लघुकथा- अव्यवहारिक प्रेमी
पहिले नै परदेशमा छु। त्यसमाथि पनि अझ पर-पर देशको समाचारले थप दुख्नु परेको छ। गाजामा फेरि बमको वर्षा भएको छ। बालबच्चा मारिएका छन्। मन उदास छ।
ह्वाट्सएपमा साम्तेनको भिडियो कल आयो। ऊ बडो उत्साहित हुँदै बोली-‘म कहाँ छु? लु ठाउँ चिन त’
मैले भिडियोमा उसको वरिपरि सर्सर्ती हेरेँ र तुरुन्तै चिनिहालेँ भक्तपुर दरबार स्क्वायर। मैले जवाफ दिनै लागेको के थिएँ अचानक उसको क्यामेरा मधुरो आयो । क्यामेरामा केही हलचल भयो । केहि सेकेन्डमै साम्तेन फेरि क्यामेरामा देखापर्दै बोली-
‘छ्या हौ! म त कस्तरी चिप्लेर लडेँ’
‘ए हो र? अनि तिमीलाई थाहा छ? गाजामा फेरि बम खस्न थालेको छ नि?’ मैले यति भनेको मात्रै के थिएँ ऊ तुरुन्तै अफलाइन भई । दिनभर उसको फोन स्विच अफ आयो। मैले बुझिहालेँ ऊ मसँग रिसाई। म दिनभर तनावग्रस्त रहेँ।
साँझ परेपछि बल्ल ह्वाट्सएपमा साम्तेनको रोषसहितको भ्वाइस सन्देश आयो-
‘तिमी कस्तो प्रेमी हौ हँ? म लडेको कुरा सुनाउँदैछु। तिम्लाई तिम्रो गाजाको परेको छ। म चिप्लेर लडेँ। मेरो कपडा मैलो भो। मानिसहरूले मलाई हाँस्दै टुलुटुलु हेरे। मलाई बेस्सरी दुख्यो। तिमीलाई केही वास्ता छैन हगि? आखिर तिमी कुन खालको ब्वाइफ्रेन्ड हौ हँ?’
मैले लगातार कल गरेँ। फेरि उसले मोबाइल स्विच अफ गरेर राखी।
राति बिछ्यौनामा पल्टिएर साम्तेनलाई फकाउन सकिने तरीकाहरू बारे विचार गरिरहेँ। अहँ पटक्कै एउटै पनि उपाय निस्किएन । मेरो छटपटी उस्तै रह्यो र मनमा कुराहरू खेलिरहे-
‘मै उल्लु हुँ। एक नम्बरको गधा हुँ। प्रेमिकाले लडेको कुरा सुनाउँदै गर्दा किन गाजाको युद्धको कुरा मिसाउनु? यो जिन्दगी चलाउनलाई प्रेमीका चिप्लेर लडेको कुरालाई पनि उतिकै महत्वका साथ ख्याल गर्दै गर्नु पर्नेछ। विश्वशान्ति र युद्धतिर पनि ध्यान दिँदै गर्नु पर्नेछ। धत्! म त कस्तो अव्यवहारिक प्रेमी पो भएँछु!’
No ads found for this position


Facebook Comment