सरकार जनताको हित विपरीत जान सक्दैन : उपप्रधानमन्त्री पोखरेल

डिसी नेपाल
३१ भदौ २०७६ २३:५३

काठमाडौं । उपप्रधानमन्त्री एवम् रक्षामन्त्री ईश्वर पोखरेलले वर्तमान सरकार जनताको हित विपरीत जान नसक्ने बताएका छन्।

काठमाडौँ चेम्बर अफ कमर्सले एक महीनादेखि आयोजना गरेको रक्तदान कार्यक्रमको आज समापन कार्यक्रममा उनले जनताको मतबाट गठन भएको सरकार जनताको हित विपरीत जान नसक्ने बताए।

उपप्रधानमन्त्री पोखरेलले सरकार अधिनायकवादी नभएको स्पष्ट पारे। “आवधिक निर्वाचन, कानूनी शासन र जनतावाट अनुमोदित भएको सरकार अधिनायकवादी हुन सक्दैन”, उनले भने।

उनले वर्तमान सरकार उद्योगी र व्यवसायीको समस्या समाधानमा गम्भीर रहेको उल्लेख गरे। चेम्बर अफ कमर्सले भोगेका समस्याको समाधान गर्न सरकार तयार रहेको उनको भनाइ थियो।

उपप्रधानमन्त्री पोखरेलले हिजोका दिन लोकतन्त्रका लागि लडे पनि अहिले लोकतन्त्रभित्र बसेर यसभित्र रहेका गल्ती कमी कमजोरीलाई सच्याउन सरकार लागिपरेको बताए। सरकार नीति नियम र ऐनकानून निर्माणमा लागिरहेको उनको भनाइ थियो।

टोखा नगरपालिकाका प्रमुख प्रकाश अधिकारीले सामाजिक क्षेत्रमा चेम्बर अफ कमर्सले गरेको कामको प्रशंसा गरे। चेम्बरलाई परेको समस्या समाधानका लागि स्थानीय सरकार गम्भीर भएको बताए।

चेम्बर अफ कमर्स काठमाडौँका अध्यक्ष कृष्णमान श्रेष्ठले व्यवसायको सिलसिलामा उद्योगी–व्यवसायीले प्यान, राजश्वलगायतका विषयमा समस्या भोग्नु परेको बताए।

कार्यक्रममा एकमहिने रक्तदान कार्यक्रममा सबैभन्दा धेरै रगत सङ्कलन गर्ने शाखालाई सम्मानसमेत गरिएको थियो।रासस




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *