निर्माणाधीन ल्याण्डफिल साइटबारे संसदीय समितिको चासो, सरोकारवालासँग छलफल गर्ने

डिसी नेपाल
२६ भदौ २०७६ १४:५४

काठमाडौं। संघीय संसद प्रतिनिधिसभा अन्तर्गतको विकास तथा प्रविधि समितिले नुवाकोटको बञ्चरेडाँडामा निर्माणाधीन ल्याण्डफिल साईटमा देखिएको समस्या बारे सम्बन्धीत मन्त्रालय र सरोकारवालसँग छलफल गर्ने भएको छ।

सिसडोलबासीले भदौ ३१ गते सम्म समस्या समाधान गर्न अल्टिमेटम दिएपछि समितिले त्यस क्षेत्रको समस्याबारे सम्बन्धित मन्त्रालय तथा सरोकारवाल निकायसंग परामर्श गर्न लागेको हो।

केही दिन अघि समितिको स्थलगत अनुगमनटोलीलाई स्थानीयले यसअघि भएको सम्झौता अनुसार पूर्वाधार निर्माण र क्षतिपूर्तिको व्यवस्था गरी भदौ ३१ गते सम्म समस्या समाधान गर्न अल्टिमेटम दिएका थिए।

समितिले सिसडोलबासी र बञ्चरेडाँडामा निर्माणधीन ल्याण्डफिल साइटको समस्या समाधानका लागि शहरी विकास मन्त्रालय, संघीय मामिला तथा स्थानीय विकास मन्त्रालय, अर्थ मन्त्रालय, लगानी बोर्ड, काठमाडौं महानगरपालिका सो क्षेत्रका संघीय तथा प्रदेशका सांसदहरु, स्थानीय तहका जनप्रतिनिधिलाई छलफलमा बोलाएको हो।

समितिको विहिबारको बैठकमा समिति सदस्यहरुले जीपछिरिङ लामा, गणेश कुमार पहाडी, बिना कुमारी श्रेष्ठ, सञ्जय कुमार गौतम र महेन्द्र राय यादवले फोहर व्यवस्थापनको विषयलाई राजनीतिकरण नगरी सहमति अनुसारको पूर्वाधार निर्माण र क्षतिपूर्ति दिलाउने विषयमा भइरहेको ढिलाइबारे सम्बन्धीत निकायसँग छलफल गरी सम्बन्धीत निकायलाई आवश्यक निर्देशन दिनुपर्ने बताएका थिए।

समितिले अगामी अशोज १ गते बल्खु–दक्षिणकाली सडकखण्डको स्थलगत अवलोकन गर्ने निर्णय पनि गरेको छ। खानेपानी मन्त्री अस्वस्थताका कारण समितिमा अनुपस्थित भएपछि बिहीबारका लागि पूर्वनिर्धारित खानेपानी तथा सरसफाई सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०७६ मथिको दफावार छलफल भने स्थगित भएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *