सरकारले गुणस्तरीय शिक्षामा जोड दिइरहेको छ: मुख्यमन्त्री शाह

डिसी नेपाल
२१ वैशाख २०८३ १५:४४

धनगढी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले सरकारले गुणस्तरीय शिक्षामा जोड दिइरहेको बताएका छन्।

आज बर्दगोरिया कलेजको शैक्षिक तथा प्रशासनिक भवनको शिलान्यास गर्दै उहाँले सीमित स्रोतसाधनका बावजुद प्रदेश सरकारले गुणस्तरीय शिक्षामा जोड दिइरहेको बताए।

मुख्यमन्त्री शाहले प्रदेश सरकार शैक्षिक गुणस्तर सुधारका साथसाथै बेरोजगारी समस्या समाधानतर्फ उन्मुख रहेको बताए। उनले हाल आधा किलोमिटर सडक दूरीभित्र कम्तीमा ९० प्रतिशत बालबालिका शिक्षाको पहुँचमा पुगेको बताउँदै बाँकी १० प्रतिशत बालबालिकालाई सडक सञ्जालसँग जोडेर दूरी घटाउनेतर्फ सरकार सक्रिय रहेको बताए।

कार्यक्रममा सामाजिक विकासमन्त्री मेघराज खड्का, बर्दगोरिया गाउँपालिकाका अध्यक्ष कर्ण कुँवर, पञ्चदेवल विनायक नगरपालिकाका नगरप्रमुख अम्बिका चलाउने, सामाजिक विकास सचिव डा हेमराज रेग्मीलगायत सहभागिता रहेको थियो।

यहाँ सुदूरपश्चिम प्रदेश सरकारले आर्थिक वर्ष २०८२/८३ मा विनियोजन गरेको रु १० करोडको लागतमा भवन निर्माण सुरु भएको हो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *