विमानस्थलमा ‘विमान दुर्घटना’को काल्पनिक अभ्यास: विपद् व्यवस्थापनको तयारी चुस्त पारिँदै

डिसी नेपाल
१७ वैशाख २०८३ २०:०२

काठमाडौं। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सम्भावित विमान दुर्घटना र त्यसपछिको उद्धार कार्यलाई प्रभावकारी बनाउने उद्देश्यले आज विशेष आपत्कालीन अभ्यास सम्पन्न गरिएको छ।

अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठन (आईकाओ) को मापदण्ड र विमानस्थलको आपत्कालीन योजना अनुसार हरेक दुई वर्षमा गरिने यो पूर्णस्तरको अभ्यासले विपद्का बेला विभिन्न निकायबीचको समन्वय र कार्यदक्षतालाई परीक्षण गर्ने अवसर प्रदान गरेको छ।

अभ्यासका क्रममा विमानस्थलको धावनमार्ग नजिकै विमान दुर्घटना भई आगलागी भएको काल्पनिक दृश्य सिर्जना गरिएको थियो। उक्त कृत्रिम दुर्घटनापछि तत्काल दमकल सेवाले आगलागी नियन्त्रण गर्ने, सुरक्षा निकायले घटनास्थललाई घेरा हाल्ने र उद्धार टोलीले विमानभित्र फसेका यात्रुहरूको उद्धार गरी प्राथमिक उपचार गर्ने प्रक्रिया देखाइएको थियो।

घाइतेहरूलाई अवस्था अनुसार वर्गीकरण गरी एम्बुलेन्स मार्फत सुरक्षित रूपमा अस्पतालसम्म पुर्‍याउने र घटनास्थलको व्यवस्थापन गर्ने कार्यलाई वास्तविक घटनाकै झझल्को दिने गरी अभ्यासमा उतारिएको थियो।

विमानस्थलका महाप्रबन्धक टेकनाथ सिटौलाका अनुसार यस्तो नियमित अभ्यासले वास्तविक विपद्को समयमा हुनसक्ने मानवीय त्रुटि कम गर्न र उपलब्ध स्रोत साधनको अधिकतम उपयोग गर्न मद्दत पुर्‍याउँछ।

आकस्मिक अवस्थामा लिइने तत्कालको निर्णय, प्रभावकारी सञ्चार र विभिन्न निकायहरूबीचको साझा सक्रियताले मात्रै धनजनको क्षति न्यूनीकरण गर्न सकिने भएकाले यसले समग्र सुरक्षा प्रणालीलाई थप मजबुत बनाएको विश्वास व्यक्त गरिएको छ।

उक्त बृहत् अभ्यासमा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, नागरिक उड्डयन प्राधिकरणका प्रतिनिधि, विमानस्थलका प्राविधिक कर्मचारी, स्वास्थ्यकर्मी तथा विभिन्न सरोकारवाला निकायहरूको सक्रिय सहभागिता रहेको थियो।

यस्ता अभ्यासहरूले विमानस्थलको सुरक्षा संयन्त्रलाई हरसमय तयारी अवस्थामा राख्ने र अन्तरराष्ट्रिय हवाई सुरक्षा मापदण्डलाई समेत पालना गर्न सहयोग पुर्‍याउने देखिएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *