‘सरकार प्रेस स्वतन्त्रता, पारदर्शिता र लोकतान्त्रिक मूल्यप्रति पूर्ण प्रतिबद्ध छ’
काठमाडौं। सरकार प्रेस स्वतन्त्रता, नागरिकको सूचनाको हक र संवैधानिक मर्यादाप्रति पूर्ण प्रतिबद्ध रहेको स्पष्ट पारिएको छ। प्रधानमन्त्री बालेन्द्र शाहको सचिवालयले आज प्रेस नोट जारी गरी प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय परिसरभित्र आज सञ्चारकर्मीलाई भिडियो खिच्न रोक लगाइएको भन्ने समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाउँदै कुनै अवरोध नभएको जनाएको छ।
प्रधानमन्त्री शाहका प्रेस तथा अनुसन्धानविज्ञ दीपा दाहालद्वारा जारी प्रेस नोटमा सरकार प्रेस स्वतन्त्रता, पारदर्शिता र लोकतान्त्रिक मूल्यप्रति पूर्ण रूपमा प्रतिबद्ध रहेको उल्लेख छ।
सञ्चारकर्मीलाई सूचना सङ्कलनका लागि अनुमति भएको र त्यहाँ कुनै अवरोध नभएको उल्लेख गर्दै भविष्यमा नहुने स्पष्ट पारिएको छ। प्रेस विज्ञ दाहालले सञ्चारकर्मीलाई हटाउन वा भिडियो खिच्न रोक्न कुनै निर्देशन नदिएको उल्लेख गरेकी छन्।
सुरक्षा र व्यवस्थापनसँग सम्बन्धित सामान्य प्राविधिक विषयलाई प्रेसमाथिको अङ्कुशका रूपमा अतिरञ्जित नगर्न सचिवालयले आग्रह गरेको छ। सचिवालयका अनुसार आज प्रधानमन्त्री कार्यालय प्रवेशका क्रममा परिसरमा सवारीसाधनको भीडभाड देखिएपछि प्रधानमन्त्री शाहले केवल सुरक्षा व्यवस्थापनबारे सुरक्षाकर्मीसँग सामान्य जिज्ञासा राखेका थिए।
सुरक्षाकर्मीले गेटमा रहेका सञ्चारकर्मीलाई स्थान परिवर्तन गर्न भनेको विषयबारे गुनासो आएपछि तुरुन्तै समन्वय गरी पत्रकारहरूको पहुँचमा कुनै रोकटोक नभएको जानकारी गराइएको पनि प्रेस नोटमा उल्लेख गरिएको छ।







डिसी नेपाल







Facebook Comment