स्वरबाट पर्दासम्म : ‘रमिताको पिरती’ मा समिर श्रेष्ठको नयाँ यात्रा

डिसी नेपाल
२१ माघ २०८२ ९:३६
8
Shares

काठमाडौं । लोकप्रिय गायक समिर श्रेष्ठ अब नेपाली फिल्म क्षेत्रमा पनि देखिँदै छन् । यही माघ २३ गतेबाट प्रदर्शनमा आउन लागेको नेपाली फिल्म ‘रमिताको पिरती’ मार्फत उनले अभिनयमा डेब्यु गरेका हुन् । गीत–संगीतमा स्थापित हुँदै आएका समिरका लागि यो फिल्म नयाँ यात्रा र नयाँ अनुभव बनेको छ ।

नेपाल न्यूज बैंकसँगको विशेष कुराकानीमा समिरले पछिल्लो समय आफू अभिनय र संगीत दुवैमा व्यस्त रहेको बताए । गायनबाट चिनिएका उनी अभिनयमा आउँदा कस्तो अनुभूति भइरहेको छ भन्ने प्रश्नमा उनले भने, ‘राम्रै फिल भइरहेको छ । ‘म अभिनयमा पनि आएँ’ भन्ने अनुभूति गर्न पाउँदा म खुसी छु ।’

फिल्म ‘रमिताको पिरती’ कस्तो खालको कथा बोकेको छ ? दर्शकले किन हेर्नुपर्छ ? भन्ने प्रश्नमा समिर भन्छन् ‘यो फिल्म एउटा यस्तो इमोसनमा आधारित छ, जुन हामी सबैले जीवनमा कहिँ न कहिँ महसुस गरेका हुन्छौँ तर प्रायः त्यसबाट भाग्न खोज्छौँ । त्यही इमोसनलाई सामना गर्न सिकाउने कथा हो यो ।’

उनका अनुसार ‘रमिताको पिरती’ फिमेल–सेन्ट्रिक फिल्म हो, जसले एउटी महिलाको भित्री यात्रा, भावनालाई प्रस्तुत गर्छ । ‘यो लभ स्टोरी मात्र होइन, एउटा इमोशनल रोलर–कोस्टर (भावनाको तीव्र उतार–चढाव) हो,’ उनले थपे ।

गायनमा स्थापित भइरहँदा अभिनयमा प्रवेश गरेका समिरले फिल्मप्रतिको पुरानै रुचि रहेको बताए । ‘म पहिलेदेखि नै फिल्ममा आउन चाहन्थेँ । आफ्नै गीतका म्युजिक भिडियोमा अभिनय गर्दै आएको थिएँ । ‘रमिताको पिरती’ मा पनि संगीतकै सिलसिलामा कुरा हुँदै जाँदा जोडिन पुगेँ,’ उनले भने ।

आफ्नै गीतका म्युजिक भिडियोमा र फिल्ममा अभिनय गर्नुबीच ठूलो फरक रहेको समिरको अनुभव छ । ‘म्युजिक भिडियोमा कन्टिन्युटी त्यति महत्त्वपूर्ण हुँदैन । तर फिल्ममा एउटै इमोसनलाई लामो समयसम्म बोकेर जानुपर्छ । साना–साना डिटेलले पनि ठूलो अर्थ राख्दो रहेछ,’ उनले अनुभव सुनाए ।

‘रमिताको पिरती’मा समिरको भूमिका मुख्य पात्रलाई भावनात्मक रूपमा सहयोग गर्ने सहायक पात्रको रहेको छ । ‘लिड क्यारेक्टर अगाडि बढ्दा म पछाडिबाट इमोसनल सपोर्ट गर्ने भूमिकामा छु,’ उनी भन्छन् ।

चुनौतीको कुरा गर्दा समिरका लागि संगीत क्षेत्र नै बढी चुनौतीपूर्ण रह्यो । ‘सबैको यात्रा फरक हुन्छ । मेरो केसमा संगीतमा नै बढी संघर्ष गर्नुप¥यो, किनकि म यहीँबाट आएको हुँ,’ उनले भने ।

पारिवारिक पृष्ठभूमि संगीतसँग जोडिएको नभए पनि आफ्नै रुचि र भावनाले संगीतमा ल्याएको समिर बताउँछन् । उनलाई चिनाउने पहिलो गीत ‘चार दिवस’ भए पनि ‘थामन हात’ ले व्यापक चर्चा पाएको थियो ।

उनका ‘थामन हात’, ‘जे छौ तिमी’, ‘हेर न’, ‘मेरो मनमा’ लगायतका गीत श्रोतामाझ लोकप्रिय छन् । फिल्मकै गीत ‘तिमी भए काफी’ अहिले सामाजिक सञ्जाल, विशेषगरी टिकटकमा निकै लोकप्रिय छ । ‘यो गीत मैले आफ्नै इमोसनबाट बनाएको हुँ । म जे महसुस गर्छु, त्यही संगीतमा उतार्न खोज्छु,’ समिरले भने ।

‘एड्स सम कलर्स’ ट्रेन्डबारे उनी भन्छन्, ‘यो गीतको भाइब नै रंगीन छ । मानिसहरूले आफ्ना जीवनका रंगीन पाटो देखाएर यो ट्रेन्ड बनाइरहनुभएको छ ।’
फिल्ममा आना शर्मासँग काम गर्न पाउँदा आफूले धेरै सिकेको समिर बताउँछन् । ‘म डेब्यु एक्टर भएकाले केही दृश्य बुझ्न गाह्रो हुन्थ्यो । उहाँले धेरै गाइड गर्नुभयो । एकदमै राम्रो अनुभव रह्यो,’ उनले भने ।

गायन र अभिनय दुवैलाई सँगै लैजाने योजना रहेको समिर बताउँछन् । ‘दुवैको मूल कुरा क्रिएटिभिटी हो । त्यसैले सँगसँगै अघि बढ्न सहज हुन्छ,’ उनले भने ।
कलाकारिता क्षेत्रमा भविष्य देख्नुहुन्छ ? भन्ने प्रश्नमा उनी स्पष्ट छन्, ‘म प्यासनले यो क्षेत्रमा आएको हुँ । त्यसैले भविष्य देख्छु ।’ विदेश जाने योजना भने तत्काल नरहेको बताउँदै उनले भने, ‘बरु नेपाली संगीत लिएर विदेश–विदेशमा टुर गर्दै जान्छु ।’

फिल्म ‘रमिताको पिरती’ यही माघ २३ गते (फेब्रुअरी ६) बाट प्रदर्शनमा आउँदैछ । ‘त्यो दिन व्यस्त हुनुहुन्छ भने पनि यो फिल्मका लागि समय छुटाइदिनुहोला,’ समिरको आग्रह छ ।

‘रमिताको पिरती’ कुनै साधारण प्रेमकथा होइन। यो त्यस्ता भावनाहरूको कथा हो, जुन हामी सबैले जीवनमा कहिल्यै न कहिल्यै महसुस गरेका हुन्छौँ, तर सामना गर्न डराउँछौँ । समिरका शब्दमा, ‘यो फिल्मले हामी भाग्न खोजेका इमोसनलाई फेस गर्न सिकाउँछ ।’

फिमेल–सेन्ट्रिक कथावस्तुमा आधारित यो फिल्मले एउटी महिलाको भित्री यात्रा, उसका मौन पीडा र भावनात्मक उतार–चढावलाई पर्दामा उतार्छ । प्रेमभन्दा पनि जीवनका गहिरा अनुभूतिहरूको चित्रण यस फिल्मको मूल आत्मा हो । त्यसैले यो फिल्म प्रेमकथाभन्दा पर, एउटा इमोशनल रोलर–कोस्टर (भावनाको तीव्र उतार–चढाव) बनेर दर्शकमाझ आउनेछ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.