महानन्द सापकोटा साहित्य साधक सम्मान कुमार नगरकोटीलाई प्रदान
काठमाडौं। यस वर्षका लागि महानन्द सापकोटा साहित्य साधक सम्मान यस वर्ष लेखक कुमार नगरकोटीलाई प्रदान गरिएको छ। अमेरिकाको टेक्सासस्थित डायलसमा स्थापित महानन्द पुरस्कार गुठीले बर्सेनि दिँदै आएको उक्त सम्मान नेपाली साहित्यमा गहन योगदान दिएवापत नगरकोटीलाई यस वर्ष प्रदान गरिएको हो।
काठमाडौँस्थित नेपाल फिल्म क्याम्पस, एक्टर्स स्टुडियोमा कवि विप्लव प्रतीकको हातबाट तामपत्र र नगद ५० हजारसहित उक्त सम्मान नगरकोटीलाई प्रदान गरिएको हो। महानन्द साधक सम्मान दिने महानन्द पुरस्कार गुठी सीता सापकोटाले स्थापना गरेकी छिन् ।
सम्मान प्राप्त गरेपछि लेखक नगरकोटीले यसअघि दिग्गज व्यक्तिहरूले पाएको सम्मान उनीहरूसँगै आफ्नो नाम जोडिन पाउँदा र दर्शन-विज्ञान तथा लेखनमा योगदान पुर्याएका महानन्द सापकोटाको नामबाट स्थापित सम्मान पाउँदा खुशी व्यक्त गरे।
नगरकोटीका मोक्षान्तः काठमाडौं फिभर र फोसिल कथा सङ्ग्रह, अक्षरगञ्ज र दोचा संस्मरण सङ्ग्रह, मिस्टिका, ज्ञ, कल्पग्रन्थ उपन्यास सङ्ग्रहलगायत पुस्तक प्रकाशित छन्।
महानन्द सापकोटा साहित्य गुठी अन्तर्गत सन् २०१२ मा यो पुरस्कार स्थापना भएको हो। यसअघि उक्त सम्मानद्वारा विप्लब प्रतीक, दुर्गालाल श्रेष्ठ, वसन्त थापा, गोविन्द वर्तमान (मरणोपरान्त), किशोर नेपाल, किरण खरेल, नेपाली शिक्षा परिषद्, डा.राजेन्द्र विमललगायतलाई प्रदान गरिसकिएको छ।
सापकोटालाई ‘नेपाली निर्वचनको रूपरेखा’ नामक ग्रन्थका लागि दर्शन-विज्ञान विधामा ‘मदन पुरस्कार २०२७’ बाट सम्मानित गरिएको थियो। उनका मनलहरी, आहुति, अपुंगो, विशाल नेपाल, अन्न, आशा, आँसु, हाम्रो नेपाल, चानचुन, नेपाली धातु परिचय, जनजिब्रो, खस र खस भाषा, सापकोटा निबन्धावली, नेपाली शब्द-परिचय लगायत दर्जन बढी पुस्तक प्रकाशित छन्।
No ads found for this position

डिसी नेपाल
Facebook Comment