विदेशमा रहेका नेपाली विद्यार्थीको हितका लागि एनआरएनए सक्रिय, सरकारसँग सहकार्य गर्ने प्रतिबद्धता
लन्डन। लन्डनमा आयोजित ‘द प्लग’ कार्यक्रममा गैर आवासीय नेपाली संघ (एनआरएनए) का अध्यक्ष डा. हेमराज शर्माले विदेशमा अध्ययनरत नेपाली विद्यार्थीहरूको समस्या समाधान र वृत्ति विकासका लागि संघले ठोस पहलकदमी लिइरहेको बताएका छन्।
हालै नेपालका शिक्षा मन्त्रीसँग भेट गरी विदेश जानुअघि विद्यार्थीहरूलाई आवश्यक सूचना प्रदान गर्ने, गन्तव्य मुलुकमा पुगेपछि दूतावासमार्फत सहयोग संयन्त्र तयार गर्ने र अध्ययनपछि स्वदेश फर्किँदा रोजगारीको बजार सुनिश्चित गर्ने विषयमा छलफल भएको उनले जानकारी दिए।
डा. शर्माले एनआरएनएको केन्द्रीय कार्यालयमा विद्यार्थीहरूको काउन्सिलिङ सुरु गर्ने तयारी भइरहेको र १८३ दिनभन्दा बढी विदेशमा रहेका विद्यार्थीहरूलाई समेत संघको सदस्यता प्रदान गर्ने प्रस्ताव अघि सारेका छन्।
बेलायतको अर्थतन्त्र र उच्च शिक्षामा अन्तर्राष्ट्रिय विद्यार्थीहरूको भूमिकाबारे चर्चा गर्दै चेस्टर विश्वविद्यालयका ग्लोबल इम्प्याक्ट तथा अनुसन्धान डीन प्रा. पदम सिम्खडाले नेपाल अहिले बेलायतमा विद्यार्थी पठाउने पाँचौँ ठूलो मुलुक बनेको तथ्य प्रस्तुत गरे।
सन् २०२५ को डिसेम्बरसम्म झण्डै २० हजार नेपाली विद्यार्थीले अध्ययन भिसा पाएको भए पनि उनीहरूले आर्थिक दबाब, शैक्षिक समायोजन र व्यावसायिक सञ्जालको अभाव जस्ता गम्भीर चुनौती भोगिरहेका छन्। प्रा. सिम्खडाले नेपाली विद्यार्थीहरू सक्षम भए पनि आफूलाई प्रभावकारी रूपमा प्रस्तुत गर्ने सीपमा सुधार गर्नुपर्ने आवश्यकता औंल्याए।
कार्यक्रममा भर्चुअल माध्यमबाट सहभागी शिक्षा मन्त्रालयका प्रवक्ता शिवकुमार सापकोटाले विदेश अध्ययनका नाममा हुने ठगी नियन्त्रण गर्न सरकार कडा रूपमा प्रस्तुत हुने चेतावनी दिए।
विद्यार्थी प्रतिनिधि प्रेष्टा खनालले बेलायतमा बढ्दो महँगी, आवासको समस्या र सांस्कृतिक अनुकूलनका कारण विद्यार्थीहरू ठूलो मानसिक तथा आर्थिक दबाबमा रहेको उल्लेख गरे। यी समस्याहरूको समाधानका लागि एनआरएनएले पहिलो पटक उपाध्यक्षको नेतृत्वमा विद्यार्थी कल्याण समिति गठन गरेको र दूतावाससँगको सहकार्यमा करियर फेयर तथा कानुनी सल्लाह उपलब्ध गराउने योजना अघि सारेको छ।







डिसी नेपाल







Facebook Comment