लगातारको पहिरोले मुख्य राजमार्ग ठप्प: हजारौंयात्रु बीच बाटोमै अलपत्र

डिसी नेपाल
२० वैशाख २०८३ १०:०६

काठमाडौं। केही दिनयतादेखिको वर्षासँगै आएको पहिराका कारण देशभरीमा विभिन्न मुख्य राजमार्ग तथा सडकखण्ड पूर्ण रुपमा अवरुद्ध भएका छन्।

आज बिहानको पहिराका कारण ललितपुर बागमती गाउँपालिका-३ पाङ्दुरस्थित कान्तिलोकपथ, प्युठान सरुमारानी गाउँपालिका-४ खहरे खोलास्थित भालुवाङ-प्युठान सडकखण्ड, मकवानुर भीमफेदी गाउँपालिका-८ भर्‍याङडाँडास्थित कान्ति लोकपथ सडकखण्ड तथा लमजुङ मध्यनेपाल नगरपालिका-१० बिमिरे भञ्ज्याङस्थित मध्यपहाडी लोकमार्ग पूर्ण रुपमा अवरोध भएका केन्द्रीय प्रहरी प्रवक्ता एवं प्रहरी नायब महानिरीक्षक अविनारायण काफ्लेले जानकारी दिए।

उनले भने, “आज बिहान खसेको पहिराका कारण विभिन्न राजमार्ग र सडकखण्ड पूर्ण रुपमा अवरोध भएका छन्। यही वैशाख १६ गतेको पहिराका कारण सिन्धुपाल्चोक भोटेकोसी-२ कोदारीस्थित अरनिको राजमार्गमा पूर्ण रुपमा अवरुद्ध भएको र अहिले सम्म सञ्चालन हुन सकेको छैन।”

यही वैशाख १२ गतेको बाढीका कारणअवरुद्ध भएका भोजपुर नगरपालिका-५ बोखिमको मध्यपहाडी लोकमार्ग तथा वैशाख १६ गतेको पहिराले म्याग्दीको अन्नपूर्ण गाउँपालिका-३ जलथलेस्थित बेनी-जोमसोम सडकखण्ड भने एकतर्फी रुपमा सञ्चालनमा आएका प्रहरीले जनाएको छ।

वर्षात्को समयमा बाढी, पहिराको जोखिम बढी हुने भएकाले अवरुद्ध भएका र एकतर्फी सञ्चालनमा आइका राजमार्गमा यात्रा गर्दा सुरक्षित एवं सावधानी तरिकाले यात्रा गर्न प्रहरीले आग्रह गरेको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *