गिद्ध संरक्षणका लागि विषाक्त औषधि प्रयोगमा प्रतिबन्ध लगाउनुपर्नेमा जोड
मध्यविन्दु (नवलरासी)। गिद्ध संरक्षणका लागि पशु उपचारमा प्रयोग हुने विषाक्त औषधिको प्रयोग तत्काल प्रतिबन्ध गर्नुपर्नेमा सरोकार भएकाहरूले जोड दिएका छन्। विषाक्त औषधिको बढ्दो प्रयोगका कारण गिद्ध संरक्षणमा गम्भीर चुनौती थपिएको भन्दै सरोकार भएकाहरूले चिन्ता व्यक्त गरेका हुन्।
बर्ड कन्जर्भेसन नेपालको आयोजना, जटायु रेष्टुरेन्टको सहआयोजना, भेटेरिनरी अस्पताल तथा पशुसेवा कार्यालय नवलपुरको सहकार्यमा आयोजित ‘गिद्ध सुरक्षा तथा विषाक्त औषधि’सम्बन्धी कार्यशालामा पशु उपचारका क्रममा गिद्धका लागि हानिकारक औषधि प्रयोग नगर्न सरोकार भएकाहरूले आग्रह गरेका हुन्।
भेटेरिनरी अस्पताल तथा पशुसेवा कार्यालय नवलपरासी (बर्दघाट सुस्तापूर्व)की वरिष्ठ पशु विकास अधिकृत डा शर्मिला कुमालले पशु उपचारमा दुखाइ कम गर्ने औषधि एसिक्लोफेनक, केटोप्रोफेनक र निमिस्युलाइट गिद्धका लागि अत्यन्त हानिकारक रहेका जानकारी दिइन्। ती औषधि प्रयोग गरिएका पशु मरेपछि गिद्धले आहाराका रूपमा सेवन गर्दा त्यसको असरले गिद्धको मृत्यु हुने गरेको अध्ययनले देखाएको उनले बताइन्।
‘ती औषधिको विकल्पका रूपमा ‘मेलोक्सिकम’ पशुधन उपचारका लागि डाइक्लोफेनेक जत्तिकै प्रभावकारी हुनुका साथै गिद्धका लागि सुरक्षित मानिएको छ’, डा कुमालले भनिन्, ‘गिद्ध संरक्षणका दृष्टिले हानिकारक औषधिको प्रयोग रोक्दै सुरक्षित विकल्पको प्रयोग गर्न आवश्यक रहेको छ।’
नेपालमा हाल करिब २० हजार गिद्ध रहेका अनुमान गरिएको बर्ड कन्जर्भेसन नेपालका परियोजना अधिकृत भूपाल नेपालीले बताए। उनका अनुसार देशभर ८०४ गिद्धका गुँड पहिचान भएका छन्। ‘सन् २०२४ र सन् २०२५ को तथ्याङ्कअनुसार कपिलवस्तु जिल्लामा १७४ र नवलरपासी(बर्दघाट सुस्तापूर्व)मा १५७ गिद्धका गुँड फेला परेका छन्’, उनले भने, ‘नवलपरासी(बर्दघाट सुस्तापूर्व)मा सन् २०२६ को पहिलो चरणमा गरिएको सर्वेक्षणमा १४५ गिद्धका गुँड देखिएका छन्।’
नेपालमा पाइने नौ प्रजातिका गिद्धमध्ये सुन गिद्ध, डङ्गर गिद्ध र सानो खैरो गिद्ध अतिसङ्कटापन्न सूचीमा रहेका छन्। तीमध्ये आठ प्रजातिका गिद्ध नवलपरासी(बर्दघाट सुस्तापूर्व)मा पाइने जटायु रेष्टुरेन्टका अध्यक्ष डिबी चौधरीले जानकारी दिए।
गिद्ध संरक्षणका लागि विसं २०६३ मा जटायु रेष्टुरेन्ट स्थापना भएपछि गिद्धको सङ्ख्या तथा गुँड वृद्धि भएको भए पनि पछिल्लो समय विषाक्त औषधि तथा विषादीको प्रयोगका कारण संरक्षणमा चुनौती बढ्दै गएको जटायु रेष्टुरेन्टका अध्यक्ष चौधरीले गुनासो गरे। उनका अनुसार किसानले जीवजन्तु मार्न प्रयोग गर्ने विषादीका कारण गिद्धको स्वास्थ्यमा प्रत्यक्ष असर परेको छ।
‘विषादी प्रयोगका कारण मरेका पशुको मासु गिद्धले सेवन गर्दा मिर्गौलामा समस्या देखिएर मृत्यु हुने गरेको अध्ययनले देखाएका छन्’, उनले भने, ‘नवलपरासी(बर्दघाट सुस्तापूर्व)को कावासोती नगरपालिका–३ र ११ मा विषादी लागेको मासु सेवन गर्दा २० वटा गिद्ध मरेका घटनासमेत उजागर भएका छन्।’ गिद्धको स्वास्थ्यमा असर पार्ने औषधिको बिक्रीवितरणमा प्रतिबन्ध लगाउन तथा पशु उपचारमा सुरक्षित विकल्प औषधि प्रयोग सुनिश्चित गर्न सम्बन्धित निकायसँग समन्वय गरी पहल सुरु गरिएको चौधरीले बताए।
कार्यशालामा गिद्ध संरक्षणका लागि विषाक्त औषधि प्रयोग गरिएका पशु चौपाया चराचुरुङ्गीलाई नखुवाउने, बिरामी तथा उपचारबाट निको नभएका पशु जटायु रेष्टुरेन्टमा नपुर्याउने, विषादी तथा पेष्टिसाइडको बिक्रीवितरण प्राविधिकको निगरानीमा गराउने तथा जीवजन्तु मार्न यस्ता विषादीको प्रयोग निरुत्साहित गर्नुपर्ने विषयमा छलफल गरिएको थियो। रासस








डिसी नेपाल






Facebook Comment