नेपालको रियल-स्टेट बजारमा मधेशप्रदेशको बर्चस्वः नेपाल राष्ट्र बैंक

डिसी नेपाल
३० चैत २०८२ १३:५३
88
Shares

काठमाडौं। नेपाल राष्ट्र बैंकले पहिलो पटक घरजग्गा (रियल-स्टेट) कारोबारको वर्तमान अवस्था र प्रवृत्तिसम्बन्धी विस्तृत तथ्यांक सार्वजनिक गर्दै नेपालको भूमि बजारको वास्तविक चित्र प्रस्तुत गरेको छ।

यस प्रतिवेदनले नेपाली रियल-स्टेट क्षेत्रमा देखिएका उतारचढाव, मौसमी प्रभाव र प्रादेशिक असमानतालाई स्पष्ट पारेको छ। भूमि व्यवस्थापन तथा अभिलेख विभाग र आन्तरिक राजस्व विभागको समन्वयमा संकलन गरिएको यो तथ्यांक अबदेखि त्रैमासिक रूपमा प्रकाशन गरिने बैंकले जनाएको छ।

प्रतिवेदनअनुसार नेपालको घरजग्गा कारोबारमा स्पष्ट मौसमी प्रवृत्ति देखिएको छ, जसमा आर्थिक वर्षको पहिलो त्रैमासमा कारोबार सुस्त हुने र तेस्रो तथा चौथो त्रयमासमा निकै बढ्ने ट्रेन्ड देखिएको छ।

प्रादेशिक रूपमा हेर्दा, कारोबारको सङ्ख्या र क्षेत्रफल दुवैका आधारमा मधेस प्रदेश मुलुकभरमै सबैभन्दा अगाडि देखिएको छ भने लुम्बिनी र कोशी प्रदेशले क्रमशः दोस्रो र तेस्रो स्थान ओगटेका छन्। कर्णाली र सुदूरपश्चिम प्रदेशमा भने घरजग्गाको गतिविधि तुलनात्मक रूपमा निकै न्यून रहेको छ।

जग्गाको क्षेत्रफल र मूल्यका आधारमा पनि रोचक तथ्यांक बाहिर आएका छन्। मधेस प्रदेशमा २० आनाभन्दा ठुला प्लटहरूको कारोबार बढी हुने गरेको पाइएको छ भने बागमती लगायत अन्य प्रदेशमा २.५ देखि १० आनासम्मका साना प्लटहरूमा लगानीकर्ताको आकर्षण बढी छ।

यद्यपि, कारोबार भएको जग्गाको घोषित मूल्य वा थैली रकमका आधारमा भने बागमती प्रदेश नै अग्रस्थानमा रहेको छ। महानगर र उप-महानगरपालिकाहरूमा ५ देखि १० आनाका जग्गाहरू सबैभन्दा बढी खरिदबिक्री हुने गरेका छन्।

वित्तीय र राजस्वको दृष्टिकोणबाट हेर्दा, घरजग्गा क्षेत्रबाट प्राप्त हुने सरकारी राजस्वमा निकै उतारचढाव देखिएको छ। आर्थिक वर्ष २०७८-७९ मा उच्च विन्दु (रु. २३.७ अर्ब) मा पुगेको राजस्व बीचमा घटे पनि पछिल्लो समय सुधारिँदै आ.व. २०८१-८२ मा रु. १५ अर्बको हाराहारीमा पुगेको छ।

साथै, विगत पाँच वर्षमा घरजग्गा कर्जा ७२.४१ प्रतिशत र आवासीय कर्जा ६१.५५ प्रतिशतले वृद्धि हुनुले यस क्षेत्रमा बैंकहरूको लगानीको हिस्सा बलियो रहेको पुष्टि गर्दछ। राष्ट्र बैंकले यसै तथ्यांकको आधारमा अब छिट्टै ’घरजग्गा मूल्य सूचकांक’ प्रकाशन गर्ने तयारी समेत गरिरहेको छ, जसले बजारको मूल्य वृद्धिलाई वैज्ञानिक ढंगले मापन गर्न मद्दत पुग्ने विश्वास लिइएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *