निवास र कार्यालयमा भएको छापाप्रति मुख्यमन्त्री बानियाँको असन्तुष्टि, अनुसन्धानमा सघाउने स्पष्टोक्ति

डिसी नेपाल
२१ वैशाख २०८३ १७:४६

काठमाडाैं। बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले आफ्नो निजी निवास र कार्यालयहरूमा राज्यका निकायबाट भएको छापा मार्ने कार्यप्रति गम्भीर ध्यानाकर्षण भएको जनाउँदै आपत्ति प्रकट गरेका छन्।

आज एक विज्ञप्ति जारी गर्दै उनले राज्यको जुनसुकै निकायले सोधपुछ वा अनुसन्धानका लागि अनुरोध गर्दा आफू भौतिक रूपमै उपस्थित भएर सहयोग गर्न तयार रहेको अवस्थामा छापा मारिनु दुखद भएको बताएका हुन्।

उनले आफू लामो समयदेखि राजनीतिक यात्रामा सक्रिय रही जनताको सेवामा समर्पित रहेको उल्लेख गर्दै सुशासन, पारदर्शिता र भ्रष्टाचारमुक्त समाज निर्माण नै आफ्नो राजनीतिको प्रमुख प्राथमिकता रहेको स्पष्ट पारेका छन्।

मुख्यमन्त्री बानियाँले प्रदेश सरकारको नेतृत्व सम्हालेदेखि नै सरकारी कामकारबाहीमा हुने खर्च नियन्त्रण, आर्थिक अनुशासन र पारदर्शितालाई कडाइका साथ अघि बढाएको दाबी विज्ञप्तिमा गरेका छन्।

सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागद्वारा गरिएको पछिल्लो कदमका बारेमा टिप्पणी गर्दै उनले कानुनी प्रक्रिया र संवैधानिक व्यवस्थाअनुसार हुने जुनसुकै अनुसन्धानलाई आफूले पूर्ण रूपमा सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे। राज्यका निकायले कानुनको परिधिभित्र रहेर गर्ने निष्पक्ष अनुसन्धानमा आफ्नो सधैँ समर्थन रहने भन्दै उनले विधिको शासनमा आफू अडिग रहेको बताए।

विज्ञप्तिको अन्त्यमा मुख्यमन्त्री बानियाँले प्रदेशवासी आम नागरिकलाई घटनाका सम्बन्धमा फैलाइएका अनावश्यक हल्ला र भ्रमको पछि नलाग्न विशेष आग्रह गरेका छन्।

उनले अनुसन्धानबाट छिट्टै सत्यतथ्य बाहिर आउनेमा आफू पूर्ण विश्वस्त रहेको बताउँदै धैर्यता अपनाउन सबैमा अपिल समेत गरेका छन्। उनले जननिर्वाचित प्रतिनिधिको हैसियतले आफू सधैँ जवाफदेही रहने र सत्यको जित हुने विश्वास व्यक्त गरेका छन्।




प्रतिक्रिया

One thought on “निवास र कार्यालयमा भएको छापाप्रति मुख्यमन्त्री बानियाँको असन्तुष्टि, अनुसन्धानमा सघाउने स्पष्टोक्ति

  1. Sabai le vanne nai yestai ho, tara party bata surachhit vrasta haru ko ab din gaye, chhan bin vanekai yestai ho , natra sabai lookai halchha ni, well done Balen sarkar lootera haru lai yek yek garera ghisarnai parchha. feri yemale ra congress le justo afna jati bachau arulai karbai nahos

Leave a Reply

Your email address will not be published. Required fields are marked *