आगामी निर्वाचनमा रसुवाबाट पार्टीका उम्मेदवारलाई जिताउनु न्यायसंगत हुन्छ : कुलमान घिसिङ
काठमाडौं। उज्यालो नेपाल पार्टी (उनेपा) का अध्यक्ष कुलमान घिसिङले रसुवासँग आफ्नो गहिरो सम्बन्ध रहेको उल्लेख गर्दै आगामी निर्वाचनमा रसुवाबाट पार्टीका उम्मेदवारलाई जिताउनु न्यायसंगत हुने बताएका छन्।
शनिबार आयोजित पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष घिसिङले रसुवा र रामेछाप आफ्नो जीवनसँग प्रत्यक्ष रूपमा जोडिएका जिल्ला भएको बताए। उनले रामेछापलाई जन्मथलो र रसुवालाई कर्मथलोका रूपमा व्याख्या गर्दै रसुवाले नै आफूलाई ‘कुलमान घिसिङ’ भनेर चिनाएको स्पष्ट पारे।
‘रसुवासँग मेरो धेरै कुरा जोडिएको छ। कुलमान घिसिङको पार्टी उज्यालो नेपाल पार्टीका उम्मेदवारलाई रसुवामा जिताउनु भएन भने त्यो न्याय हुँदैन,’ उनले भने, ‘रामेछाप मेरो जन्मथलो हो भने रसुवा मेरो कर्मथलो हो। म आज जहाँ छु, त्यसको आधार रसुवाले नै तयार पारेको हो।’
अध्यक्ष घिसिङले रसुवाका धेरै जनप्रतिनिधिहरू उज्यालो नेपाल पार्टीमा प्रवेश गरेकोप्रति खुशी व्यक्त गर्दै पार्टीप्रति जनताको विश्वास बढ्दै गएको दाबी गरे। उनले रसुवा जिल्ला आफूलाई लामो समयदेखि आत्मीय रूपमा जोडिएको जिल्ला भएको पनि बताए।
कार्यक्रममा उनले रसुवास्थित चिलिमे जलविद्युत् आयोजनामा प्रबन्ध निर्देशक तथा कार्यकारी प्रमुखको भूमिकामा चार वर्ष काम गर्दा थुप्रै उपलब्धि हासिल भएको उल्लेख गरे। सो अवधिमा विभिन्न जलविद्युत् परियोजनाको सुरुवात र सम्पन्न गरिएको बताउँदै स्थानीय जनतालाई १० प्रतिशत सेयर दिनुपर्ने व्यवस्था नेपालमै पहिलो पटक कानुनी रूपमा सुनिश्चित गरिएको दाबी गरे।
उनले भने, ‘रसुवा जिल्ला म सँग धेरै समयदेखि र आत्मिय रुपमा जोडिएको जिल्ला हो। रसुवाको चिलिमे जलविद्युत् आयोजनामा प्रबन्ध निर्देशक तथा कार्यकारी प्रमुखको भूमिकामा चार वर्षमा धेरै काम गरे। धेरै हाइड्रो पावर प्रोजेक्टहरुको सुरुवात गरे, सम्पन्न गरे। त्यहाँको जनतालाई १० प्रतिशत सेयर दिनुपर्छ भनेर नेपालमा पहिलो चोटी कानुन बनाएको पनि हामीले नै हो।’
No ads found for this position

डिसी नेपाल
Facebook Comment