दाङमा दाउराको विषयमा विवाद : हतियार प्रहार गरी छिमेकीको हत्या
दाङ। दाङको राजपुर गाउँपालिकामा दाउरा संकलनका क्रममा उत्पन्न विवादले निम्त्याएको आक्रमणमा परी एक जनाको मृत्यु भएको छ।
शुक्रबार दिउँसो राजपुर-४ मोतीपुरस्थित रामजानकी सामुदायिक वन क्षेत्रमा दाउरा कसले लिने भन्ने विषयमा दुई स्थानीयबीच झडप भएको थियो।
जिल्ला प्रहरी कार्यालय दाङका अनुसार राजपुर-४ सन्तपुरुवा निवासी इच्छाकुमार रैदास र सोही ठाउँका ५६ वर्षीय भोला यादवबीच वनमा दाउराको विषयलाई लिएर भनाभन भएको थियो। विवाद बढ्दै गएपछि रैदासले यादवमाथि धारिलो हतियार प्रहार गरेका थिए। हतियार प्रहारबाट गम्भीर घाइते भएका यादवको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।
घटनाको जानकारी पाएलगत्तै जिल्ला प्रहरी कार्यालय दाङबाट प्रहरी नायब उपरीक्षक (डीएसपी) रेशम बोहोराको कमाण्डमा टोली घटनास्थल पुगेको थियो। “सामान्य विवादले उग्र रूप लिँदा ज्यान जानेसम्मको दुखद घटना भएको छ,” डीएसपी बोहोराले भने।
घटनालगत्तै आरोपी इच्छाकुमार रैदास फरार भएका छन्। उनको पहिचान भइसकेको र खोजी कार्यका लागि इलाका प्रहरी कार्यालय र जिल्लाबाट विशेष टोली परिचालन गरिएको प्रहरीले जनाएको छ। मृतकको शवलाई पोष्टमार्टमका लागि अस्पताल पठाइएको छ।







डिसी नेपाल







Facebook Comment