लगत संकलन र वैकल्पिक व्यवस्था नगरी सुकुम्बासी हटाएकोमा विपक्षी दलहरूको विरोध

डिसी नेपाल
१७ वैशाख २०८३ १३:१७

काठमाडाैं। काठमाडौं उपत्यकासहित देशका विभिन्न भागमा रहेका सुकुम्बासी र अव्यवस्थित बसोवासीहरूको पहिचान र व्यवस्थापन नगरी डोजर चलाइएको भन्दै विपक्षी दलहरूले संयुक्त रूपमा विरोध जनाएका छन्।

प्रमुख विपक्षी दल नेपाली कांग्रेस, नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टीका प्रमुख सचेतकहरूको आज बसेको संयुक्त बैठकले सरकारको यस कदमलाई जनविरोधी र त्रासपूर्ण भएको ठहर गरेको हो। विपक्षी दलहरूले नागरिकको उचित लगत संकलन र वैकल्पिक आवासको ग्यारेन्टी नगरी बस्ती हटाउने कार्य तत्काल रोक्न सरकारसँग माग गरेका छन्।

विपक्षी दलहरूद्वारा जारी संयुक्त निर्णयमा काठमाडौं र अन्य स्थानमा लामो समयदेखि बसोवास गर्दै आएका नागरिकहरूको छानबिन नै नगरी बल प्रयोग गरिनु आपत्तिजनक रहेको उल्लेख छ।

वैकल्पिक व्यवस्था नगरी बस्ती भत्काउँदा सर्वसाधारण नागरिकमा व्यापक असुरक्षा, भय र त्रासको स्थिति सिर्जना भएको भन्दै उनीहरूले सरकारको यस्तो रवैयाको कडा शब्दमा निन्दा गरेका छन्। लगत संकलन र पहिचानको प्रक्रिया पुरा नगरी डोजर चलाउनु मानवीय संवेदना र नागरिक अधिकारको उल्लंघन भएको विपक्षीहरूको तर्क छ।

बैठकले सुकुम्बासी समस्यालाई कूटनीतिक र कानुनी प्रक्रियाबाट समाधान गर्नुको सट्टा बल प्रयोग गरेर हटाउन खोज्नुले मुलुकमा थप मुठभेड निम्त्याउने चेतावनी समेत दिएको छ। उनीहरूले सरकारलाई तत्काल यस्ता कार्य बन्द गरी भूमिहीन र अव्यवस्थित बसोवासीहरूको उचित पहिचान र दीर्घकालीन व्यवस्थापनमा लाग्न आग्रह गरेका छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *