खुल्ने बित्तिकै बन्द भयो बिपी राजमार्ग

डिसी नेपाल
२१ वैशाख २०८३ १६:३३

रामेछाप। रोशी खोलामा बाढी आए पछि आज बिहानबाट बन्द गरिएको बिपी राजमार्ग दिउँसो केही समयको लागि खुल्ला गरिएको थियो। तर राजमार्ग खुल्ला गरिएको एक घण्टा पनि बित्न नपाउँदै प्रहरीले पुनः सडक बन्द गरेको छ।

जिल्ला प्रहरी कार्यालय काभ्रेले सूचना निकालेर काभ्रेका विभिन्न स्थानमा भीषण वर्षा भएकोले राजमार्ग बन्द गरिएको जनाएको छ। प्रहरीले ४ः१५ बजे सूचना निकालेर सडक बन्द गरेको जानकारी दिएको हो। यस अघि बिहादेखि बन्द भएको सडक दिउँसो ३ बजेबाट खोलिएको प्रहरीले जानकारी दिएको थियो।

प्रतिकूल मौसमको कारण काभ्रेपलाञ्चोक जिल्लाको विभिन्न स्थानहरूमा अत्यधिक ठुलो पानी परिरहेको हुनाले बीपी राजमार्गमा हुनसक्ने सम्भावित जोखिमलाई मध्यनजर गर्दै तत्कालको लागि सवारी आवागमन पूर्ण रूपमा बन्द गरिएको प्रहरीले जनाएको छ। ’मौसममा सुधार आई सडक मार्गमा कुनै अवरोध नभएको अवस्थामा जिल्ला प्रहरी कार्यालय, काभ्रेपलाञ्चोकले अर्को सूचना प्रकाशन गरी बाटो सुचारु भएको जानकारी गराउनेछ, थप जानकारी तथा सूचनाको लागि १०० र १०३ मा सम्पर्क गर्नुहोला,’ काभ्रे प्रहरीले जारी गरेको सूचनामा उल्लेख छ।

गत वर्ष र अघिल्लो वर्ष रोशीमा आएको बाढीले सो क्षेत्रमा बिपी राजमार्ग अधिकांश स्थानमा बगाएको छ। सडक बगाए पछि अहिले खालमा नै अस्थायी सडक बनाएर यातायात सञ्चालन हुँदै आएको छ। त्यसैले सामान्य बाढी आउने बित्तिकै सडक बगाउने गर्दछ। सडक निर्माणको काम भइरहेको भए पनि यही गतिमा निर्माण अघि बढ्दा यो वर्षामा सो सडक सञ्चालन हुने अवस्था छैन।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *