कविता : भगवान्

ठाकुरप्रसाद बराल
९ माघ २०८२ १२:००
28
Shares

भेट्नु भयो भने भगवान्लाई
समातेर ल्याइदिनु है कसैले।
म उनको झुण्याएको
फोटो फ्याकेर किलामा
काँटी ठोकेर राख्नेछु।

धेरै भो खोजेको तिनलाई मैले
त्यसैले त तिनको फोटो
झुण्याएर राखेको छु।
बेला बेला तिनको अनुहार
नविर्सियोस् भनेर पुलिसलेझैं
खुंखार अपराधीलाई सधैं
आफ्नै अगाडि राखेर
हेरिरहेको छु।

कतै भेटिहालिन्छ कि?
भेट्नु भयो भने तिनलाई
चौखुर्याएर पाता कस्तै
ल्याइदिनु है।
तिनले युगौँदेखि
स्वर्ग लान्छु भनेर धेरैलाई
पैसा उठाएर ठग्दै हिँडेका छन्
भन्ने उजूरी परेको छ
मेरा हजुरमा।
म तिनलाई धरौटीमा
छोड्ने छैन।
ठिँगुरा ठोकेर काँटीले
मेरो खाटको पैताला माथिको
भित्तामा खुलस्त देखिने गरी झुण्डाई
राख्नेछु क्रुसमा।

अनि तिनको दर्शनभेट गर्न
आउनेहरूलाई चिनाइ दिनेछु।
ऊ त्यही हो तपाईँहरूको
दिल चोरेर सताउने।
लुकेर तपाईंको प्राण
हरेर लाने र मानिस
मर्दैन भन्दै भाषण गर्ने।
मान्छे अजर अमर छ
भन्दै झुटो कुरा गर्ने।

भेट्नु भयो भने भगवान्लाई
समातेर ल्याइदिनु है कसैले।
म उनको झुण्याएको
फोटो फ्याँकेर किलामा
काटी ठोकेर राख्नेछु।
त्यसको निम्ति तपाईँंलाई
इनाम दिनेछु तिनैले
फुलाइ दिएको गोदावरी फूल।

तिनले म ढुङ्गा हुँ
पूज्दै गर भनेर मलाई
एकान्तमा छोडेर भागे।
तिनले मूर्ति हुँ भनेर
मलाई भुल्याए छले।
कतै पाखामा बस्छु भने।
मैले खोजे।
खोज्दै जाँदा पहाड
भित्ता कन्दरा नदी खोलामा
तिनले मलाई भने।
मैले त्यसो भनेको होइन तिमीले
मेरो कुरा बुझेनौ।
भर्खरै भने
हेर त म त तेरो मन
मुटुमा लुकेर बसेको छु।

यसरी भगवानले आफू बसेको
ठाउँ नै बताएनन्।
अहिले पनि म खोजिरहेछु तिनलाई
कतै भेटिए भने कोर्रा लाउँदै
मेरो इजलासमा ल्याइदिनु है
मैले तिनलाई ढाटे वापत
दण्ड जरिवाना गर्नुछ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *