प्रहरीको निर्देशन अटेर गरी जोखिम मोल्ने चालकलाई कारबाही गर्न प्राधिकरणको पत्राचार

डिसी नेपाल
२२ वैशाख २०८३ १४:२३

काठमाडाैं। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले सम्भावित प्राकृतिक विपद् र सडकको जोखिमलाई मध्यनजर गर्दै देशभरका जिल्ला प्रशासन कार्यालयहरूलाई सवारी सुरक्षामा कडाइ गर्न निर्देशन दिएको छ।

जोखिमयुक्त सडकमा सवारी आवागमन बन्द गराई यात्रु तथा सवारीसाधनको सुरक्षा सुनिश्चित गर्न र आवागमन बन्दको अवज्ञा गर्ने चालक एवं सवारीधनीलाई तत्काल कानुनी कारबाहीको दायरामा ल्याउन प्राधिकरणले परिपत्र गरेको हो।

विशेषगरी सोमबार साँझ काभ्रेको रोशी खोलामा बाढी आउँदा प्रहरीको चेतावनीलाई बेवास्ता गर्दै पाँचवटा सवारी साधन बाढीमा हाल्दा ८९ जना यात्रुको ज्यान जोखिममा परेको घटनापछि प्राधिकरणले यो कडा कदम चालेको हो।

उक्त घटनामा सुरक्षा निकायको संयुक्त टोलीले मध्यरातमा यात्रुहरूको सफल उद्धार गरे पनि केही सवारी चालकको लापरवाहीका कारण ठूलो क्षति हुन सक्ने देखिएकाले यस्तो निर्देशन जारी गरिएको प्राधिकरणका उपसचिव रामबहादुर केसीले जानकारी दिए।

प्राधिकरणले अबदेखि स्थानीय वस्तुस्थिति र सडकको अवस्था विश्लेषण गरी जोखिम देखिएका स्थानमा तत्काल सवारी आवागमन रोक्न स्थानीय प्रशासनलाई अधिकार दिएको छ।

जल तथा मौसम विज्ञान विभागको पूर्वानुमान र प्राधिकरणबाट जारी हुने पूर्वसूचना एवं चेतावनीलाई गम्भीरतापूर्वक लिन र त्यसको पालना गराउन समेत आग्रह गरिएको छ।

मनसुनजन्य विपद्को समयमा यात्रा गर्दा हुनसक्ने सम्भावित दुर्घटना न्यूनीकरणका लागि सुरक्षाकर्मी र प्रशासनको निर्देशन अनिवार्य पालना गर्न सरोकारवाला सबैमा अनुरोध गरिएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *