कविता : नयाँ वर्ष
उही ढर्रा
उही प्रवृत्ति
विगत वर्ष जस्तो
कोलाहलले नखाओस् जिन्दगी
म कविता लेख्न सकुँ
फक्रिएका पूmलहरुको।
मान्छेहरु प्रताडित थिए
ओठमा न कुनै हाँसो
निराशाका बादल मडारिन्थे
खुशी खोशिएको थियो
उन्मुक्त थिएन समय
समयले मलाई चुटेको थियो।
आमाहरु शोकमा थिए
रित्तिएको थियो काख
सत्ता निर्लज्ज हाँस्थ्यो
पीडा थोपर्दै घायल मनमा
रोकिएनन अश्रुधारा
आमाहरुको छाती चर्किएको थियो।
सपनाको फूल निमोठिएको थियो
मुर्छित थियो विपना पनि
किशोर, किशोरीको आवाज ढालेर
सडक रगतले पोतिएको थियो
बग्रेल्ति थिए बेथिति
सुशासनको राग मात्रै अलापिएको थियो।
म देख्न चाहान्थे।
न्यायिक राज्य
परास्त गर्दै कुशासन
म सुशासनको नारा उचाल्छु
दासहरु भयभीत हुन्छन्
म गर्वले हाँस्न सकुँ
वादशाहको महल ढले पछि।
अब बेगिनु पर्छ समय
अवरुद्ध नहोस् यात्रा
सहजै टेक्न सकियोस् गन्तव्य
भाँचियुन् अवरोधका तगाराहरु
फूलहरु फक्रिउन्
हाँसुन हिमालहरु
मान्छेहरु हराएको जीवन खोज्न सकुन्
नयाँ वर्षको शुभकामना।
सुन्दरहरैंचा -०६, दुलारी, मोरङ
No ads found for this position


Facebook Comment