चलचित्र ‘द ब्ल्यू लाइट’ आजबाट हलमा
काठमाडौं । चलचित्र ‘द ब्ल्यू लाइट’ आजबाट प्रदर्शनमा आएको छ । फ्राइडे रिलिज अन्तर्गत ‘द ब्ल्यू लाइट’ आजबाट प्रदर्शनमा आएको हो ।
बलिराम चौहानको निर्देशन रहेको चलचित्रले प्रिमियरमा उत्कृष्ट प्रतिक्रिया पाएको छ । बिहीबार भएको प्रिमियरमा चलचित्रले तारिफ पाएको छ ।
साइकोलोजिकल थ्रिलर जनरामा बनेका सीमित राम्रा चलचित्रमध्ये ‘द ब्ल्यू लाइट’ एक भएको सिनेमा हेरेपछि प्रतिक्रिया आएको छ । नेपालमा बनिरहेका चलचित्रमध्ये फरक खालको भएको प्रतिक्रिया पाएको छ ।
एकै खालका सिनेमा बने भन्ने गुनासो दर्शक तथा समीक्षकबाट आइरहेका बेला फरक टेस्ट बोकेर ‘द ब्ल्यू लाइट’ आएको सिनेमा हेरेपछि कलाकार तथा मेकरले बताएका छन् । कतिपयले चलचित्रको ‘ब्याकग्राउन्ड स्कोर’ (पार्श्व संगीत) ले थ्रिलर मुडलाई अन्त्यसम्म कायम राखेको प्रतिक्रिया दिएका छन् ।
एउटै धारका चलचित्र हेरेर वाक्क भएका दर्शकका लागि ‘द ब्ल्यू लाइट’ ले नयाँपन दिने विश्वास प्रिमियरमा देखिएको उत्साहले देखाएको छ । चुनौती मोलेर यो सिनेमा बनेको भन्दै दर्शकले मन पराउने प्रतिक्रिया प्रिमियरमा चलचित्र हेर्नेको भनाइ छ । चलचित्रमा अभिनय र मेकिङको सबैले तारिफ गरेका छन् । खलपात्रमा देखिएकी सृष्टि श्रेष्ठको अभिनयको खुलेर तारिफ भएको छ ।
प्रिमियरपछि बोल्दै कलाकार तथा निर्देशक दीपक आचार्य (काकु) ले फिल्मको समग्र प्याकेजलाई उत्कृष्ट भनेका छन् । उनले कलाकारहरूको अभिनयले दर्शकलाई मन्त्रमुग्ध बनाउने दाबी गरे ।
“चलचित्रलाई ‘फरक स्वादको उत्कृष्ट प्याकेज’ को रूपमा परिभाषित गरे । उनले भने, “सिनेमाटोग्राफीमा नरेन्द्र मैनालीको जादु छ, र कथा बिल्कुलै नौलो छ । कलाकारहरूको अभिनयले तपाईंलाई हलभित्र बाँधेर राख्छ,” उनले भने ।
त्यस्तै, निर्माता अविरल थापाले फिल्म पारखीहरूका लागि नरेन्द्र मैनालीको छायांकनको जादु अनुभूत गर्न यो सिनेमा हेर्नैपर्ने बताए ।
प्रिमियरमा अभिनेता खगेन्द्र लामिछाने, अभिनेत्री नीति शाह लगायतका सेलेब्रिटीहरूले पनि चलचित्रको प्राविधिक पक्ष र कथावाचनको शैलीलाई तारिफ गरेका थिए ।
चलचित्रमा मुख्य भूमिका निभाएकी साथै कार्यकारी निर्माताको जिम्मेवारी सम्हालेकी बेनिशा हमालले प्रिमियरपछि खुसी व्यक्त गरिन् । उनले भनिन्, “नेपालमा साइकोलोजिकल थ्रिलर बनाउनु एउटा ठूलो चुनौती र जोखिम थियो । तर, आज प्रिमियरमा उपस्थित दर्शक र चलचित्रकर्मीले जुन किसिमको प्रतिक्रिया दिनुभयो, त्यसले हाम्रो मेहेनत सफल भएको महसुस गराएको छ । यो फिल्म मेरो लागि केवल अभिनय मात्र होइन, एउटा सपना पनि हो ।”
निर्देशक बलिराम चौहानले आफूले भन्न खोजेको कथालाई कलाकारहरूले पर्दामा जीवन्त उतारिदिएकोमा आभार व्यक्त गरे । उनले भने, “हामीले एउटा इमान्दार प्रयास गरेका छौं । प्रिमियरमा जुन लेभलको तारिफ पाइयो, हलमा आम दर्शकले पनि यसलाई त्यसरी नै माया गरिदिनुहुनेछ भन्नेमा आशावादी छु ।”
चलचित्र ‘द ब्ल्यू लाइट’मा बेनिशा हमाल, श्रृष्टि श्रेष्ठ र अर्पण थापा, आयुशमान देशराज जोशी, महेश त्रिपाठी र सुरक्षा इटानी मुख्य भूमिकामा छन् । बाल कलाकारमा ग्रिस्मा कटुवाल र सहारा शर्मा छन् ।
चलचित्र ‘द ब्ल्यू लाइट’लाई बलिराम चौहानले निर्देशन गरेका छन् । यो उनको पहिलो निर्देशन हो ।
स्काइफल पिक्चर्सले प्रस्तुत गरेको ‘द ब्ल्यू लाइट’को को–प्रोडुसरको रुपमा भोलानाथ कटुवाल र रमन ग्रे रहेका छन् । कार्यकारी निर्मातामा भने छायाकार नरेन्द्र मैनाली र नायिका बेनिशा हमाल छन् ।
नरेन्द्र मैनालीको छायांकन रहेको चलचित्रमा आकाश उखेडा मुख्य सहायक निर्देशक छन् । रेलिजा श्रेष्ठ प्रोडक्सन डिजाइनर र दिलीप पन्त निर्माण नियन्त्रक हुन् ।
आज (शुक्रबार) बाट देशभरका हलमा लागेको यो चलचित्रले प्रिमियरमा जस्तै आम दर्शकबाट पनि सकारात्मक वर्ड अफ माउथ पाउनेमा निर्माण पक्ष ढुक्क देखिएको छ ।







डिसी नेपाल








Facebook Comment