नीलो आकाश, सेतो हिमाल
नीलो आकाश, सेतो हिमाल र स्पट देखिने पहाड-प्रकृति !
सामान्यतः झट्ट देख्दा यति नै हो खुलेको दिनको अर्थ। अर्थात् सफा मौसम हुनुको पल। जहाँ रातभरि झरीले प्रकृतिलाई निस्लोट भिजाओस् र हावाहुरीले धुलोमैलो सारा उडाओस्। अनि बाँकी रहोस् बचेको कञ्चन प्राकृतिक पाटो।
चिसो याममा दिन उघ्रिन गाह्रो हुन्छ। हुस्सुले छोपेर प्रकृतिलाई मस्त निद्रामै सुताइरहेको हुन्छ। हिमालतिर हिउँको प्रकोप। तराईतिर शीतलहरको पीडा। एकाबिहानै बाटोको किनारमा भक्का खानेहरूको लाइन लाग्छ। तर जब मौसमले साथ दिएर छ्याङ्ग भएर उघ्रिन्छ त्यसबेला घुर तापेर जाडो धपाउनेहरू पनि कामको मेलोमा फर्किन हतार गर्न थाल्छन्। हिउँ पन्छाउँदै बाटो खोल्न तम्सिन्छन्।
हिउँदे याममा मौसमको भर हुँदैन। जाडोले मन र मुटु कमाउँदै काम गर्ने जाँगर मरेर गइरहेको हुन्छ। यो मौसमी परिवर्तनलाई अस्वाभाविक मान्नु हुँदैन। यति नभए त पर्यावरण चक्र नै असन्तुलित भएर प्रकृतिले धरधरी आँसु झार्न थाल्छ।
यद्यपि सधैँ मैलोधैलो मात्रै रहिरहँदैन मौसम। जब खुलेर आफूलाई प्रकृतिले तुँवालो र धुलो, बादल र हुस्सु हटाउँछ, तब त्यहाँ प्राकृतिक सौन्दर्यको प्रारम्भ हुन्छ। यस्तोमा देखिने आकाशको सुन्दर लालित्य नीलिमा रङ हो।
नीलो रङमा परिभाषित शान्तिको रङ मात्रै प्रस्ट छैन। यसले गहिरो अर्थ–अभिप्रायको भाव सम्प्रेषण गर्छ। र, हिउँले भरिभराउ श्वेत, शुभ्र, स्निग्ध, कञ्चन काया रूपको हिमालय पर्वतमाला हेर्न पदयात्रीको ओइरो लाग्न थाल्छ।
आँखाकै डिलमा रङहरूको मन छुने मिलन-महोत्सवको भेला। आँखाकै आँगनमा सुन्दर रङहरूको बिस्कुन। रङहरूका दृश्यपानले मात लागेर पृथक उल्लासमा अलमस्त ज्यान-प्राण ! सुमधुर सम्झनाहरूमा मन चोबलिँदै उन्मादका अर्को पल खुसीले सारा तनाव बिर्सिदै यात्रामा अनवरत अगाडि बढ्छ।
हिउँदको यात्रा हिउँसँगको साक्षात्कार हो। हिउँदको यात्रा शीतलहरसँगको पौँठेजोरी हो। गर्मी हट्दा हिँडाइलाई गति दिन्छ। चिसोले पनि खासै सताउँदैन। घामले नपोलेपछि शीत्ल यात्रा आफैँमा आनन्दको हुन्छ।
आँखामा दृष्टिगोचर हुने दृ्श्य-विम्बको परिदृश्यमा अभिव्यक्त भावार्थ निकै अर्थपूर्ण हुन्छ। यिनमा जीवन र प्रकृतिको दर्शन सन्निहीत हुन्छ। हामीले खोजेको पृथक अनुभूतिको अपेक्षा यही हो।
आँखामा देख्नुको तृष्णा अनगन्ती हुनु यात्राको भोक हो। यसले नै मानिसलाई हिँडाउँछ। अनाम गन्तव्यतिर डो¥याउँदै मनमा अनुभूतिको खजाना बटुल्दै लैजान्छ। तिनै खजाना अनुभूति-अभिलेखनका बेजोड खान्की बन्छन्।
तिनकै आधारमा सुन्दर सिर्जनाका बीजारोपण हुन्छ। तिनैलाई शब्द, भाव, विचार, विवेक र जीवन-ज्ञानका मेहनत, मलबाट उत्पादन गर्न सकिन्छ अजर, अमर रचनाका बान्की। सौन्दर्यका नवीनतम् विम्बहरूको आकर्षणबाट परितृप्त भएर निस्किँदै।
जीवनघाममा उल्लासको मौसम भित्रियाउँदै। शब्दमा कोमल सौन्दर्य अभिव्यञ्जनाको उपस्थिति। भावमा माधुर्य मनोहर छटा-छविको लेपन। गहिरो र गम्भीर भाव-चेतनाको शब्द-प्रक्षेपण। जहाँ पीडालाई पनि नदुखाइ, घाउलाई समेत नकोट्याई बरु आरामदायी दृश्य-रमणको यात्रा तय होस्। हामीले चाहेको, हामीले खोजेको आनन्द सायद यही हो, यही हुनुपर्छ।
जहाँ विछट्टका रङहरूको सुन्दर संयोजन होस्। जहाँ शब्दाकृतिको शब्दावलीमा सिर्जनाको अर्को नयाँ सर्वोच्च उचाइ स्थापित होस्। त्यहाँ हिमाली सुगन्धले लिपपोत गरिएको नयाँ जीवन-संसारका सुरुआत भइदिओस्। त्यहाँ अनुभवी परिष्कृत र परिपक्व भावनाहरूले एकापसमा हाँसो र खुसी साटफेर गरून्। प्रेममय प्रकृतिमा मानव मन पनि प्रेममय बनेर सुललित साथसाथै एकाकार भइरहोस्।
कैयौँ दिनदेखि हिँडेर आएका प्रकृतिप्रेमी पाहुनाहरूलाई भनेजति सुन्दरताको स्वाद चखाउँदै। आउनुको उपलब्धि उच्च पारिदिँदै हिमाली स्वागत र सत्कारमा मन दिँदै। ओहो खुसी त दुःखपछि मात्रै भेटिन्छ। सन्तुष्टि त आफैँलाई सिनित्त पखालेपछि मात्रै मिल्छ।
हिउँदको पारिलो घाममा ढाड सेकाउँदै। जीवन्त अनुभूतिहरूका मिठा-मसिना कोसेलीपात सँगाल्दै ! सजाउँदै सुन्दरताका साक्षात रूपहरू। रमाउँदै मन-मन्दिरमा गहिरो भाव-सम्प्रेषणले ओेत्प्रोत अनेकौँ पहेलीहरू। दृ्श्यमय तलाउ-तरङ्गका मायालु रूपसी उर्वसीहरू। अनौठा आकर्षक रङ-सौजन्यका कालिगढी शिल्प-कौशलले सिर्जित शीतल, शान्त, सुन्दर कलाकृतिजस्तो।
हिमाली दृश्यका यस्तै निकट अपनत्वबाट प्रेम प्रकट हुन्छ। आफ्नोपन, प्रेम, मायाले नै हाम्रो जिन्दगीलाई दिव्य बनाइदिन्छ। प्रेमले नै जीवनमा अनन्तता प्राप्तिसँगै गहिरो ज्ञान–गंगामा पुर्याउँछ। सुखद अनुभूति र खुसियालीको प्राप्ति र आभास यहीँ मिल्छ।
अतः प्राकृतिक सुन्दरता हाम्रा लागि जीवन-दीपको एक अनिवार्य अंश हो। प्रेरणा र उत्साहको प्राप्ति स्थान, जहाँ आत्मीय अपनत्वका साथ पवित्र प्रेम जागृत हुन्छ। तर त्यहाँ नीलो आकाश देखिनुपर्छ। सेतो हिमाल टल्किनुपर्छ। सफा प्रकृतिले आँखालाई निम्त्याउँनुपर्छ।
















Facebook Comment