गुरु शिक्षा र गुरु दीक्षा

डा. चिन्तामणि नाथ योगी
१० मंसिर २०८२ ७:३६
48
Shares

‘अदत्तं न गुरोर्द्रव्यमुपभुञ्जीत कर्हिचित्।
दत्तं च रङ्कवद् ग्राह्यं प्राणोप्येतेन लभ्यते।।’

अर्थात्- जो द्रव्य गुरुदेवले दिनुभएको होइन त्यसको उपभोग कहिल्यै गर्नु हुँदैन। गुरुदेवले दिएको द्रव्य पनि गरिबले जस्तै ग्रहण गर्नुपर्दछ। जसबाट प्राण पनि प्राप्त हुन सक्छ।

हाम्रो पूर्वीय दर्शन, संस्कार, संस्कृतिमा गुरु शिक्षा र दीक्षाको अत्यन्तै महत्वपूर्ण स्थान छ। गुरुशिक्षा र दीक्षा बिना जीवन अधुरो मानिएको छ, ‘गुरुदेवो भव’, ‘आचार्यदेवो भव’। गुरु, आचार्य, देवता समान पूज्य हुनुहुन्छ। गुरु सृष्टिकर्ता ब्रम्हा, पालनकर्ता विष्णु र संहारकर्ता शिव समान हुनुहुन्छ।

“देवो भूत्वा देवं यजेत्” अर्थात् देवता समान बनेर देवताको पूजा गर्नुपर्दछ। हामीलाई देवता समान बनाउन सक्ने केवल गुरु हुनुहुन्छ। गुरुज्ञानबाट मात्रै सांसारिक र आध्यात्मिक जीवन सफल हुन्छ। गुरु गोरखनाथ भन्नुहुन्छ-

‘कथनी कथै सो सिष बोलिए, वेद पढौ सो नाती।
रहणी रहै सो गुरु हमारा, हम रहता का साथी।।’

अर्थात्- बताएको जति मात्रै बोल्ने र गर्ने व्यक्ति शिष्य समान हो। मात्र वेद पढ्ने तर तदनुसार व्यवहार नगर्ने नाति समान हो। तर वेदानुसार बाँच्ने वा ज्ञानमा रम्ने जो छ, उही सच्चा गुरु हो र उही सच्चा साथी हो।

कोही मानिस जति सिकायो त्यति मात्रै बोल्ने स्वभावका हुन्छन्, सिकाएको भन्दा बढी केही बोल्दैनन्। जस्तै सुगालाई जे सिकायो त्यही बोल्छ। हामीले जीवनमा सिकेको आधारभूत विषयलाई आधार मानेर अगाडिको यात्रा आफै तय गर्ने हो।

जस्तै हामीले आफ्ना सन्तानलाई दिएको संस्कारलाई आधार मानेर उनीहरू स्वयंले अगाडिको यात्रा तय गर्नुपर्छ। जति आमाबुवाले सिकायो त्यति मात्र गरेर बस्नु हुँदैन। जति सिकायो त्यतिमै मात्र शिष्यले बस्न हुँदैन। यसरी बसियो भने वेद पढेको के प्रयोजन? वेदको रसपान, मूलज्ञान हासिल गर्न सकेन भने के अर्थ?

धर्मशास्त्र बुझयो तर धर्म बुझेन भने के काम ? बोलेर, उच्चारण गरेर मात्रै हुँदैन; त्यसको रसपान लिन सक्नुपर्छ। जस्तै वेदमा राज्य सञ्चालनको विविध विधिको वर्णन छ। त्यसको मूललाई समात्न नसक्दा आज नेपाल जस्तो देवभूमि, ज्ञानभूमि, ध्यानभूमि, वेदभूमिको अवस्था संकटमा छ।

वेदले बताए अनुसार हामीले राष्ट्रभाव बुझन नसक्दा आज देशमा संकट उत्पन्न भएको हो। हामीले जान्नुपर्ने मुख्य विषय, हामीले कस्तो गुरु खोज्ने र कस्तो बन्ने? भन्दा पनि वर्तमानमा रहन सक्ने, बाँच्न सक्ने, शिक्षित, प्रशिक्षित र दीक्षित गर्न सक्ने गुरुको आवश्यकता हो। जो अस्तित्वमा रहन्छ, अस्तित्वबोधसहित बाँच्छ, जो शास्त्रमय भएर बाँच्छ। ऊ नै सच्चा गुरु हो।

हिजो र भोलिको चिन्ता नगरिकन वर्तमानमा प्रेम, सत्य, धैर्य, संयम र निष्ठाको साथमा रहने सद्गुरुका शरणमा शिक्षा र दीक्षा लिनुपर्छ। हिजो, आज र भोलि हुने र घट्ने घटनाबाट जो विचलित हुँदैन, त्यस्तो गुरु आवश्यक छ। भोलिलाई केही नसोची अहिलेको अवस्थालाई, समयलाई अन्तिम क्षण सम्झेर जसले आनन्द लिन्छ र कर्म गर्छ ऊ सच्चा गुरु हो।

हाम्रो सबै शास्त्रको सार, महापुरुषको जीवनको सार जीवन योगमय बनाउनु हो। सद्गुरुको माध्यमबाट जीवन, जगत् बुझ्ने र त्यही अनुसार चल्ने र कर्म गर्ने हो। जीवनको अन्त कति बेला हुन्छ भन्ने थाहा छैन। त्यसैले आजको समय जे छ त्यसमा रमाएर निरन्तर निर्मल भावना लिएर कर्म गर्नुपर्छ। हाम्रा हरेक क्रियाकलाप नीतिपरक र धर्मसङ्गत होस्। गुरुले मार्गदशन गरे अनुसार होस्।

अहिले वास्तवमा के देखिएको छ भने पढ्ने, पढाउनेहरूको, शास्त्र सिक्ने र सिकाउनेहरूको वा वेदको व्याख्यान गर्ने र गराउनेहरूको सङ्ख्या बढे पनि वेदमय जीवनयापन गर्नेहरूको सङ्ख्या भने दिनानुदिन घट्दो छ। वेद भनेको ज्ञान हो तर आज शिक्षाको वा अपरा विद्याको प्रभाव त बढ्दै गयो तर परा विद्याको वा परम विद्याको प्रकाश भने घट्दै गयो।

वेदादि जस्ता परम पवित्र शास्त्र पनि शिक्षण, प्रशिक्षण र प्रवद्र्धनका विषय बन्न पुगे तर ज्ञानका, चेतनाका आमूल परिवर्तनका आधार बन्न सकेनन्। “नान्यः पन्था विद्यतेक्यनाय” अर्थात् ज्ञान बाहेक अर्को बाटो छैन मुक्तिको लागि भनियो तर कतिले ज्ञान एवं मुक्ति पाए त ? “वेदोऽखिलो धर्ममूलम्” अर्थात् वेद नै सबै धर्मको मूल हो भनी व्याख्या गरियो तर कतिको जीवन धर्ममय भयो त?

यान्त्रिक जीवनको प्रभावले, भौतिकवादी लालसाले, विश्व बजारको दबावले, अमर्यादित जीवनशैलीले र अस्वस्थ भोजन आदिले गर्दा आजभोलि मानिस अस्तव्यस्त भएको छ- “हम रहता” को दर्शन र भावबाट झन्झन् टाढिंदै गएको छ।

मञ्जिलको नजिक पुगेर पनि झन् टाढिएको जस्तो, सुख-सुविधा पाएर पनि झन् दुःख-दुविधामा फसेको जस्तो, विद्वत्ता कमाएर पनि झन् अन्धकारमा भासिएको जस्तो अन्योलको परिस्थितिमा जेलिएको छ वर्तमान मानव समाज/महर्षि पतंजलिले सुखको इच्छा नै राग हो (सुखानुशयी रागः।

साधनपाद-७) भने झैं विभिन्न राग र रोगमा फस्दै छ मानव समाज। गुरु गोरखनाथको “हम रहताका साथी” भन्ने संदेश अनुसार वर्तमानमा बाँच्न, जे छ त्यसलाई स्वीकार गर्न एवं अतीत र अनागतको चिन्ताबाट मुक्त हुन सिक्नुपर्छ र सक्नुपर्छ। यसको अर्को विकल्प नै छैन।

हार्दिकता र आध्यात्मिकताको उच्चतम पवित्रतम अवस्थामा नपुग्ने हो भने त शास्त्र पनि एक जञ्जाल हो। अस्तित्वबोध नहुने हो, हम रहता अर्थात् वर्तमानको आनन्द नहुने हो भने त प्रशिक्षण, प्रवद्र्धन पनि पर- वचन मात्रै भयो नि। स्व- वचन खै त? स्व- बोध खै त? स्व- आनन्द खै त? स्व- भावमा बाँच्ने र रम्ने जोगीहरूलाई नै अवधूत भनी विशिष्ट सम्मान गरिएको छ नाथ परम्परामा। त्यसैले “सिद्धसिद्धान्तपद्धति” मा भनिएको छ-

‘निजस्मरविभूतिर्यो योगी स्वांगे विभूषितः।
आधारो यस्य वारुढिः सोक्वधूतोक्भिधीयते।।’


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *