कविता : नयाँ वर्ष २०८३ हार्दिक शुभकामना

डिगबहादुर तामाङ
१ वैशाख २०८३ ८:०९
56
Shares

आँगनैमा शान्तिको उज्यालो फैलियोस् सबैतिर,
दुःखका बादल हटेर हर्षको घाम झल्कियोस् हृदयभरि।
युवाहरू सही बाटो समाई अघि बढून् दृढतासहित,
नववर्षले आशा, माया, सद्भाव फुलाओस् देशभरि।

भोलिको सपना लिएर कर्मको बाटो समाउँ सबैले,
देशको माटो भित्रैबाट उठेको शक्ति जगाउँ सबैले।
टिकटककै लत छोडी समयको मूल्य बुझून् युवायुवती,
सीप र श्रमको उज्यालोले नै उज्यालो बनोस् भोलि–भोलि।

हृदयमा माया बसोस्, मनमा शान्ति फुलोस् निरन्तर,
द्वेषका बादल हटून्, सद्भावको वर्षा परोस् अविरल।
नयाँ वर्षको पहिलो किरणले आशा जगाओस् फेरि,
देशभरि उज्यालो फैलोस्, हरेक मनमा उज्यालो भरी।

पर्वत-पहाड, तराई-मधेस सबैले एकअर्का चिन्छून्,
भाषा-संस्कृति, भेष-भूषाले देशको सुगन्धै बुनून्।
मनभित्र बसोस् भावना – हामी एउटै घरका मान्छे,
नववर्षले एकताको दीप बालेर उज्यालो छरिरहोस्।

श्रमिकका हातमा शक्ति, किसानका खेतमा हरियाली,
विद्यार्थीका आँखामा भविष्यको उज्यालो चम्काली।
सीमानामा उभिएका वीरका साहसले देश टिकोस्,
नयाँ वर्षले गौरव र सम्मानको फूल फुलाइरहोस्।

शहरका गल्लीदेखि गाउँका बाटासम्म शान्ति बसोस्,
मनका अन्धकार हटेर ज्ञानको सूर्य उदाइरहोस्।
साना-ठूला सबैले न्यायको बाटो समाई अघि बढून्,
नववर्षले सत्य र धर्मको दीप हरेक हृदयमा जलाओस्।

युवाहरूले स्वप्नलाई कर्मको पखेटा लगाइदिऊन्,
देशको भविष्य आफ्नै हातले लेख्ने संकल्प जगाइदिऊन्।
भ्रम र लोभका बादल हटेर विवेकको वर्षा परोस्,
नयाँ वर्षले चेतनाको उज्यालो मन-मनमा भरिदिओस्।

आफ्नो माटो, आफ्नै भाषा, आफ्नै पहिचानको रक्षा गरौँ,
सद्भाव, प्रेम र करुणाले नै उज्यालो भविष्य भरौँ।
नयाँ वर्ष २०८३ ले हरेक घरमा शान्ति छरिदिओस्,
देशभरि आशा, माया, एकताको फूल निरन्तर फुलिरहोस्।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *