विशाल लक्ष्य पछ्याएको मुम्बईको हार, आरसीबीको शानदार जित

डिसी नेपाल
३० चैत २०८२ ७:०६
104
Shares

काठमाडौं। इन्डियन प्रिमियर लिग (आईपीएल) २०२६ को २०औँ खेलमा रोयल च्यालेन्जर्स बेङ्गलोर (आरसीबी) ले मुम्बई इन्डियन्सलाई १८ रनले पराजित गरेको छ।

मुम्बईको घरेलु मैदान वानखेडे स्टेडियममा भएको उच्च स्कोरको भिडन्तमा आरसीबीले प्रस्तुत गरेको २४१ रनको विशाल लक्ष्य पछ्याउने क्रममा मुम्बई २२२ रनमा रोकिएको हो।

टस हारेर पहिले ब्याटिङको निम्तो पाएको आरसीबीले निर्धारित २० ओभरमा मात्र ४ विकेट गुमाएर २४० रनको पहाड खडा गर्‍यो। टोलीका लागि ओपनर फिल साल्टले आक्रामक ७८ रनको इनिङ्स खेले।

उनलाई साथ दिँदै कप्तान रजत पाटीदारले मात्र २० बलमा ५३ रनको विष्फोटक अर्धशतक प्रहार गरे। यस्तै, दिग्गज ब्याटर विराट कोहलीले ५० रनको योगदान दिएपछि आरसीबीले यो सिजनकै एक उच्च योगफल तयार पारेको थियो। मुम्बईका बलरहरू आरसीबीका ब्याटरसामु निरीह देखिएका थिए।

२४१ रनको विशाल लक्ष्य पछ्याउन मैदान उत्रिएको मुम्बई इन्डियन्सले २० ओभरमा ५ विकेट गुमाएर २२२ रन मात्र बनाउन सक्यो। मुम्बईका लागि शेर्फान रदरफोर्डले अविजित ७१ रन बनाउँदै जितको आशा जीवित राखेका थिए। कप्तान हार्दिक पाण्ड्याले ४० रन जोडे।

मुम्बईको पारीमा एक ठूलो झट्का तब लाग्यो जब पूर्व कप्तान रोहित शर्मा १९ रनमा खेलिरहँदा घाइते भएर मैदान बाहिरिनु पर्‍यो। रोहितको अनुपस्थिति र आरसीबीको कसिलो बलिङका कारण मुम्बई लक्ष्यभन्दा १९ रनले पछि रह्यो।

यो जितसँगै आरसीबीले अंक तालिकामा आफ्नो स्थिति थप बलियो बनाएको छ भने मुम्बईले आफ्नै घरेलु मैदानमा हारको सामना गर्नु परेको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *