निबन्ध

बुद्धभूमिको न्यानो जाडो

ज्ञानेन्द्र विवश
३ माघ २०८२ ७:२८
48
Shares

विश्वशान्तिका अग्रदूत गौतम बुद्धको जन्मभूमि लुम्बिनीमा पुग्दा जाडोको बिहान पनि न्यानो अनुभूति सँगाल्न पाइयो। हिउँदे यामको शीतलहरले प्रकृति नै कक्रक्क परेको बेला बुद्धको जन्मभूमिमा मुटु कमाउने जाडोमा पनि न्यानोपनको महसुस गर्न पाउनु अनेकौं अनुभवको प्राप्ति हुँदोरहेछ।

अनुभूति र भावनाहरू आफैंमा जीवन्त यात्राका बीउ हुन्। तिनैलाई आधार मानी, बुद्धभूमि, लुम्बिनीको जाडो, मान्छेहरूको जिजीविषा र यात्रुको आत्मसंवाद यात्राको सुस्वादु प्रस्थान थियो।

जाडोको एकाबिहानै शीतलहरलाई पैतालाले किचिलिघान पारेर हिँड्नु भनेको साहस मात्रै होइन, जोखिमको मौन स्वीकारोक्ति पनि रहेछ। हातको औँलामा चिसो सुइरोझैँ घोचिएर आउँथ्यो। सास फेर्दा हावाले फोक्सोभित्रै ठिर्‍याउने हिउँ छिराएझैँ लाग्थ्यो।

यस्तो बेलामा न्यानो ओछ्यानले शरीरलाई मात्र होइन, मनलाई पनि तानिरहनु स्वाभाविक हो। तर घुम्न निस्किएको मन, डुल्न आएको चेतना र अनुभवको भोक बोकेको आत्माले कहाँ गुटुमुटु परेर सुत्न मान्थ्यो र?

त्यसैले जाडोलाई दुई हात खल्तीभित्र घुसारेर, कानलाई न्यानो टोपीले छोपेर म भगवान गौतम बुद्धको पवित्र जन्मभूमि लुम्बिनी परिसरमा घुम्न निस्किएँ। त्यो बिहान लुम्बिनी शान्त मात्र थिएन, गम्भीर थियो। तराईको भुइकुइरोले ढाकिएको बाटो, मौन वृक्षहरू र धैर्यतापूर्वक उभिएका विहारहरू यी सबैले मलाई शब्दविहीन ढङ्गले स्वागत गरिरहेका थिए।

बौद्ध भिक्षुहरू माला मन्त्र जप्दै ‘बुद्धम् शरणम् गच्छामी…’ को मन्त्रोच्चारणसँगै घुमिरहेका थिए। चिसो मौसममा पनि शान्त, शीतल वातारवणले मनलाई आनन्दित पाथ्र्यो। परेवाहरू भुर्रर उड्थे। चारो टिप्न बस्थे। फेरि वेग हानेर कतै उडेर जान्थे। तर यात्री मन बुद्ध भूमिकै वरिपरि परिक्रमा गरिरहेको थियो।

बाहिर निस्किँदा मैले सोचेको थिएँ-जाडोमा मानिसहरू सबै ओछ्यानमै गुडुल्किएका होलान्, जाडोलाई सराप्दै अल्छी मानेर। तर सडकमा निस्किँदा देखेँ, जीवन त ओछ्यानभन्दा बाहिर पो रहेछ। एकदमै चञ्चल, चलायमान आ-आफ्नो गति र गन्तव्यमा फटाफट लम्किरहेकाहरू, कपाकप खाइरहेकाहरू !

बाफरे ! शीतलहर र हुस्सुले मान्छे ठम्याउँनै हम्मेहम्मे थियो। तर बाटोमा काममा निस्किएका मानिसहरू थिए, घुम्न निस्किएका अनुहारहरू भेटिन्थे, पसल खोल्दै गरेका हातहरू देखिन्थे।

कोही जाडोले सिउँसिउँ गर्दै पनि हिँडिरहेका थिए, तर ती सिउँसिउँहरूमा हार थिएन-जिउँदो रहनुको संकल्प थियो। कोही सडक छेउमा घुर तापेर जिउ न्यानो बनाइरहेका थिए-त्यो आगो केवल शरीर तताउने साधन थिएन, जीवनप्रतिको आशा थियो।

साइकलमा, रिक्सामा सामान राखेर बेच्न निस्किएका मान्छेहरूलाई देख्दा लाग्थ्यो- शीतलहर त केवल मौसम हो, तर उनीहरूको जीवनसंघर्ष त सदैवको यात्रा हो। चिसोले हात कठ्याङ्ग्रिए पनि, पेटको आगो निभाउने ध्येयले तिनलाई अघि बढाइरहेको थियो। तिनलाई शीतलहरको रत्तिभर पनि डर थिएन, बरु तिनलाई समयसँगको प्रतिस्पर्धा थियो।

धन्न ढिलै भए पनि अल्छीलाई ओछ्यानमै छोडेर म बाहिर निस्किएछु। यतिको चहलपहल देख्न पाइयो।  अझ अचम्म त के भने-ती मान्छेहरू गफ गर्दै हिँडिरहेका थिए, हाँस्दै थिए, खुसीले मस्त देखिन्थे।

तराईको चिसोले उनीहरूको हाँसो जमाउन सकेको थिएन। हरेक अनुहारमा एउटा गन्तव्य थियो, हरेक पाइतालामा एउटा भरोसा। बिहानको कलिलो उज्यालोसँगै मानिसलाई आफ्नो जीवनपथमा यसरी नै आशामय उल्लासले अगाडि बढाउँदो रहेछ। निराशाले घोप्टो परिरहे त कहाँ जीवन चलायमान हुनसक्छ र !? कहाँ जीवनले गति लिन र गन्तव्य भेट्टाउन सक्छ र !?

म भने पाहुना थिएँ- चिसोलाई अनुभूति मान्ने, सौन्दर्य ठान्ने। उनीहरू चाहिँ चिसोलाई नियति मानेर पनि जीवनलाई प्रेम गरिरहेका थिए।

लुम्बिनीका ती शान्त मार्गहरूमा हिँड्दै गर्दा मलाई बुद्धको शिक्षाले होइन, बुद्धभूमिमा हिँडिरहेका साधारण मानिसहरूले बढी पाठ सिकाइरहेका थिए। त्याग, सहनशीलता र मध्यम मार्ग त ग्रन्थमा मात्र होइन रहेछ- रिक्साको ह्यान्डल समातेर हिँड्ने हातमा, घुरको आगो ताप्दै मुस्कुराउने अनुहारमा, जाडो चिर्दै अघि बढ्ने पैतालामा पनि रहेछ।

चिसोको कुनै पनि प्रवाह नगरी सिरेटोको कुनै पनि वास्तै नगरी तात्तातो चिया पकाइरहेका भेटिन्थे पुरी तरकारी प्लेटमा राखिरहेकाहरु भेटिन्थे चना चटपटी सेलरोटी खुवा पेँडा बेचिरहेकाहरु बाटोका दायाँ बायाँ ग्राहक पर्खिरहेका हुन्थे। जाडोलाई भगाउने, पेटलाई न्यानो पार्ने यस्ता खानेकुरा देखेपछि घुटुक्क थुक निल्दै बाटो काट्न कसको मन मान्थ्यो र !?

आखिर एकछिन धेरै भएपनि तातो चिया पिउँथे। पुरीतरकारी चाख्थे। जिलेवी, पेँडाको स्वादमा मुख मिठ्याउँदै बाटो लाग्थे।

लुम्बिनीको जाडोका बिहानहरूमा चिसो भन्नु हावामा मात्र थिएन, समयमै थियो, छायाँमै थियो। तर अचम्म के भने-त्यही सिरेटोलाई कुनै वास्ता नगरी, चिसोलाई लाजै लजाउने गरी तात्तातो चिया पकाइरहेका हातहरू देखिन्थे। चिसोपानीले कप, भाँडा माझिरहेकाहरूलाई चिसोको कुनै मतलव थिएन। त्यसैले बुद्धभूमिको जाडो पनि न्यानो थियो, चिसो थिएन, न्यानो थियो।

चुलोमाथि उम्लिँदै गरेको पानी, चियापत्तीको गन्ध र अदुवाको तिखोपन मिसिँदा लाग्थ्यो- यो त केवल चिया होइन, जाडोसँगको मौन युद्ध हो। त्यसमाथि अलिकति दालचिनी, ल्वाङसुकुमेल मिसाएर भक्भकी उमालेको चिया स्वादिष्ट हुने नै भयो।

कसैले प्लेटमा पुरी तरकारी राखिरहेका थिए–पुरीहरू फुल्दै, सुनौलो हुँदै, बिहानको धुम्म उज्यालोलाई चुनौती दिँदै। तरकारीको बाफसँगै निस्किने मसिनो सुगन्धले बाटोमा हिँडिरहेका मानिसहरूलाई आफैँतिर बोलाइरहेको थियो।

बाटोका दायाँबायाँ चना चटपटी, सेलरोटी, खुवा र पेडा बेचिरहेकाहरू शान्त प्रतीक्षामा थिए–ग्राहकको मात्र होइन, जीवनको। कोही इनारबाट, कोही कलमा ह्वार्लाङ्गघ्वार्लाङ्ग पानी तानिरहेकाहरू। जीवन धान्न साँच्चै सजिलो चाहिँ छैन।

यी खानेकुरा जिब्रोलाई लोभ्याउने साधन थिएनन्। यी त जाडोलाई भगाउने हतियार थिए, पेटलाई न्यानो बनाउने औषधि थिए। यिनलाई देखेपछि घुटुक्क थुक ननिल्ने को होला र ?

यात्राको अनुशासन, समयको हतार-सबै केही क्षणका लागि पर सर्दै जान्थे। बाटो काटेर अगाडि बढ्न मन मान्दैनथ्यो, मन त यहीँ कतै उभिएर जाडोसँग सम्झौता गर्न चाहन्थ्यो। आखिर एकछिन भए पनि उभिएरै चिया पिइन्थ्यो।

त्यो चियाको पहिलो सिपले ओँठ तताउँथ्यो, दोस्रो सिपले मन खोल्थ्यो, तेस्रो सिपले शरीरभित्रसम्म अलिक हलुका बनाइदिन्थ्यो। फुर्तिलो पारिदिन्थ्यो।
पुरीतरकारी चपाउँदा जाडो यामको यो यात्रा अब पाइतालाले बाटो नाप्नु होइन, स्वाद हुँदै अघि बढ्दै थियो। पेडाको मिठास मुखमा फैलिँदा बिहान अझ उज्यालो बनेको अनुभूति हुन्थ्यो।

त्यहाँ न कुर्सीको खोज थियो, न टेबलको। उभिएरै खानु, उभिएरै पिउनु। यहीँ त यात्राको सौन्दर्य थियो। जीवन पनि त यस्तै हो-धेरैपटक उभिएरै जिउनुपर्छ, उभिएरै आनन्द लिनुपर्छ। बसिरहियो भने त जहाँको त्यहीँ कतै पुग्न सकिँदैन। केही देख्न, कोही भेट्न र नयाँ अनुभूति बटुल्न पनि पाइँदैन।

चिसोले नाक रातो बनाइरहेको थियो, तर ती स्वादहरूले मन तातिरहेको थियो। र, मलाई लागिरहेको थियो-यात्रा भनेको गन्तव्य पुग्नुका साथै बाटोमा भेटिने यी साना-साना न्यानोपनहरूलाई आत्मसात गर्नु पनि रहेछ।

लुम्बिनीको त्यो बिहान, चिया, पुरी र पेडाको स्वादले मेरो यात्रालाई अझ मानवीय, अझ आत्मीय बनाइरहेको थियो।

त्यो बिहान म केवल लुम्बिनी घुमिरहेको थिइनँ। म जीवनलाई नजिकबाट नियालिरहेको थिएँ। र, बिस्तारै बुझ्दै थिएँ-यात्रा भनेको दूरी पार गर्दै अनुभूति प्राप्त गर्नु पनि रहेछ। प्रकृतिको नियमलाई पालना गर्दै जीवनको यात्रालाई निरन्तर चलायमान बनाएर राख्नु पनि रहेछ। मन परेको ठाउँमा पुगेपछि दुःख सबै हराउँदोरहेछ। जाडोमा पनि जाडो लाग्दोरहेनछ। बुद्धभूमिमा जाडो भएन न्यानो भयो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.