अमेरिकामा तामाङ समुदायद्वारा भव्यरुपमा सोनाम ल्होछार २८६२ उत्सव सम्पन्न
बासिङ्टन । वासिङ्टन डीसी महानगर क्षेत्र तथा वरपरका क्षेत्रमा बसोबास गर्ने नेपाली तामाङ समुदायले Martin Luther King Jr. Day को अमेरिकी संघीय बिदासँगै सोनाम ल्होछार २८६२ भव्य रूपमा मनाएको छ।
कार्यक्रमको आयोजना Tandori Night रेस्टुरेन्टका मालिक श्याम रुम्बा तामाङ र नानी देवी लामाले गरेका थिए। फेयरफ्याक्स क्षेत्रमा सबैभन्दा लोकप्रिय नेपाली-दक्षिण एसियाली रेस्टुरेन्टमध्ये एक मानिने Tandori Night मा आयोजित उक्त रात्रिभोज पूर्ण रूपमा दम्पतीकै खर्चमा सम्पन्न गरिएको थियो। उनीहरूको उदारता र समुदायप्रतिको समर्पणप्रति उपस्थित पाहुनाहरूले हार्दिक कृतज्ञता व्यक्त गरे।
कार्यक्रममा करिब दुई सयभन्दा बढी समुदायका सदस्यहरूको सहभागिता थियो। समाजका सामुहिक सहयोबट तयार पारिएका खाद्यपदार्थहरुमा ल्होछारका परम्परागत परिकार-कोदोको रोटी, सेलरोटी, अचार, खसीको मासु, कुखुराको मासु, दाल, हरियो रायोको साग-पस्किएको थियो, जसले परदेशमा बसेका नेपालीहरूलाई घरको स्वाद र संस्कृतिको आत्मीयता सम्झाइदियो।
कार्यक्रमको मुख्य आकर्षण नेपालबाट आएका चर्चित लोकदोहोरी गायक मिलन लामाको प्रस्तुति थियो, उहाँलाई त्यो माहौलमा ल्याउनका लागिपनि सामुहिक सहयोगले आउने हवाई टिकट व्यवस्था गरेको थियो भन्ने कुरा जानकारीमा आएको थियो। उनका गीत–संगीतले वातावरणलाई झनै उत्साहपूर्ण बनायो।
उपस्थित विशिष्ट पाहुनामध्ये पूर्व अध्यक्षहरू श्याम लामा, बल डी.बी. तामाङ, श्रीलाल मोक्तान, उत्तर लामा डोङ, दावा तामाङ, रोजी तामाङ लगायतका समुदायका अग्रजहरूको सहभागिता उल्लेखनीय रह्यो।
साथै, Tamang Society of Greater Washington USA का वर्तमान पदाधिकारीहरू-अध्यक्ष श्रीमती हेमकला घिसिङ तामाङ, उपाध्यक्ष देवकुमार लामा, र महासचिव अमोद घिसिङ तामाङको उपस्थिति पनि कार्यक्रमको गरिमा र औपचारिकता बढाउने महत्वपूर्ण तत्व बन्यो।
यस वर्षको सोनाम ल्होछारले तामाङ समुदायलाई घोडा वर्ष तथा २८६२ वर्षमा प्रवेश गराएको छ।
अमेरिकामा बसेर पनि भाषा, संस्कृति र परम्परालाई जोगाउँदै सामूहिक रूपमा ल्होछार मनाउनु तामाङ समुदायको एकता, पहिचान र सांस्कृतिक गर्वको उत्कृष्ट उदाहरण बनेको छ।







डिसी नेपाल







Facebook Comment