सुर्खेतमा कांग्रेसको जरा अभियान सुरु

डिसी नेपाल
१७ वैशाख २०८३ १९:५२

सुर्खेत। नेपाली कांग्रेसले देशव्यापी रूपमा सुरु गरेको ‘जरा अभियान’ कर्णाली प्रदेशको वीरेन्द्रनगरबाट औपचारिक रूपमा सुरु भएको छ।
पार्टीमा जागरण र रूपान्तरण ल्याउँदै स्थानीय तथा राष्ट्रिय सन्दर्भमा पार्टीको सोच र सन्देश प्रभावकारी रूपमा प्रवाह गर्ने उद्देश्यसहित अभियान सञ्चालन गरिएको हो।

वीरेन्द्रनगर नगरपालिका–१० मा आयोजित कार्यक्रममा केन्द्रीय सदस्य तिर्थजंग शाहीले क्रियाशील सदस्यता अद्यावधिक गर्दै अभियानको प्रारम्भ गरेका छन्।

अभियानका केन्द्रीय प्रतिनिधि तथा नेपाली कांग्रेसका केन्द्रीय सदस्य नारायणप्रसाद भट्टराईले ‘जरा अभियानले पार्टी संगठनलाई मजबुत बनाउने, कार्यकर्तामा ताजगी ल्याउने र संगठनको जरामा सुदृढता थप्ने विश्वास व्यक्त गरे। राष्ट्रियता, लोकतन्त्र, संघीयता, नागरिक विश्वास र सामाजिक एकतालाई सुदृढ बनाउने लक्ष्यका साथ अभियान सञ्चालन गरिएको उनले बताए।

अभियान अन्तर्गत हरेक वडामा प्रतिनिधि खटाएर अभियान प्रभावकारी रूपमा सञ्चालन गरिने र क्रियाशील सदस्यतालाई पूर्ण रूपमा डिजिटल प्रणालीमा रूपान्तरण गरिने उनले जानकारी दिए। अभियान अन्तर्गत सदस्यता अद्यावधिक प्रक्रिया डिजिटल माध्यमबाट गरिने भएकाले सम्बन्धित व्यक्ति स्वयम् वडामा उपस्थित हुनु पर्ने भएकाले सबैको एकता, भेटघाट र समीक्षाका लागि पनि प्रभावकारी हुने उनको भनाइ छ।

कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रीय सदस्य जानकी सिंह, नेपाली कांग्रेस सुर्खेतका पूर्व सभापति कमलराज रेग्मी, नेपाली कांग्रेस सुर्खेतका सचिव बालदेव कँडेल, पूर्व क्षेत्रीय सभापति नारायण कोइराला, नेपाल महिला संघ सुर्खेतकी अध्यक्ष पार्वती गिरीलगायतको उपस्थिति रहेको थियो। सुर्खेत जिल्लाका ९९ वटै वडामा ‘जरा अभियान’ सञ्चालन गरिने बताइएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *