सामान्य बाथ ठान्दा मिर्गौला र आँखा नै गुम्ने खतरा: के हो भास्कुलाइटिस रोग?
हाम्रो समाजमा जीउ दुख्यो, झमझम भयो वा हातखुट्टा गल्यो भने धेरैले त्यसलाई ‘नसा बाथ’ भन्ने गर्छन्। कतिपयले त खुट्टामा देखिने फुलेका नीला नसासँग पनि यसलाई जोड्ने गर्छन्।
तर, ती फुलेका नीला नसा सर्वथा बेग्लै कुरा हुन्। ती त रगतलाई पुनः मुटुतिर फर्काउने सामान्य नसा मात्र हुन्, जसलाई चिकित्सा विज्ञानमा ‘वेरिकोज भेन्स’ भनिन्छ। यस आलेखमा ‘भास्कुलाइटिस’का बारेमा चर्चा गरिएको छ, जसलाई नेपालीमा सरल रूपमा रक्तनलीको सुजन भन्न सकिन्छ।
यो रोग बुझ्न पहिले हाम्रो शरीरभित्रको सुरक्षा प्रणाली (प्रतिरोधात्मक क्षमता) लाई थाहा पाउनुपर्छ। जसरी देशको सेनाले बाहिरी शत्रुसँग लड्छ, त्यसैगरी यो प्रणालीले शरीरभित्र पस्ने कीटाणु र रोगसँग लड्छ।
तर, कहिलेकाहीँ यो प्रणालीले गल्ती गर्छ र शत्रु चिन्न नसकेर आफ्नै शरीरका स्वस्थ भागमाथि नै आक्रमण गर्न थाल्छ। यस्तो अवस्थालाई ‘अटोइम्युन’ रोग अर्थात् आफैँले आफूलाई हान्ने रोग भनिन्छ।
भास्कुलाइटिस यस्तै एउटा अटोइम्युन रोग हो, जसमा शरीरको सुरक्षा प्रणालीले आफ्नै रक्तनलीमाथि आक्रमण गरेर तिनलाई सुन्निने बनाउँछ। रक्तनली सुन्निँदा मुख्यतया तीनवटा गम्भीर समस्या हुन सक्छन्।
पहिलो, यसबाट नली साँघुरो हुन्छ र सम्बन्धित अङ्गमा रगत कम पुगेर त्यो कमजोर हुन थाल्छ। दोस्रो, नली पूरै बन्द हुँदा रगत र अक्सिजन नपुगेर त्यो अङ्ग मर्न थाल्छ।
तेस्रो भनेको नली कमजोर भएर फुट्छ र शरीरभित्रै आन्तरिक रक्तस्राव हुन्छ, जुन ज्यानका लागि घातक हुन सक्छ। तर, सकारात्मक पक्ष के हो भने यो रोग धेरै कम मानिसमा मात्र देखिन्छ। नराम्रो पक्ष चाहिँ यो रोग देखिएमा निकै गम्भीर हुन सक्ने भएकाले समयमै चिन्नु र चिकित्सककहाँ पुग्नु नै सबैभन्दा ठूलो कुरा हो।
यथार्थमा भन्नुपर्दा, धेरैजसो अवस्थामा यो रोग किन लाग्छ भन्ने ठ्याक्कै कारण थाहा हुँदैन। शरीरको सुरक्षा प्रणाली किन अचानक आफ्नै रक्तनलीप्रति आक्रामक बन्छ, त्यो अझै पूर्ण रूपमा बुझिएको छैन।
तैपनि कलेजोको सङ्क्रमण (हेपाटाइटिस ‘बी’ वा ‘सी’), केही औषधिको कडा प्रतिक्रिया वा क्यान्सर रोगसँग यो सम्बन्धित हुन सक्छ।
केही व्यक्तिमा कडा सङ्क्रमण वा खोपपछि पनि यो देखिएको रिपोर्ट भए पनि यस्तो निकै कम हुन्छ। त्यसैले खोपको फाइदा यस्ता दुर्लभ जोखिमभन्दा निकै गुणा ठूलो हुने भएकाले खोप लगाउन छोड्नु हुँदैन।
भास्कुलाइटिसले शरीरका कुन आकारका रक्तनलीलाई असर गरेको छ, त्यसै अनुसार लक्षणहरू फरक हुन्छन्। मुख्यतया यसका तीन प्रकार भए पनि लक्षणको सूचीमा अल्झिनुभन्दा कुनै पनि असामान्य लक्षण देखिएमा ढिलो नगरी चिकित्सकलाई देखाइहाल्नुपर्छ।
पहिलो, सानो रक्तनलीको सुजन हुँदा छालामा, खासगरी खुट्टातिरबाट सुरु भएर गाढा राता साना थोप्ला वा धब्बा देखिन्छन्, जसलाई औँलाले दबाउँदा पनि हराउँदैनन्। यसले भित्री अङ्गलाई पनि असर गर्छ।
फोक्सोमा असर गरेमा लगातार खोकी लाग्ने, खकारमा रगत देखिने र सास फेर्न गाह्रो हुने हुन्छ भने मिर्गौलामा परेमा पिसाबमा रगत वा फिँज देखिन्छ। यो समस्या बालबालिकामा बढी देखिने र आफैँ निको हुने भए पनि वयस्कमा देखिएमा निकै कडा हुन सक्छ।
दोस्रो, मध्यम रक्तनलीको सुजनले भित्री अङ्गमा रगत पुर्याउने नलीलाई असर गर्छ। यसमा धेरै दिनसम्म ज्वरो आउने, शरीर गल्ने, तौल घट्ने र छालामा कडा गिर्खाहरू आएर पछि निको नहुने घाउ बन्न पुग्छन्।
कहिलेकाहीँ हातखुट्टाका औँलामा रगत पुग्नै छोडेर औंलाहरू काला भई सुक्ने र मर्ने अर्थात् ग्याङ्ग्रिनको अवस्था आउन सक्छ। तेस्रो, ठूलो रक्तनलीको सुजन प्रायः ५० वर्षभन्दा माथिका मानिसमा देखिन्छ।
यसमा कन्चटतिर बढी दुख्ने नयाँ किसिमको कडा टाउको दुखाइ, कपाल कोर्दा छाला दुख्ने र केही बेर चपाएपछि बङ्गारा गल्ने हुन्छ। यसमा अचानक आँखा धमिलो हुनु वा देख्नै छोड्नु जस्ता आपत्कालीन लक्षण देखिन्छन्, जसमा ढिलो भएमा स्थायी अन्धोपन हुन सक्छ।
यदि बिरामीमा अचानक आँखा धमिलो हुने, सास फेर्न साह्रै गाह्रो हुने, खकारमा रगत आउने, पिसाबमा रगत देखिने, शरीरको एक भाग अचानक कमजोर भई बोली लर्बराउने वा अनुहार बाङ्गिने जस्ता पक्षघातको संकेत देखिएमा वा औँलाहरू काला हुँदै गएमा तुरुन्तै अस्पताल लैजानुपर्छ।
यो रोग चिन्न चिकित्सकलाई पनि गाह्रो हुने भएकाले रगत जाँचमार्फत शरीरमा सुजनको मात्रा हेर्न ‘इएसआर’ र ‘सिआरपी’ परीक्षण गरिन्छ। साथै मिर्गौला र कलेजोको जाँच, प्रभावित भागको बायोप्सी र रक्तनलीको अवस्था हेर्न एन्जियोग्राम जस्ता विभिन्न विधिहरू अपनाएर मात्र रोगको निष्कर्ष निकालिन्छ।
नेपालमा यी सबै सुविधाहरू काठमाडौँ उपत्यका बाहिर सजिलै उपलब्ध नहुन सक्ने भएकाले लक्षण देखिनासाथ विशेषज्ञ सुविधा भएको ठूलो अस्पताल पुग्नु राम्रो हुन्छ।
यो रोग पूरै निको नभए पनि समयमै उपचार सुरु गरे औषधिको सहायताले राम्ररी नियन्त्रणमा राख्न र अङ्गहरू बिग्रनबाट जोगाउन सकिन्छ। यसमा चिकित्सकले सुजन छिटो घटाउन ‘स्टेरोइड’ औषधि दिन्छन्, जसको मात्रा सुरुमा बढी भए पनि रोग नियन्त्रणमा आएपछि बिस्तारै घटाइन्छ।
यो औषधि आफैँ अचानक छोड्नु अत्यन्तै खतरनाक हुन्छ। यसका साथै अति सक्रिय सुरक्षा प्रणालीलाई शान्त पार्न ‘इम्युनोसुप्रेसिभ’ र केही खास अवस्थामा ‘बायोलोजिक’ औषधिहरू प्रयोग गरिन्छ। नेपालमा जीउ दुख्नासाथ चिकित्सकको सल्लाह बिना मेडिकलबाट किनेर पेनकिलर खाने खराब बानी छ।
भास्कुलाइटिसका बिरामीले आफैँ पेनकिलर खानु हुँदैन, किनभने यसले केही बेर दुखाइ दबाए पनि रोग भित्रभित्रै बढाउँछ र लामो समय खाँदा पेटमा घाउ हुनुका साथै कलेजो र मिर्गौला बिग्रने डर हुन्छ।
कहिलेकाहीँ यो रोगले नसामा असर गरेर हातखुट्टा चलाउन गाह्रो हुँदा वा जोर्नी अररो हुँदा औषधिसँगै नियमित फिजियोथेरापी गराउनुपर्छ। लामो समयको दुखाइ र चिन्ताले बिरामीलाई मानसिक रूपमा पनि कमजोर बनाउने भएकाले परिवारले बिरामीलाई दोष दिनुको सट्टा ढाडस दिने र सकारात्मक वातावरण तयार गरिदिनुपर्छ।
बाथ र रक्तनलीको रोग हेर्ने विशेषज्ञ चिकित्सकलाई रुमाटोलोजिस्ट भनिन्छ। नेपालमा यस्ता विशेषज्ञहरू निकै थोरै छन् र अधिकांश काठमाडौँकै पाटन अस्पताल र त्रिवि शिक्षण अस्पताल जस्ता सरकारी अस्पतालहरूमा केन्द्रित छन्।
घरमा बस्दा बिरामीले चिकित्सकको सल्लाह अनुसार बिहान हिँड्ने, हल्का योग र प्राणायाम जस्ता व्यायाम गर्नुपर्छ भने ताजा र पोषणयुक्त खाना खाँदै चिल्लो, नुनिलो र फास्टफुडबाट टाढै रहनुपर्छ।
धेरै बिरामी सुरुमा झारफुक वा घरेलु उपचारमा मात्र अल्झिएर भित्री अङ्ग बिग्रिसकेपछि मात्र अस्पताल आउने गरेकाले अन्धविश्वासमा परेर समय बर्बाद गर्नु हुँदैन। चिकित्सकले तोकेको समयमा अस्पताल गई रगत, मिर्गौला र कलेजोको नियमित जाँच गराइरहनुपर्छ र औषधि आफैँ बदल्नु वा छोड्नु हुँदैन।
निष्कर्षमा, रक्तनलीको सुजन (भास्कुलाइटिस) सुन्दा डरलाग्दो भए पनि बेलैमा पहिचान गरी विशेषज्ञको निगरानीमा नियमित उपचार गरेमा यसलाई पूर्ण रूपमा नियन्त्रणमा राखेर सामान्य जीवन यापन गर्न सकिन्छ।
(लेखक पाटन अस्पतालका नसारोग विशेषज्ञ हुन्)















Facebook Comment