बैंकिङ कसुरमा सुकमवासी मोर्चाका कार्यवाहक अध्यक्ष नारायण परिश्रमी पक्राउ

डिसी नेपाल
११ वैशाख २०८३ १३:२४

काठमाडौं। संयुक्त राष्ट्रिय सुकुमवासी मोर्चाका कार्यवाहक अध्यक्ष नारायण परिश्रमी भनिने नारायण परियार पक्राउ परेका छन्।

जिल्ला प्रहरी परिसर काठमाडौंले परिश्रमीलाई बैंकिङ कसुरसम्बन्धी मुद्दामा अनुसन्धानका लागि पक्राउ गरेको हो। जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता तथा प्रहरी उपरीक्षक पवनकुमार भट्टराईले परिश्रमी पक्राउ परेको पुष्टि गर्दै बैंकिङ कसुरको अभियोगमा अनुसन्धान प्रक्रिया अगाडि बढाइएको जानकारी दिएका छन्।

पछिल्लो समय काठमाडौंको थापाथलीस्थित बागमती किनारको सुकुमवासी बस्ती हटाउने सरकारको निर्णय र त्यससँग जोडिएका सुरक्षा व्यवस्थाका कारण उक्त क्षेत्रमा तनाव सिर्जना भइरहेको छ।

यस्तो संवेदनशील परिस्थितिमा सुकुमवासी मोर्चाको नेतृत्व गरिरहेका परिश्रमीको पक्राउलाई अर्थपूर्ण रूपमा हेरिएको छ। यद्यपि प्रहरीले उनको पक्राउलाई बैंकिङ कसुरको मुद्दाका रूपमा मात्र स्पष्ट पारेको छ।

परिश्रमीविरुद्ध यसअघि नै सुकुमवासी बस्ती हटाउने क्रममा प्रहरीमाथि बल प्रयोग गरेको र अन्य आपराधिक गतिविधिमा संलग्न रहेको आरोपसमेत लाग्दै आएको थियो।

हाल जारी बैंकिङ कसुरको मुद्दा र अघिल्ला घटनाक्रमहरूका आधारमा प्रहरीले उनीमाथि गम्भीर अनुसन्धान अगाडि बढाउने तयारी गरेको बुझिएको छ। अहिले उनी काठमाडौँ प्रहरीको हिरासतमा रहेका छन् भने यस विषयमा थप कानूनी प्रक्रिया जारी रहेको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *