चिन्न नसकिने अनुहार, बुझ्न नसकिने व्यवहार
चिन्न नसकिने अनुहार र बुझ्न नसकिने व्यवहारबाट प्रायः मानिस परिचित हुन्छन्। जीवनको रङ्मञ्चमा हामीले धेरै अनुहारहरू देख्छौँ। कसैको हाँसोभित्र लुकेको उदासी। कसैको आँसुभित्र दबिएर बसेको पीडा। कसैको मृदु मुस्कानमा पोखिएको खुसी।
कसैको मौनताभित्र लुकेको चिच्याहट। कसैको नजरभित्र फैलिएको न्यानोपनको आत्मियता। अनि कसैको बोलाइभित्र कुँडिएको स्वार्थ प्रस्टै झल्किन्छ। यी हरेक शब्दको पछाडि एउटा निश्चित उद्देश्य लुकेको हुन्छ। केही न केही अर्थ र आशय त्यसमा पोतिएको हुन्छ।
सबै एकै प्रवृत्तिका मान्छेहरू हुँदैनन्। तिनका व्यवहारहरू एकै रङका हुँदैनन्। फरक-फरक अनुहार भए जस्तै तिनका बोली र व्यवहार पनि नितान्त फरक हुँदोरहेछ। लामो समयसँगै संगत गरेर पनि चिन्न र बुझ्न नसकिने। सधैँ रहस्यमय र चित्त बुझाउँनै मुस्किल हुने।
कोही यस्ता हुन्छन्- मुखले यति मिठो बोल्छन् कि त्यसमा घोलिएको चिनी पनि फिक्का लाग्ने गर्छ। तर त्यही बोलाइको भित्री तहमा लुकेको हुन्छ- एक प्रकारको औपचारिकता, उपयोगिता र स्वार्थको मोहडा ! बुझ्न सकिँदैन, जाँच्न मिल्दैन, परीक्षा लिनु भएन। हेरेर मात्रै मान्छे चिनिन सकिँदैन रहेछ। बेग्लै मान्छेको बेग्लाबेग्लै आनीबानी हुँदोरहेछ। एउटै मान्छेको स्वभावलाई पनि बुझेर बुझिनसक्नु हुने रहेछ।
कुनै सुन्दर फूललाई टिपेर जसरी हामी त्यसको उपयोग गछौँ। त्यसबाट लिनुपर्ने फाइदा लिईपछि त्यो फूललाई त्यत्तिकै फाल्छौँ। त्यो फूलको गुन बिर्सिन्छौँ, कुनै वास्तै गर्दैनौँ। ‘खोला तर्याे, लौरो बिस्र्यो’ नेपाली उखान पनि यससँगै जोडिन आउँछ।
कहिलेकाहीँ उनीहरूको वास्तविक स्वभाव, भित्री मनसाय र प्राथमिकताहरू बुझ्न वर्षौँ लाग्न सक्छ, या कहिल्यै नसकिने पनि हुन सक्छ। यो मानिसको स्वभावको जटिलता नै हो, जसले सम्बन्धहरूलाई रहस्यमय बनाउँछ।
एउटा अलौकिक आकर्षण उनीहरूका शब्दहरूमा हुन्छ, जसले जो कोहीलाई मोहित पार्छ। उनीहरूको बोलीमा शिष्टता, नम्रता र आत्मीयताको लेप हुन्छ। उनीहरूको मिठास कुनै निःस्वार्थ भावनाबाट प्रेरित हुँदैन। बरु त्यो एउटा सावधानीपूर्वक बुनिएको जालजस्तो हुन्छ। त्यहाँ हरेक शब्दको आफ्नै मोलतोल हुन्छ।
हुन त जीवनको यो रङ्गमञ्चमा यस्ता पात्रहरूको उपस्थिति सामान्य भइसकेको छ। हामीले बुझ्नुपर्छ कि हरेक चम्किलो कुरा सुन हुँदैन। हरेक मिठो बोलीमा प्रेम लुकेको हुँदैन। हरेक रिसमा आक्रोस मात्र हुँदैन, माया पनि हुन्छ। वास्तवमा हरेक मान्छेको वास्तविक परिचय उसको स्वार्थरहित व्यवहार, निःस्वार्थ प्रेम र संकटमा दिने साथले मात्र निर्धारण गर्छ। त्यसैले, अनुहार र बोलीको पछाडिको सत्यलाई चिन्न सक्नु नै जीवनको ‘सिकाइ’ पनि हो।
अपितु, कोही मान्छेसँग केही काम परेपछि मात्र बोलिन्छ। केही चाहिएपछि मात्र सम्पर्क गरिन्छ। अनि जब चाहिएको कुरा प्राप्त हुन्छ, उनीहरूका शब्दहरू सुक्खा बालुवाजस्तै हावासँग उडेर हराउँछन्। उनीहरूको बोलीको मिठास एकाएक वाष्पीकरण हुन्छ। उनीहरू अपरिचित जस्तै बिरानो बनेर कतै मान्छेको भीडमा हराउँछन्।
मानिसका यस्ता शब्दहरू काम परेपछि मात्र मुखरित हुन्छन्। सम्बन्धलाई उनीहरूले एउटा माध्यमको रूपमा प्रयोग गर्छन्। त्यहाँ आफ्नो आवश्यकता पूर्तिको मात्र ध्येय हुन्छ। तर, जब चाहिएको कुरा प्राप्त हुन्छ, उनीहरूका बोली, व्यवहार सबै बद्लिन्छन्।
अन्ततः उनीहरूको अस्तित्व त्यतिबेला मात्र महसुस हुन्छ, जब उनीहरूलाई फेरि केही आवश्यकता पर्छ। बोल्नुपर्ने बाध्यता र नजिकिनुपर्ने आवश्यकता सबै समाप्त हुन्छ। त्यसपछि निकट भइरहेका तीज मानिस अपरिचित जस्तै बिरानो बनेर कतै मान्छेको भीडमा त्यत्तिकै बिलाउँछन्।
त्यही समय, कोही अरू छन्- जो केही बोल्दैनन्, नजिकिँदैनन्, हाँस्दैनन् पनि। तर एउटा मायालु नजर, एकपटकको पुलुक्क हेर्ने दृष्टिले हृदयमा अमिट छाप छाड्छन्। उनीहरू मौन भएर पनि अनुभूत हुन्छन्, टाढा भएर पनि सधैँ नजिकै लाग्छन्। जीवनको दौडमा यस्ता केही मान्छेहरू ‘नभेटिएर पनि भेटिने’ मनका प्रिय पात्र बन्छन्।
तर यही समाजमा कर्के आँखाले एक नजर पनि नहेर्नेहरू, गफ गरेर वर्तमानभन्दा पनि भूत र भविष्यसम्म थकाउनेहरू, अनि बोल्नुपर्छ भन्दा एक शब्द बोल्न नचाहनेहरू पनि भेटिन्छन्। के सबैजना बुझिनै सकिन्छ र ?
म स्वयं कतिपटक झसङ्ग छु- कोसँग बोल्दा बेफाइदा हुन्छ, कोसँग बोल्न पाउँदा ? गजबको अनुभव सँगाल्न पाइन्छ। को बोल्दा रमाइलो लाग्छ ? कोसँग बोल्दा अलि सतर्क हुनुपर्छ ? को-कोसँग बोल्नुअघि मनमा द्विविधा आउँछ ?
कति टाढा भएर पनि नजिक लाग्ने, कति नजिक भएर पनि अपरिचितजस्तो लाग्ने ! मान्छेको दूरीले होइन, भावनाले सम्बन्धको दूरी तय हुने रहेछ। अनि, यही दूरी कहिलेकाहीँ अनुमान गर्न गाह्रो हुन्छ।
किनभने मान्छे प्रायः आफ्ना अनुहार धेरै पटक बदल्छन्। उनीहरूको अनुहारमा कहिलेकाहीँ मुखुण्डो हुन्छ, कहिलेकाहीँ गहिरो मौनता। यसरी बद्लिरहने अनुहार र त्यससँगै बद्लिने स्वभावलाई बुझ्न साह्रै गाह्रो हुन्छ।
कसैले काम पर्दा मात्रै हाँसेर बोल्छन्- त्यो हाँसो पनि साजसिंगारसहितको अभिनयजस्तो लाग्छ। काम सकिएपछि उनीहरू आफैँ हराउँछन्– जसरी बादलले छोपेको जून पछि एकाएक आकासै भुल्छ।
के यिनीहरूलाई निष्ठुरी भनूँ ? कि केवल समय अनुकूल परिवर्तनशील मनहरूको उपस्थिति ? बोल्नुको औचित्य र आवश्यकता नै नहुँदोरहेछ। भेट्नुको अभिप्राय र अर्थ नै व्यर्थको बनिदिँदोरहेछ। मान्छेको मनभित्र पसेर कसले उसको आनीबानी खोतलेर हेर्न सक्छ र ? आफूले आफैँलाई त सकिँदैन भने …!
मान्छेहरू टाढिनलाई अर्को ‘आइतबार’ कुर्नुपर्दैन- एउटै साँझमा टाढा भइसकेका हुन्छन्। भोलिलाई साँचेको कामजस्तो भोलिलाई पर्खिरहनु पर्दैन। त्यस्तै, नजिकिनलाई पनि ‘शनिबार’ पर्खिनु पर्दैन। एक असल संवाद, एक नजरको इमानदारीले नै सम्बन्धको रेखा कोरिसकिएको हुन्छ।
तथापि सबै त दोष दिन मिल्दैन। कहिले आफैँले त्यस्तो परिस्थितिले पनि यस्तै बनाउँछ– जहाँ बोल्न मन लाग्दालाग्दै पनि मान्छे मौन हुन्छ। जहाँ हेर्न मन लाग्दालाग्दै पनि आँखा झुकाइन्छ। किनभने संसार यति संवेदनशील हुँदै गइरहेको छ कि सानो कुरामा पनि ठूलो गलतफहमी हुन्छ।
म आफैँलाई हेर्छु-कहिलेकाहीँ बोल्न मन लाग्छ, बोल्छु पनि। तर कहिलेकाहीँ शब्दहरूसँग लड्दै मौन बस्नुपर्छ। कसैले मलाई बुझ्ला भनेर बोलेको कुरा उल्टै तर्साउने बनिदिन्छ। कोही म जस्तो होला भनेर नजिकिँदा म नै अपरिचित ठहरिन्छु। यही दोधार, यही दोबाटोमा अल्झिरहेको छु- न मैले आफैँलाई चिन्न सकिरहेको छु, न अरूलाई चिन्ने अवसर पाएको छु।
मैले यति मात्रै बुझ्न सकेको छु- एउटा मान्छेले अर्को मान्छेलाई बुझ्ने प्रयास कहिल्यै पूरा हुँदैन। उनीहरूलाई प्रेमले हेर्नुपर्छ, विवेकले तौलिनुपर्छ र मनले महसुस गर्नुपर्छ।
अनि जुन अनुहार अझै टड्कारो लाग्छ, जुन हाँसो साँचो लाग्छ, जुन मौनता भावनाले भरिएको जस्तो लाग्छ- त्यो नै साँचो सम्बन्ध हो। बाँकी त केवल आवरण, केवल सन्दर्भ र केवल परिस्थिति मात्र हुन्।
















Facebook Comment