देशका अधिकांश भागमा मेघगर्जनसहित वर्षाको सम्भावना

डिसी नेपाल
१८ वैशाख २०८३ ७:१५

काठमाडौं। हाल देशमा पश्चिमी तथा स्थानीय वायुसँगै पूर्वी भेग नजिक तल्लो वायुमण्डलमा रहेको न्यून चापीय क्षेत्रको प्रभाव रहेको छ।

जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी, मधेश, बागमती र गण्डकी प्रदेशलगायत देशका हिमाली तथा पहाडी भू-भागमा सामान्यतया बादल लागेको छ भने बाँकी भागमा आंशिक बदली भएको छ। बागमती, गण्डकी, कोशी, लुम्बिनी र कर्णाली प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ।

आज दिउँसो कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका साथै लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी तथा हिमाली भागमा सामान्यतया बदली रहनेछ भने लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भेगमा आंशिक बदली रहने सम्भावना छ।

कोशी र मधेश प्रदेशका साथै देशका हिमाली तथा पहाडी भागका साथै बागमती, गण्डकी र लुम्बिनी प्रदेशका तराईका केही तथा सुदूरपश्चिम प्रदेशका तराईका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा तथा हिमपातको सम्भावना छ।

त्यसैगरी, आज राति कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका साथै हिमाली तथा पहाडी भू-भागमा अधिकांश बदली रहनेछ भने तराई क्षेत्रमा आंशिक बदली हुनेछ। कोशी, मधेश, बागमती, गण्डकी प्रदेशका केही तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा तथा हिमपातको सम्भावना छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *