कविता : फूलकुमारी

सरिता जोशी
१३ मंसिर २०८२ ७:०७
28
Shares

पल्लाघरे साहुको
क्रृणको पञ्जाबाट उम्किएर
नियतिको क्रुर समयसँग
लड्दै, उठ्दै, पसिना पुछ्दै
अचानक गाउँबाट हराएकी
फूलकुमारीले
प्यारको नसामै टेकेकी हो
काले दमाईको आगन
चुक घोप्ट्याएजस्तो
साउनको मध्यरातमा
आशा र भरोसाको
सिंगो आकाश बोकेर
मूर्तिवत् दैलामै उभिएको
काले दमाईलाई अगाँलो मार्दै
अध्यारो सन्नाटाबीच
बगाएकी हो
आँसुको महासागर ।

सुकिलाहरुको बस्तीभन्दा पर
जंगल किनारको टहरामा
सियो र धागोसँगै बुनेका थिएँ
आशाको रंगीन डोरी
बोकेका थिएँ विश्वासको
गह्रुँगो भारी टाउकोमा
देशको भुइँचालोले
मध्य हिउँदमा
काले र फूलकुमारीको
जिन्दगीको लय
भत्किएको हो
पलभरमै आँखै अगाडि
बर्षायामको पहिरोले
पहाड भत्किए जसरी ।।
सरकार पक्षका भुस्याहाहरुले
घिसार्दै क्रान्तिकारी भन्दै
खोला तारेका हुन्
बुट बजारेर मध्य रातमै
फुलकुमारीका लागि
एक जुग बनेको छ
बितेको दुई दशक
क्रान्तिकारीको
उपमा पाएका कालेको
न लाश पाइएको छ,
न सास अहिलेसम्म
सिन्दुर पोतेले रङ्गिने
हक गुमाएकी उसले
मृत्युदर्ताको फाइलमा
ल्याप्चे लगाउन
सकेकी छैन अझैपनि
काले फर्किने मिठो पर्खाइमा।
नेता र कार्यकर्ताको
घर घरमा, बस्ती बस्तीमा
सिंहदरवार आएपनि
विचल्ली परेको छ
वेपत्ता परिवारको बस्तीमा
वर्गीय र जातीय विभेद मुक्तिका
चर्का नारा लगाउँदै
सोझा जनताका पिठ्यु चढेर
सत्तामा पुगेका स्यालहरुका
पावरवाला चश्माले चिन्दैनन्
अचेल
फूलकुमारीजस्ता फूलहरुलाई।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *