने तारतम्मे मिलाएका थिए।

“रोजगारीका लागि उनी अमेरिका जाने तयारीमा थिए। तर उनको प्रोफाइलका कारण सहजै भिसा प्राप्त गर्न सक्ने अवस्था थिएन,” प्रहरी अधिकारी सञ्जय भाटियाले भने।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *