जुम्लाका ८ स्थानीय तहका किशोरीलाई एचपीभी खोप लगाइने
मुगु। जुम्ला जिल्लामा १० देखि १४ वर्ष उमेर समूहका १ हजार २ सय ७७ जना किशोरीलाई पाठेघरको मुखको क्यान्सर विरुद्धको एचपीभी खोप लगाइने भएको छ।
चैत ९ र १० गते दुई दिनसम्म सञ्चालन हुने अभियानका लागि अन्तिम तयारी पूरा भएको जनाइएको छ। सामुदायिक तथा निजी विद्यालयमा कक्षा ६ मा अध्ययनरत १ हजार १६५ जना छात्रालाई खोप लगाइनेछ भने विद्यालय बाहिर रहेका १० वर्ष उमेर समूहका १ सय १२ जना किशोरीलाई पनि खोप दिइनेछ।
राष्ट्रिय खोप अभियान अन्तर्गत यसअघि छुटेका किशोरीहरूलाई समेट्ने उद्देश्यले पुनः खोप कार्यक्रम सञ्चालन गर्न लागिएको हो। जिल्लाका ८ स्थानीय तहका ८४ वटा विद्यालयमा खोप केन्द्र स्थापना गरिएको छ।
गाउँपालिकागत विवरणअनुसार चन्दननाथमा २ सय ७७, तातोपानीमा १ सय ६४, गुठीचौरमा ७७, पातारासीमा २ सय २१, तिलामा १ सय ८५, हिमामा २ सय २१, सिजामा १ सय ३५ र कनकासुन्दरीमा १ सय ७७ जना किशोरीलाई खोप लगाइनेछ।
यसका लागि जिल्लास्तरमा अभिमुखीकरण कार्यक्रम सञ्चालन गरिएको जनस्वास्थ्य कार्यालय जुम्लाका प्रमुख किरण शर्माले जानकारी दिए। उनले भने, ‘गत वर्ष कक्षा ७ देखि १० सम्मका किशोरीलाई खोप दिइएको थियो भने यस वर्ष कक्षा ६ मा अध्ययनरत किशोरीलाई मात्र खोप दिइनेछ।’
एचपीभी खोप अभियान नेपाल सरकारको उच्च प्राथमिकतामा रहेको उनले बताए। बाल मृत्युदर घटाउन र रोग प्रतिरोधात्मक क्षमता वृद्धि गर्न खोप महत्वपूर्ण मानिन्छ। अभियानबाट कोही पनि नछुट्ने र नदोहोरिने गरी प्रभावकारी रूपमा सञ्चालन गरिने तयारी गरिएको छ।
नेपालमा वि.सं. २०३४ सालदेखि नियमित खोप कार्यक्रम सञ्चालन हुँदै आएको छ।







डिसी नेपाल







Facebook Comment