नौ महिनामा एक हजार बढीको शल्यक्रिया

डिसी नेपाल
२४ वैशाख २०८३ २०:०१

ढोरपाटन (बागलुङ)। धौलागिरि प्रादेशिक अस्पताल बागलुङमा विशेषज्ञ सेवा थपिँदै गएपछि बिरामीको चाप बढ्दै गएको छ। अञ्चल अस्पताललाई गण्डकी प्रदेश सरकारले स्तरवृद्धि गरी प्रादेशिक अस्पताल बनाएपछि बिरामीको सङ्ख्यासमेत बढेको हो।

अस्पतालले चौबिसै घण्टा आकस्मिकसहित साना तथा ठूला शल्यक्रिया र विशेषज्ञ सेवालाई प्रभावकारी बनाउन थालेको छ। दुई वर्ष अगाडिसम्म सामान्य शल्यक्रियाका लागि पोखरा पुग्नुपर्ने बाध्यता रहेकामा अहिले जटिल किसिमका शल्यक्रिया गर्न पनि बिरामी यहीँ आउने गरेका छन्।

गत साउनदेखि हालसम्म यस अस्पतालमा एक हजार ४३ जनाको शल्यक्रिया गरिएको अस्पतालका मेडिकल रेकर्डर नवराज पौडेलले जानकारी दिए। एकसय जनाको हाडजोर्नीसम्बन्धी मुख्य अपरेशन, १९ जना आङ खसेका महिलाको शल्यक्रिया, १८ जनाको पित्तथैलीको शल्यक्रिया गरिएको पौडेलले बताए।

एपेन्डिक्सका ३५ बिरामी, हर्नियाका ३५ र पाँच जना हाइड्रोसिलका बिरामीको शल्यक्रिया गरेको उनले बताए। पौडेलका अनुसार यस अवधिमा मिनिल्याप सम्बन्धी २५, भ्यासेक्टोमी दुई, १७९ जना गर्भवती, इक्टोपिकसम्बन्धी तीन जनाको शल्यक्रिया गरिएको छ।

त्यस्तै, २०९ जनाको जनरल सर्जरी, हाडजोर्नीसम्बन्धी मध्यम तथा साना शल्यक्रिया १२० र ३९७ वटा विभिन्न रोगका जनरल सर्जरी गरेको उनले बताए। शल्यक्रिया गरेकोमध्ये १०३ जना बिरामीको दुरबिन प्रविधिबाट शल्यक्रिया गरिएको पौडेलले बताए।

पछिल्लो समय अस्पतालप्रति बिरामीको विश्वास बढ्दै गएपछि चाप बढेको अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट डा किरण तिवारीले बताए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *