युद्धको छायामुनि मानवता: कूटनीतिक समाधानका सम्भावना
मानव सभ्यताको इतिहासभरि एउटा सत्य बारम्बार प्रकट हुँदै आएको छ- बाहिरी प्रगतिले सधैँ भित्रि परिपक्वता सुनिश्चित गर्दैन। विज्ञान, प्रविधि र संरचनागत विकासले संसारलाई उल्लेखनीय उचाइमा पुर्याए पनि मानव मन अझै पनि अहंकार, तृष्णा र वर्चस्वको चाहनामा गहिरोसँग जकडिएको छ। आज शक्तिशाली राष्ट्रहरूले आफ्नो सैन्य क्षमता विस्तार गरिरहेका छन्, ब्यालिस्टिक मिसाइलहरू, ड्रोनहरू युद्धमा प्रयोग भइरहेका छन्। तर, अविश्वास, भय र प्रतिस्पर्धाको छायाँ अझै पनि विश्व चेतनामा बाक्लै छ।
युद्ध हतियारबाट सुरु हुँदैन। युद्ध सुरु हुन्छ मानव मनबाट, उसको अहंकार, असुरक्षा र अनियन्त्रित महत्वाकांक्षाबाट। जब चेतना अन्धकारतर्फ मोडिन्छ, राष्ट्रहरू पनि त्यही दिशातर्फ तानिन्छन् र त्यसका परिणाम निर्णयकर्ताहरूले होइन, विश्वभरका सामान्य नागरिकहरूले भोग्नुपर्छ।
शक्तिशाली राष्ट्रहरू प्रायः शक्ति प्रदर्शनमा संलग्न हुन्छन् तर यस्ता कार्यको प्रत्यक्ष परिणाम उनीहरूलाई भोग्नुपर्दैन। पीडा भोग्नेहरू किसान, मजदुर, चालक, शिक्षक, अभिभावक र बालबालिका हुन्। युद्धको धुवाँ राजनीतिक नेतृत्वका भवनसम्म नपुग्ला। तर, त्यो धुवाँ सामान्य जनताको भान्सा, फोक्सो र दैनन्दिन जीवनमा अवश्य प्रवेश गर्छ। इन्धनको मूल्य ११५ प्रतिशतले बढ्नु केवल आर्थिक तथ्य होइन, यो मानव पीडाको मौन चिच्याहट हो। सवारी चलाउन नसक्ने चालकको निराशा, बजारमा बढ्दो मूल्यसँग जुध्नुपर्ने परिवारको संघर्ष र दैनिक खर्च धान्न नसक्ने मजदुरको चिन्ता सबै द्वन्द्वका अदृश्य घाउहरू हुन्।
युद्धको आर्थिक लागत अकल्पनीय हुन्छ। इतिहास हेर्दा पहिलो विश्वयुद्ध, दोस्रो विश्वयुद्ध र अनगिन्ती क्षेत्रीय द्वन्द्वहरू एक प्रश्न बारम्बार उठ्छ। यति ठूलो धन–स्रोत मानव कल्याणमा किन लगानी गरिएन? हतियार निर्माणमा प्रयोग भएको स्रोतले विद्यालय, अस्पताल, घर र दिगो समुदायहरू निर्माण गर्न सक्थ्यो। तर, इतिहासले देखाएको छ, युद्धले केवल विनाश जन्मायो। विश्वयुद्धहरूबाट मानवताले के प्राप्त गर्यो? केवल राख, आँसु, र मौन पीडा।
दार्शनिक दृष्टिले हेर्दा, युद्ध केवल बाहिरी घटना होइन, यो मानव चेतनामा उत्पन्न असन्तुलनको प्रतिबिम्ब हो। जब चेतना कमजोर पर्छ, शान्ति क्षीण हुन्छ। जब शान्ति क्षीण हुन्छ, मानवता नै जोखिममा पर्छ। “राष्ट्रहित”को नाममा गरिने निर्णयहरू पनि तब प्रश्नमा पर्छन्, जब तिनले संरक्षण गर्नुपर्ने जनतामै भय, असहजता र अनिश्चितता थप्छन्।
युद्धमा कसैको वास्तविक विजय हुँदैन। युद्धले मानवता, करुणा, सत्य र आशालाई नष्ट गर्छ। “विजयी” भनिएका पक्षहरूले पनि केही न केही गुमाउँछन्, शायद विवेक, शायद करुणा, शायद नैतिक आधार। युद्धको धुवाँले आकाश ढाक्न सक्छ तर मानव मनमा उठ्ने धुवाँ भय, अनिश्चितता, असहायता झनै घातक हुन्छ। यद्यपि, यही अन्धकारबीच मानवता सधैँ एउटा सानो उज्यालो खोजिरहन्छ शान्तिको, सहअस्तित्वको र समझदारीको।
सामान्य नागरिकहरूसँग युद्ध रोक्ने औपचारिक शक्ति नहुन सक्छ तर उनीहरूको आशा, प्रार्थना र शान्तिको चाहना अत्यन्त गहिरो नैतिक महत्व राख्छ। प्रार्थना दुर्बलता होइन, यो मानवताको अन्तिम नैतिक शक्ति हो। यही शक्ति नै विश्व समुदायलाई शान्तितर्फ उन्मुख गराउन सक्षम हुन्छ। मानिसहरू द्वन्द्वको अन्त्य, मूल्य स्थिरता र सामान्य जीवनमा फर्किन चाहन्छन्। तर, युद्ध सुरु गर्नेहरूलाई युद्ध रोक्न समय लाग्छ, जबकि युद्धको असर भोग्नेहरूलाई प्रत्येक दिन भारी पर्छ।
शान्ति बाहिरबाट आयात गर्न सकिने वस्तु होइन, शान्ति चेतनाबाट जन्मिने अवस्था हो। जब शान्ति मानव मनमा जन्मिन्छ, त्यो परिवार, समुदाय, राष्ट्र र अन्ततः विश्वभर फैलिन्छ। युद्ध रोक्ने औपचारिक अधिकार राष्ट्रहरूसँग होला तर युद्ध रोक्ने वास्तविक इच्छा केवल जागृत चेतनाबाट उत्पन्न हुन्छ। जब चेतना जागृत हुन्छ, अहंकार विलीन हुन्छ। जब अहंकार विलीन हुन्छ, द्वन्द्व समाप्त हुन्छ। र जब द्वन्द्व समाप्त हुन्छ, मानवता पुनर्जन्म हुन्छ।
आज विश्व त्यही पुनर्जन्मको प्रतीक्षामा छ। सामान्य जनताको प्रार्थना यही आशामा टाँसिएको छ—कि एक दिन शक्तिशाली राष्ट्रहरूले शक्ति होइन शान्ति, अहंकार होइन करुणा, र विनाश होइन मानवता रोजुन्। किनकि अन्ततः विश्वको स्थिरता युद्धले होइन, शान्ति, संवाद र सहकार्यबाट सुनिश्चित हुन्छ।















Facebook Comment