साहित्यकार आचार्य सम्मानित
वीरगन्ज (पर्सा) । ‘बिहारीलाल लाठ कर्मवीर सम्मान’बाट साहित्यकार तथा पत्रकार मुकुन्द आचार्य सम्मानित भएका छन्।
रिलिफ सोसाइटी अफ कमर्सले संस्थाका संस्थापक महासचिव तथा पूर्व अध्यक्ष स्वर्गीय बिहारीलाल लाठको १४औं पुण्यतिथिका अवसरमा आज यहाँ आयोजित कार्यक्रममा आचार्यलाई दोसल्ला ओढाई सम्मानपत्रसहित सम्मान गरिएको हो। साहित्यकार आचार्य विगत पाँच दशकदेखि नेपाली भाषा तथा साहित्य, भोजपुरी भाषा–साहित्य, शिक्षण र पत्रकारिता क्षेत्रमा सक्रिय छन्।
मधेश विश्वविद्यालयका उपकुलपति डा दीपक शाक्य, वीरगन्ज उद्योग वाणिज्य सङ्घका अध्यक्ष हरि गौतम तथा संस्थाका अध्यक्ष योगेन्द्रप्रसाद यादवलगायतले संयुक्त रूपमा आचार्यलाई सम्मान गरेका थिए।
सोही अवसरमा समाजका विभिन्न क्षेत्रमा योगदान पुर्याउने जिल्ला निर्वाचन कार्यालय पर्साकी प्रमुख अनामिका रौनियार, योग प्रशिक्षक रामप्रसाद पण्डित, पाइलट सौरभ रौनियार, उद्यमी दिप्ती धुरका र शिक्षिका डा नेहा अग्रवाललाई पनि सम्मानपत्रले सम्मान गरिएको थियो।
संस्थाका सल्लाहकार गणेशप्रसाद लाठले समाजमा उल्लेखनीय काम गर्दै आएका व्यक्तित्वलाई सम्मान गर्ने परम्पराको सुरुवात गरेको बताए। उपकुलपति शाक्यले समाज निःस्वार्थ रूपमा योगदान गर्ने व्यक्तिलाई सम्मानित गर्नु उदाहरणीय र सराहनीय कार्य भएको बताए।
सम्मानित व्यक्तित्व आचार्यले सम्मानले आफूलाई थप हौसला र प्रोत्साहन मिलेको बताए।
No ads found for this position

डिसी नेपाल
Facebook Comment