रामेछाप अस्पतालमा हाड–जोर्नीको उपचार, काठमाडौं धाउनु नपर्ने
रामेछाप। रामेछाप जिल्लाका हाड भाँचिएका बिरामीले अब उपचारको लागि जिल्ला बाहिर जानु नपर्ने भएको छ।
जिल्ला अस्पताल रामेछापमा नै हाड–जोर्नी भाँचिएका बिरामीको शल्यक्रिया हुने भएको छ। अस्पतालका अर्थोपेडिक सर्जन डा.सागर जर्घामगर मेडिकल सुपरिटेण्डेन्ट भएर आएपछि हाड भाँचिएको शल्यक्रिया सुरु गरिएको हो।
डा.मगरको नेतृत्वमा, अर्थोपेडिक सर्जन डा.नवीनकुमार यादव एनेस्थेसिया राजेश यादव, स्क्रब नर्स समीक्षा थापालगायतको टोलीले अस्पतालमा पहिलो सफल शल्यक्रिया गरेको हो।
पहिलो पटक एकै दिन दुईजना बिरामीको सफल शल्यक्रिया भएको मगरले जानकारी दिए। अस्पतालमा सो सेवा सुरु गरेपछि पाँचवटा केसको सफल शल्यक्रिया सम्पन्न भएको अस्पताल प्रशासनले जनाएको छ।
भाँचिएको हड्डीमा स्टिल पाता राखेर नट कस्ने तथा स्टिल पाता राखेका बिरामीको पाता निकाल्ने काम समेत अब रामेछाप अस्पतालमा हुने भएको छ। हाड भाँचिएका बिरामीको सबै उपचार अब रामेछाप अस्पतालमा नै हुने डा.जर्घा मगरले जानकारी दिए।
यसअघि रामेछापका हाड भाँचिएका बिरामीहरूले उपचारको लागि धुलिखेल वा काठमाडौंका अस्पताल जानुपर्ने बाध्यता थियो। जिल्लामा नै उपचार हुने भएपछि बिरामीहरूको खर्च, समय र दुःख सबै घटेको छ।
अस्पतालले जिल्लाका साथै सिन्धुली, ओखलढुङ्गा, दोलखा लगायत रामेछापसँग सीमाना जोडिएका स्थानीय तहका बिरामीलाई सेवा दिन सक्छ। रामेछापमा हाड–जोर्नीको सेवा सञ्चालन भएपछि सो क्षेत्रका स्थानीयलाई स्वास्थ्य उपचारमा सहज भएको छ।







डिसी नेपाल








Facebook Comment