नेपाल चिनाउन क्यालिफोर्नियामा ‘नेपाल उत्सव’

डिसी नेपाल
२८ वैशाख २०८३ १२:२०

टेक्सास। अमेरिकाको क्यालिफोर्निया राज्यको सानफ्रान्सिस्कोमा ‘नेपाल उत्सव’ आयोजना गरिएको छ। नेपाली कला, संस्कृति, वेशभूषा तथा परम्पराको प्रदर्शनमार्फत नेपाललाई अन्तर्राष्ट्रिय स्तरमा चिनाउने उद्देश्यले नेपाल उत्सव आयोजना गरिएको हो।

गैरआवासीय नेपाली संघ (एनआरएनए) क्यालिफोर्नियालगायतका नेपाली सामाजिक संस्थाको संयुक्त आयोजनामा सम्पन्न उत्सवमा अमेरिकाका विभिन्न सहरमा रहेका नेपाली समुदायको उल्लेखनीय सहभागिता थियो।

लस एन्जलस, सानडिएगो, साक्रामेन्टो, बेकर्सफिल्ड, लङबीचलगायत आसपासका राज्य र सहरबाट नेपालीहरू उत्सवमा सहभागी हुन सान फ्रान्सिस्को पुगेका थिए।

सान फ्रान्सिस्को सिटी हलबाटबाट सुरु भएको नेपाल डे परेड एम्बार्काडेरो प्लाजासम्म करिब १.६ माइल दूरीमा सञ्चालन गरिएको थियो । परेड अवधिभर सहरको मुख्य क्षेत्र मार्केट स्ट्रिटमा सवारी आवागमन बन्द गरी पैदलयात्रुका लागि खुला गरिएको थियो।

विभिन्न जातीय तथा क्षेत्रीय संस्थाहरूले प्रस्तुत गरेका झाँकी, नेपाली वेशभूषा तथा सांस्कृतिक कार्यक्रमले सान फ्रान्सिस्कोको सडकलाई ‘नेपालमय’ बनाएको थियो। कार्यक्रममा प्रदर्शन गरिएका नेपाली कला र संस्कृतिलाई स्थानीय अमेरिकी समुदायले समेत रुचिपूर्वक अवलोकन गरेका थिए।

नेपाली समुदायलाई हौसला प्रदान गर्न अमेरिकाका विभिन्न स्थानीय जनप्रतिनिधिहरू समेत कार्यक्रममा सहभागी भएका थिए। कार्यक्रमको आकर्षण पञ्चकन्या, पञ्चेबाजा, शङ्खध्वनि, कुमारी, धिमे तथा लाखे नाच रहेका थिए।

उत्सवमा सान फ्रान्सिस्कोस्थित विभिन्न देशका महावाणिज्य दूतावासका कूटनीतिक अधिकारी, बे एरियाका मेयर तथा सिटी काउन्सिल सदस्यहरूको समेत सहभागिता रहेको एनआरएनए क्यालिफोर्नियाका सचिव कैलाश केसीले जानकारी दिए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *