भगवान प्राप्तिको सरल उपाय

शंकरप्रसाद रिजाल
२ फागुन २०८२ ८:३६
232
Shares

कुनै कुरा प्राप्तिको लागि जसरी खोज जरुरी छन्
त्यसरी नै यो सृष्टिकर्तालाई भेटिने तीन कुरा छन्
नाथ ती दिब्य ज्योति कहाँ ती बस्दछन्
परमात्मा, भगवान भन्ने कुन रुपमा मस्तछन्।

विज्ञानमा ती बस्तैनन् जड बन्छन् सबैकुरा
ज्ञानको अध्यात्ममा बस्छन् बुझ यो सबैकुरा
नलेऊ घमण्डको भाब लेउ भक्ति भाबका कुरा
नरम पानी झैं भइदेऊ हो उ हलुका फूलका थुंगा।

अब राख मनमा भाब भक्ति ज्ञान र बैराग्य
भक्ति विश्वासमा राख बनाऊ एक तिम्रो आधार
विश्वासमा सबै खुल्छ मनका सबै बाक्ला पर्दा
हटाऊ काम क्रोध लोभका बाधा त्यो पर्दा खुल्दा।

बनाउ आफूलाई एक मानिस परबाट मानव
हटाऊ आफू भित्रका राबणवृत्तिका दानव
प्रकाश ज्ञानीको जस्तै फैलियोस् तिमी भित्रमा
धारा आँसुको बगी जाओस् ज्ञान भक्ति बिबेकमा।

ज्ञानको महासागरमा बैरागी त्यो मनमा मिलोस्
रिसराग नाफाहानि सब हटी हृदयमा फूल फुलोस्
जीवनका सब मनका धारा कृष्ण बन्दनामा रहोस्
भक्ति भाब र बैरागीमा सधैं मन त्यो बसोस्।

बसेका भगबतमा श्रीकृष्ण पाना पाना उठीकन
आउँछन् भक्तका अगाडि उनी नाचीनाचीकन
मीरा झैं बन बैरागी कृष्णको मात्र भक्तिमा
पाए कृष्णले मीरा आफ्नो धरा धाममा।

हरेक काममा सबले गोविन्द गोबिन्द भजी रहे
एकाग्र मनले त्यो गोविन्दको नाम जपी रहे
भगवान आफैं बन्छौ परमात्माको गीत गाइरहे
यही हो भगवानको भेट आफैं भगवान जो हुने।

सुन्दरता

सुन्दरता एक अनमोल हार हो
यो जीवनको एक उपहार हो
काया जीवनको प्रेम सुन्दरता कहलाउँछ
भित्रको जीवनलाई चम्किलो बनाउँछ,

यो हाम्रो आत्मामा बसेको हुन्छ,
जसले हाम्रो जीवनमा महिमा बढाउँछ
सुन्दरता हाम्रो आँखामा छ,
हाम्रो हृदयमा छ, आत्मामा छ

हाम्रो बिचारमा छ र बिचारमापनि छ,
सुन्दरता एक अविरल शक्ति हो,
जसले हामीलाई बलियो बनाउँछ।

यसले हामीलाई सजिलो बनाउँछ र
अर्काको जीवनमा पनि सकारात्मकता पैदा गर्दछ
यो अनमोल उपहार हो, यो चम्किलो छ
सुन्दरता मनको प्यासी भित्र भित्रै हसाउँछ

दया माया र प्रेममा यो हाँसी रमाउँछ
लागेको दागका बादल हावाले उडाउँछ
नीलो आकासमा सूर्यझैं तेजिलो बनाउँछ
सबै तारा बनुन् म चन्द्रमा बनीरहुँ

म आकासमा ज्योति फैलाई रहुँ
धर्तीमा म सधैं उज्यालो पारी रहु
म सधैं सुन्दरताको गीत गाइ रहु
म सधैं सुन्दरताको गीत गाइ रहुँ।

भाग्य

भाग्य कहाँ सबैको एकै हुन्छ र
कोही पत्नीसँग बिछोडिएका छन् त
कोही मातापितासँग बिछोडिएका छन्।
कोही भाइ बहिनीसँग बिछोडिएका छन् त
कोही आफन्तसँग बिछोडिीएका छन्।

मानिसको के कुरा देवताकोपनि उही कुरा
भाग्यले कसैलाई छोड्दैन यही हो जीवनको लिला।
शिवजीपनि रोएथे सतिदेबीको बिछोडमा
रामैपनि वनवन घुमेथे सीताजीको खोजमा।

कृष्ण योगेश्वरपनि रोएथे राधाको बिछोडमा
हामी मानिसहरु त के हो भाग्यको नजरमा।
भाग्यलाई नसम्झ सानो ठूलो हुनपनि सक्तछ
गरीबलाई धनी बनाइ धनीलाई थचार्न सक्तछ।

कर्मको हातले नै भाग्यको जन्म गराउँछ
हिँड्ने दुई खुट्टाले नै भाग्य बलियो बनाउँछ।
भाग्यमा थोर आशा राखी कर्म नै गरने गर
भाग्यमा छ भन्दैमा डोकोमा दुध नभर्ने गर।

इमान्दार बनी सधैं कर्ममा लागने गर
कर्मै छोड्यौ भने फेरि दुःख भोग्नु पर्ला हेर।
आफ्नो काममा लाग आशा कसैको नगर
भाग्यलाई सम्झी सम्झी रुने कहिल्यै नगर।

भाग्य एउटा विश्वाश हो गर या नगर
कर्म तिम्रो कर्तब्य हो यसैमा विश्वाश गर
कर्म तिम्रो कर्तब्य हो यसैमा विश्वाश गर।

प्रकृतिकी छोरी

बिरलै भेटिने त्यो सुन्दर प्रकृतिकी छोरी
जहाँ मधुरो सुसेलिमा हावा मिठो बग्दछ
देख्छु तिनका नरम कपाल नदी सरह बग्दछ
ती कपालका चुल्ठा टाढा टाढा स्वतन्त्र बग्दछ

बर्षातको बसन्त ऋतुमा छरिएका सबै कपाल
एकै ठाउँमा गुजुल्टो पारी राखेको जप्प बादल
उनका आँखाका ज्योति नील कमल सरी झल्केको
मानौकि यो धर्तीमाथि नयाँ नीलो आकास खुलेको

उनका छाला, निधार जस्तो सफा र नरम रहेको
उनका ती सौन्दर्यले सारालाई निम्त्याई रहेको
उनको मायाको काखमा राख्न उक्साई रहेको
उनका मधुर हावाको बोलीले आत्मा हाँसीरहेको

लाग्छ, संगीत कक्षमा लामो संगीत बजिरहेको
लाग्छ सम्पूर्ण हृदय भित्र बिश्व नै झल्कीरहेको
उनका जलवृष्टिका स्पन्दनले हरेक फूल फूलीरहेको
रंगी बिरंगी फूलका ती शोभाले कोठा रंगिएका

उनले लगाएकी गाउन नीलो र सुनौलो रंगले भरिएको
यसो हेर्दा उनको सौन्दर्यले शिखरमा चुमेको
कहिल्यै बुढ्यौलीले नछोएको सधैं जवान देखिएको
उनका शीरका श्रीपेचमा नौलाख तारा जडिएको

यसो हेर्दा एक स्वर्गकी परी जस्ती घुमिरहेकी
मानौकी उनले आनन्दसँग आकास चुमीरहेकी
यस्तो प्रकृतिकी अमूल्य छोरी विश्वको एक ढुकुटी
अद्वुतीय सौन्दर्यको खानी जो अतुलनीय छ भृकुटी

जसले मनलाई प्रेरणा दिई आत्मालाई शान्त गराउँछ
र मधुर सम्झनाले जीवनको सम्पूर्ण सौन्दर्य खुलाउँछ
र मधुर सम्झनाले जीवनको सम्पूर्ण सौन्दर्य खुलाउँछ।

कविको कबिता

कविको कबिता हेर घटना र महिमाको
सुन्दैनन् कोही ज्ञानी नसुनी अभिमानको
बन्द छन् सबै आँखा नाक कान सबैकुरा
दम्भले भरिपूर्ण भएको अज्ञानका छुरा।

कवि कुद्छन् कता बटुली मनका ब्यथा
लेखे लिपिबद्ध गरी स्वर्ग नर्कका कुरा
आफू हाँसे स्वर्ग देखिन्छ रोए नर्क सबै
ज्ञानी हाँसी मर्दछन् रोइ मुर्ख अति खुबै।

बुझे भाबको बेग कविता अंशका जुनैकुरा
रोएर भाब पोखिन्छन् प्रत्येक अंशका कुरा
नबुझे भावका अंश पखालिन्छन् जुनैकुरा
सडकमा कुल्चदै जान्छन् कवि भावका कुरा।

कवि सिर्जनशिल हुन्छन् आकासमा उडी
बढाडी सब ल्याउँछन् ती तारा झिलिमिली
अरुको सबकुरा हेरी लेख्छन् कथाको ब्यथा
जनताहरुले भोगेका ती सब व्यथाको कथा।

कबि मनको कुरा झिकी उनी लेख्दछन्
मनका सबकुरा पोखी कवितामा उतार्दछन्
कविको खुबीका कुरा भनी साद्धे नसक्नुछ
उनका दुःख सुखका कबिता साह्रैनै मनछुने पो छ।

ईश्वरको सृष्टि

ईश्वरको खेल सृष्टिमा जन्म लिए यहाँ
नेपाल मेरो भूगोल छ कति सानो यहाँ

विश्वमा कनिका जस्तो देश सानो नेपाल
सेता पहाड चाँदी पोते झैं ती हिमका पहाड

आहा कति राम्रो ती गौंथलीले सुसेलेको गीत
भाखा सुन्दा मनको आँखामा मिलेको मित

निधार मेरो बिशाल भाग्य मेरो अमिट छ
देशको भाग्य रेखाभने कति च्यातिएको छ।

सुन्दा अचम्म लाग्दो किन मेरो देश गरीब छ
अरु विश्वका देशहरु हेर किन त्यो अमीर छ

माटो सबैको एकै छ पहाड र पखेराहरु
उन्नति किन बेगलै छ अग्ला अग्ला घरहरु

कामैकाम गरी बस्ने सभ्य देशहरु कत्ति छन्
बदमासी गरी बस्ने मेरै देश बासिहरु नै छन्

गरे गर्न नसक्ने के छ छ यो विश्वमा सबै
भाग्यले किन धिक्कारेको होला नेपालैमा खुबै

सधैं आन्दोलन गरी बस्ने नेपाली छन् देशमा
अकुत सम्पत्ति कमाई बस्ने नेता छन् भूमिमा

के मा बिकास भो कुन्नि थाह छैन सहरमा
बोलीमात्र फुटी रहने नेता बसेका छन् महलमा

ईश्वरको सृष्टिमा किन मानिस अपूर्ण छ
भावीले लेखेको भाग्यमा किन यस्तो बिनास छ।

भाग्यमा कुन्नि के लेखिएको छ त्यो म जान्दिन
कर्म नै भाग्यको नापो हो अरु सब केही भन्दिन

कर्म गरे सबै मिल्छ, बिस्तारै मिल्छ सब कुरा
भाग्य कै भरमा परे बितिहाल्दछ सबै कुरा

ईश्वरको सृष्टि भए बिभेद हुँदैनथ्यो
मानिसको सृष्टिमा मात्र तलमाथि हुने हो यो

सृष्टि, भाग्य कुनै छैन कल्पनामात्र हो सबै
जन्म कर्म नै हो सब्बै नरोक कर्म त्यो कुनै

पलाउनेछ भाग्यका टुसा यदि कर्म गर्यौ भने
पछुताउनु पर्ला है यदि अल्छीबनी बस्यौ भने
पछुताउनु पर्ला है यदि अछी बनी बस्यौ भने।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *