निबन्ध : धुलोपिठोको देश

ज्ञानेन्द्र विवश
३० फागुन २०८२ ७:३०
72
Shares

कहिलेकाहीँ लाग्छ- यो देश कुनै विशाल चोकमा राखिएको धुलोपिठोजस्तै हो। जसले पनि हात हालेर आफ्नो इच्छानुसार चलाउन खोज्छ। हावा चल्यो भने पात मात्रै हल्लिँदैन, धुलो उड्छ, आँखा पोल्छ। फेरि त्यही उडन्ते नियति। यही धुलोपिठोको बीचमा हामीले राजनीति, आशा, भरोसा र भविष्यका सपना पनि साटासाट गरेका छौँ।

धुलोपिठो, कन्तबिजोक, हरिबिजोग- यी शब्दहरू शब्द होइनन्, समयका चिह्नहरू हुन्। जब मानिसले धेरै आशा गरेर कसैलाई माथि उकास्छ, तर अन्त्यमा हातमा केही पर्दैन, तब जीवनमा यस्तो शब्दको प्रयोग हुन्छ। राजनीति पनि कहिलेकाहीँ यस्तै लाग्छ– एक किसिमको धुलोपिठोको खेल, जहाँ हातमा समातेको कुरा पनि अन्त्यमा धुलोझैँ उडेर जान्छ।

हामीले धेरै पटक विश्वास गर्‍याैं। विश्वासको आकाशमा धेरै पतंग उडायौं। चुनावका बेला गाउँका बाटाहरूमा हाँस्दै हिँड्ने अनुहारहरू देख्यौं, हात मिलाएर भविष्यका उज्याला चित्र कोरिएको सुन्न पाइयो। तर समयको केही वर्ष बित्न नपाउँदै ती चित्रहरू वर्षाको पानीमा भिजेका पोस्टरझैँ मेटिँदै गए। त्यसबेला मनले भन्छ- ‘नेताले झुक्याए देश बर्बाद हुने रहेछ।’

देश भनेको नक्सामा कोरिएको रेखा मात्र होइन। देश भनेको खेतमा पसिना बगाउने किसान हो, शहरमा पसिना झार्ने मजदुर हो, विद्यालयको घण्टी सुन्दै भविष्यको सपना देख्ने विद्यार्थी हो। जब उनीहरूका आशाहरू बारम्बार तोडिन्छन्, तब देशको मुटुमा नै आघात पर्छ। अनि त्यही चोटले कहिलेकाहीँ ‘कन्तबिजोक’ बनेर समाजभरि गुन्जिन्छ।

चुनाव भनेको खेलाँची खेल होइन विश्वासको मत हो। देशसेवाको अवसर हो। सोझासिधा जनतालाई फकाई फुल्याई मत मागेर मत्याँइ गर्नु घोर निन्दनीय कुरा हो। आजसम्मका नेतृत्वकर्ताहरूले जनतालाई यसरी नै झुक्याइरहे। बारम्बार मीठो आश्वासन मात्र बाँडिरहे।

तर कथा यतिमै टुंगिँदैन। समयले अर्को सत्य पनि देखाउँछ- ‘जनताले झुक्याए नेता पनि बर्बाद हुने रहेछन्।’ जब जनताको विश्वास हराउँछ, जब आँखामा शङ्का भरिन्छ, तब सिंहदरबारका अग्ला पर्खालहरू पनि कमजोर महसुस गर्न थाल्छन्। जनताको मौनता कहिलेकाहीँ सबैभन्दा ठूलो निर्णायक मोडमा पुग्छ।

यो खेल साँच्चै गजबको छ। यहाँ जित्ने र हार्नेको सीमा कहिलेकाहीँ छुट्याउनै गाह्रो हुन्छ। नेताले जितेझैँ देखिए पनि यदि जनता हारे भने त्यो जित वास्तवमा हार नै हुन्छ। अनि जनता आक्रोशित भएर एकजुट बने भने शक्तिशाली देखिने नेताहरू पनि समयको भेलमा बग्न सक्छन्।

प्रकृतिले पनि हामीलाई यही पाठ सिकाउँछ। नदीले आफ्नो बाटो छाड्दैन, तर जब उसलाई धेरै थुन्न खोजिन्छ, तब ऊ बाढी बनेर फर्किन्छ। समाज पनि त्यस्तै हो- विश्वासलाई धेरै पटक चोट पुग्यो भने त्यो मौनता बाढी बनेर सबै हिसाब माग्न थाल्छ।

यसैले यो देशको भविष्य न नेताको मात्रै हातमा छ, न जनताको मात्रै। यो त दुबैको साझा जिम्मेवारी हो। विश्वासको धागो दुबैतिरबाट मजबुत बन्यो भने मात्र समाजको कपडा फाट्दैन। नत्र त इतिहासले फेरि फेरि त्यही शब्द दोहोर्‍याइरहन्छ- धुलोपिठो, कन्तबिजोक, हरिबिजोग।

तर अझै आशा मरेको छैन। किनकि यो देशको माटोले धेरै पटक हरिबिजोग देखे पनि फेरि हरियो अंकुर फुलाएको छ। मानिसले धोका पाए पनि फेरि विश्वास गर्न सिकेको छ। यही आशाको सानो दीपकले भोलिको उज्यालो सम्भव बनाउँछ।

सायद यही कारणले हामी अझै पनि भन्छौं- यो खेल गजब भयो, तर खेलकै बीचमा जीवनको पाठ पनि लुकेको छ। यदि विश्वास जोगियो भने देश बाँच्नेछ, यदि विश्वास हरायो भने फेरि धुलोपिठो मात्र बाँकी रहनेछ। खरानी मात्र बाँकी रहनेछ। प्रदूषित धुवा मात्रै बाँकी रहनेछ।

अन्ततः सितिमिति खोला खहरे गडगडाएर बगाउन सक्दैन त्यो। लर्तरो गालीले डग्नेवाला छैन त्यो। खरानी हुँदा पनि खरो खरो उत्रनसक्ने। धुवा बनेर धुलोपिठो हुँदासमेत अहमको पराकाष्ट नाग्ने !

जनताले पनि कति सहनु, कति धैर्य गर्नु कति पर्खिनु कति आशाको घिडघिडोमा बाँच्नु ? आखिर जनताको मत न हो जहाँ जो कसैको केही लागेन जनताको शक्ति नै सर्वोपरि हुँदोरहेछ। जनताको निर्णय नै सर्वाधिक शक्तिशाली बन्न सक्दोरहेछ। आखिर यहाँ कसको के लाग्यो र नसोचेको परिणाम भयो। नसोचेको दिन आयो।

काम लिनुपरेपछि खुट्टै ढोग्ने। जस्तोसुकै काम पनि सघाउन तत्पर हुने। मरिहत्ते गर्ने, मरौँला झैँ गर्ने। भातै खुवाइदिन्छु भन्ने ! पानी तताएर दिन्छु भन्ने ! तर जब जितिसकेपछि त्यो गाउँमा, त्यो गोरेटोमा, पाइलै टेक्न नआउने। विश्वासलाई घात गर्ने।

स्वार्थका शिखर पुरुषहरू निःस्वार्थी मनहरूलाई निचोर्नुसम्म निचोरेर थिलिपितिली पारेर छोड्ने। किचिलीघान गरेर लत्याइदिने। काम सर्‍यो भाँडो आफूतिर ठाँडो भनेझैँ जितिसकेपछि राजधानीतिरै भुलिने। गाउँतिर किन फर्किनु पर्‍यो। बाटो बिरानो हुने। मान्छे अपरिचित लाग्ने।

तर यति हुँदाहुँदै पनि एउटा ठूलो कुरा हामीले कहिल्यै बिर्सनु हुँदैन- हामीले आपसमा झगडा गरेर पराईलाई हसाउनु उचित कदापि पनि हुँदैन। जब घरभित्रकै मानिसहरू एकआपसमा तिक्तता बोकेर भिड्छन्, तब बाहिरका मानिसहरूका लागि त्यो तमाशा बन्छ। आफ्नो पीडालाई आफैँले चर्को आवाजमा बजाउँदा अरूका कानमा त्यो मनोरञ्जनजस्तै सुनिन सक्छ।

बरु यस्तो होस्- हामी रोएर अरू हाँसुन्। त्यो हाँसोको अर्थ उनीहरूले बुझ्न सकून्। उनीहरूले आफैँसँग प्रश्न गरून्- किन आफू रोएर पनि यी मानिसहरू हामीलाई हँसाइरहेका छन् ? त्यही प्रश्नभित्र एउटा सन्देश लुकेको हुनेछ। यस्तो सन्देश, जहाँ हाम्रा पीडामा पनि हामी हाँस्न सक्छौँ; दुःखमा पनि हामी हातेमालो गरेर अगाडि बढ्न सक्छौँ; अभावका अँध्यारामा पनि हामी पूर्णताको उज्यालो देखेर मिलिजुली बाँच्न सक्छौं।

किनकि अन्ततः हाम्रो वास्तविक शक्ति बाहिरबाट आउने सहारामा होइन, भित्रबाट उठ्ने आत्मविश्वासमा हुन्छ। हामीलाई कसैको सहाराको जरुरत छैन। यो माटो आफैँमा उर्वर छ, यो आकाश आफैँमा फराकिलो छ, यो समाज आफैँमा जीवित छ।

हामी स्वाभिमानी मानिस हौं- स्वतन्त्र र सार्वभौम देशका नागरिक। हामीलाई कसैको कृत्रिम सद्भावको, कसैको शंकालु मायाको, कसैको दयाको छायाँको आवश्यकता छैन। यदि मित्रता आउँछ भने त्यो समानताको आधारमा आओस्, सम्मानको आधारमा आओस्-नत्र हामी आफैँ पर्याप्त छौं। किनकि सत्य यही हो- हामी आफैं पूर्ण छौं। हामी कोही पनि कहिल्यै पनि अपूर्ण कदापि छैनौं।

यही आत्मविश्वासको उज्यालोमा धुलोपिठोका दिनहरू पनि एकदिन इतिहासका कथा मात्र हुनेछन् र हरिबिजोगका शब्दहरू फेरि जीवनका उत्सवमा रूपान्तरित हुनेछन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.