कविता : हिमाल हाँसिरहेछ

शंकरप्रसाद रिजाल
१३ मंसिर २०८२ ७:०७
240
Shares

हिमाल हाँसिरहेछन् बरफको मुस्कान लिएर
निलो आकासलाई गिज्याई रहेर
हिमालको सौन्दर्य हिमालको गरिमा
बिहानीपखको सूर्योदयको लालिमा
यहि हो हाम्रो प्रकृतिको अनुपम उपहार
यही हो हाम्रो नेपालको गौरबको दरबार
हिमाल हाँसिरहेछन् बरफको मुस्कान लिएर
उनको हाँसोले संसार बन्छ उज्यालो भएर
उनको उज्यालोले सबै हास्छन् मन्त्र मुक्त भएर
हाँसेका छन् गुराँसका फूल हिमाल तल्लो गरा
हाँसी रहेछिन् प्रकृतिकी छोरी फाँटमा हराभरा
छोरी प्रकृतिकी मेरी नाच्दै हिँड्छिन मैदानमा
कसले सुन्दरता दियो त्यो कलिलो अनुहारमा
हिमालको महिमा हिमालको शक्ति यो देशको गौरब
सेता बादलले चुमेका छन् त्यो आकासको सौरभ
हिमालको हिमको पात हिमालको सौन्दर्य
हाम्रो देसको शोभा यसले बढाएको छ निरन्तर
हाम्रो देसको शोभा यसले बढाएको छ निरन्तर।

सम्बन्ध

सम्बन्ध एक आपसको बन्धन हो भने
एक अर्कासँग रहेको न्यानो मायापनि हो
सम्बन्ध पति पत्नीको आपसी प्रेम गाँठो
भने जन्मभरको मिलनको लगनगाँठो हो
सम्बन्ध साथीभाइसँगको मिलेको मित्रता हो
भने गुरु र शिष्यसँगको पबित्र सम्बन्ध हो
सम्बन्ध छोरा छोरी र मातापिताको सम्बन्ध
हो भने दिदी,भाइ दाजु र बहिनीको नातापनि हो
सम्बन्ध एक प्रेम र प्रेमिकाको सम्बन्ध हो भने
एक आपसको अविरल, अविनाशी सम्बन्धपनि हो
सम्बन्ध एक परिवार र अर्को परिवारको सम्बन्ध
हो भने भिन्न समाजको मिलनको बिन्दुपनि हो।

अश्रु धारा

आँखाबाट बगेका छन् आँसुका अश्रु धारा
असहाय मानिसको जीवनमा को छ सहारा
नयन भिजेको छ आँखामा सागर सरी बग्दछ
ठूला ठूला सागरपनि सानोमा सानो बन्दछ
को छ सुखी यो संसारमा आँसु किन खस्तछ
भित्रको अनमोल आँसु माटोमा गई मिल्दछ
मनुष्यको चोलामा आँसुनै किन खस्तछ
बर्षातको झरीमा झैं अविरल अश्रु झर्दछ
खुसीको आँसु गुलियो हुन्छ दुःखको छ तीतो
प्रेमले दुवै पिउँदा हुन्छ तो अझ झन मिठो
आँसुको मोल नबुझ्नेले देख्छ संसार झिलिमिली
जसले मोल त्यो बुझ्छ लाग्छ संसार झुठो सरी
आँखामा आँसुका धारा हृदय दर्दको भाषा
दुखै दुःखको भाखाले सम्झी आउँछ त्यो कथा
“कसैकोपनि देखिन्न एकैनाश समुन्नती
अरुको के कुरा हेर सन्ध्यामा सूर्यको गति’’।

देवकोटाको चम्पा उपन्यास बारे

चम्पा, चम्पाको फूल सुगन्धित र सौन्दर्य
देवकोटाको कल्पना नेपाली साहित्यको गौरब
उपन्यासको पृष्ठमा जीवनको सजीव चित्रण
चम्पाको कथा प्रेम र संघर्षको अविरल गाथा
चम्पा, एक नारीको नाम शक्ति र सौन्दर्यको
प्रतिक, उपन्यासको नायिका, जीवनको बास्तबिकता
देवकोटाजीको लेखनी वाह! कविताको सौन्दर्य
चम्पा हेरीरहुँ जस्ती, पढीरहुँ जस्तो अविरल सौन्दर्यको
धारा बगेजस्तो “छुक छुक छैया छुक छुक छैया’’
चम्पाको सम्झना गर्दा लुसीको याद आउँछ
वोर्डसवोर्थको लुसी पढ्दा देवकोटाको चम्पा आउँछ
लुसी आफैंमा सौन्दर्य हो चम्पापनि त्यसैगरी
लेख्नेले के के लेखे कुन्नि सधैं सम्झना दिलाउने गरी
हा! लुसी हा! चम्पा एकैचोटी भनु कि त,
हा! कबि वोड्र्सवोर्थ, देबकोटा एकै तहमा राखुँ कि त
एकै तहमा राखूँ कि त।

ऐनामा हेर्दा
ऐनामा हेर्दा म देख्छु मेरा सपना
देख्छु अनगिन्ति इच्छा र आशाहरु
ऐनामा हेर्दा म देख्छु मेरा भूलहरु
म देख्छु मेरा सफलताहरुपनि
ऐनामा हेर्दा म देख्छु मेरो आँसु
फेरि हेर्दा म देख्दछु हाँसो पनि
ऐनामा हेर्दा म देख्छु मेरो जीवन
देख्दछु फेरि मेरो गंतब्ब्य पनि
सपनापनि म ऐनामानै देख्दछु
भविष्य पनि म ऐनामानै देख्दछु
म मेरो प्रेम देख्छु ऐनामा नै
जीबनसाथी म देख्छु ऐनामा नै
अयिनामा हेर्दा म देख्छु मेरो परिवार
म देख्छु फेरि म भित्रका कुराहरु
म देख्छु मेरो लक्ष्य र सफलता
देख्छु म जीवनको अर्थ र अस्तित्व
देख्छु म जीवनको अर्थ र अश्तित्व।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *