आचारसंहिता पालना गर्दै निर्वाचनलाई मानवअधिकारमैत्री बनाउन आग्रह
काठमाडौं। राष्ट्रिय मानवअधिकार आयोगले निर्वाचन आचारसंहिताको पूर्ण पालना गर्दै निर्वाचनलाई मानव अधिकारमैत्री बनाउन आयोग सम्बद्ध सबै पक्षलाई आग्रह गरेको छ।
आयोगले आगामी फागुन २१ गते हुन लागेको प्रतिनिधिसभाको निर्वाचनमा मानव अधिकारको अवस्थाको राष्ट्रिय मानव अधिकार आयोगले अनुगमन गरिरहेको उल्लेख गर्दै निर्वाचनलाई मानव अधिकारमैत्री बनाउन आग्रह गरेको हो।
आयोगका प्रवक्ता डा टीकाराम पोखरेलका अनुसार आयोगले आज निर्वाचनमा पर्यवेक्षण गर्ने विभिन्न सङ्घसंस्थाका प्रमुख तथा प्रतिनिधिहरूसँग अनुगमन(पर्यवेक्षणको प्रभावकारिताको सम्बन्धमा गरेको छलफलमा सहभागीहरूले निर्वाचनलाई मानव अधिकारमैत्री बनाउनुपर्नेमा जोड दिएका छन्।
आयोगको अनुगमनबाट राजनीतिक दलका केही नेताहरू र उम्मेदवारहरूले एक अर्को दल, नेता र उम्मेदवारप्रति अमर्यादित भाषा प्रयोग गरी घृणाजन्य अभिव्यक्ति दिएको, अरुको मर्यादामा आँच आउने प्रकृतिका सामग्री उत्पादन गरी डिजिटल प्रविधिको माध्यमबाट प्रचारप्रसार गरिएको, मतदाताहरूलाई कुन दल–नेतालाई भोट दिने रु भनी प्रश्न सोध्ने र त्यसलाई भिडियो–अडियो रेकर्ड गराई सामाजिक सञ्जालमा राखी मतदाताको गोप्य मतदानको अधिकार र गोपनियताको हक उल्लङ्घन गरको पाइएको छ।
आयोगमा मानव अधिकार अनुगमनबाट निर्वाचन आयोगले तयार गरेको निर्वाचन आचारसंहिता केही दल र उम्मेदवारहरुबाट उल्लङ्घन भएको भनी प्रश्न उठेको, निर्वाचनपूर्व नै अमुक उम्मेदवारले जित्छ भनी समाचार तयार गरी भ्रम सिर्जना गरेको र मतदाता शिक्षा प्रभावकारी हुन नसकेको जनाएको छ।
केही राजनीतिक दलका कार्यालयहरूमा तोडफोड भएको, यसअघि आयोगले राजनीतिक दलका प्रतिनिधिहरू र सञ्चारकर्मीहरूसँग छुट्टाछुट्टै गरेको छलफलमा उल्लिखित विषयहरूलाई उठाइएको अनुगमनबाट पाइएको छ।







डिसी नेपाल







Facebook Comment