त्रिविका पदाधिकारीको सामूहिक राजीनामा: उपकुलपति, शिक्षाध्यक्ष र रजिस्ट्रारले छोडे पद

डिसी नेपाल
१७ वैशाख २०८३ १४:३०

काठमाडाैं। मुलुककै जेठो र ठूलो शिक्षण संस्था त्रिभुवन विश्वविद्यालयका शीर्ष पदाधिकारीहरूले सामूहिक रूपमा पदबाट राजीनामा दिएका छन्।

उपकुलपति प्राडा दीपक अर्याल, शिक्षाध्यक्ष प्राडा खड्ग केसी र रजिस्ट्रार प्राडा केदार प्रसाद रिजालले बिहीबार कुलपति एवं प्रधानमन्त्री बालेन्द्र शाहसमक्ष आफ्नो राजीनामा बुझाएका हुन्।

उनीहरूले कर्मचारीमार्फत् कुलपतिसमेत रहेका प्रधानमन्त्री बालेन शाहलाई र ह्वाट्सएपमार्फत् प्रधानमन्त्रीको सचिवालयमा पनि राजीनामा पत्र पठाएका हुन्।

नयाँ सरकार गठन भएसँगै काम गर्ने वातावरण र कूटनीतिक सहजताका लागि आफूहरूले मार्ग प्रशस्त गरेको पदाधिकारीहरूले बताएका छन्। विशेषगरी हालै सिफारिस गरिएको नयाँ अध्यादेशमा पदाधिकारीहरूलाई हटाउन सक्ने प्रावधान राखिएको र सत्तारूढ दलका नेताहरूबाट पनि सोही किसिमका संकेतहरू प्राप्त भएपछि उनीहरूले पद त्याग गर्ने निर्णय लिएका हुन्।

राजीनामा दिने क्रममा शिक्षाध्यक्ष केसीले आफूहरू मूलतः कक्षाकोठामा रमाउने प्राध्यापक भएको र सत्ता समीकरणमा आएको परिवर्तनसँगै नयाँ सरकारलाई आफ्नो योजना अनुसार काम गर्न सजिलो होस् भन्ने उद्देश्यले राजीनामा दिएको बताए।

उपकुलपति अर्याल अघिल्लो वर्ष २०८२ असार २५ गते तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको कार्यकालमा नियुक्त भएका थिए भने शिक्षाध्यक्ष केसी र रजिस्ट्रार रिजाल पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारको पालामा नियुक्त भएका थिए। विश्वविद्यालयको स्वायत्तता र प्राज्ञिक मर्यादा जोगाउन राजनीतिक खिचातानीमा अल्झिनुभन्दा राजीनामा दिनु नै उपयुक्त हुने ठहर पदाधिकारीहरूले गरेका हुन्।

त्रिभुवन विश्वविद्यालयमा पछिल्लो समय देखिएको राजनीतिक ध्रुवीकरण र पदाधिकारी नियुक्तिमा हुने भागबन्डाको विवादका बीच यो सामूहिक राजीनामा आएको हो। विश्वविद्यालयका सर्वोच्च तीनवटै पद एकै पटक रिक्त भएपछि अब त्रिविको प्रशासनिक र शैक्षिक गतिविधि कसरी अगाडि बढ्छ भन्नेमा अन्योल सिर्जना भएको छ।

कुलपति बालेन्द्र शाहले यी राजीनामा स्वीकृत गरेपछि नयाँ पदाधिकारी चयनको प्रक्रिया सुरु हुनेछ। यसअघि पनि पटक-पटक राजनीतिक हस्तक्षेपको सिकार बन्दै आएको त्रिविमा नेतृत्व परिवर्तनको यो शृङ्खलाले विद्यार्थीको शैक्षिक सत्र र प्रशासनिक सुधारका कार्यहरूमा कस्तो असर पार्छ भन्ने विषयमा शिक्षाविद्हरूले चासो व्यक्त गरेका छन्।


No ads found for this position

प्रतिक्रिया

One thought on “त्रिविका पदाधिकारीको सामूहिक राजीनामा: उपकुलपति, शिक्षाध्यक्ष र रजिस्ट्रारले छोडे पद

  1. very good news well done Balen sarkar, political party ka yesta jhole, varaute upkulpati dekhi jo sukkai hos turuntai rajinama diyer bato clear gareko ma sahrai ramro, No Yemale and No Nepali congress, only one neutral union, Education ma no political hastachhep, thukka thukka Gughane kukur ko rastra ghati kam, Sichha justo pabitra chhetra ma, NO never politics everywhere

Leave a Reply

Your email address will not be published. Required fields are marked *