संसदीय समितिलाई प्रधानमन्त्री बालेनको उपेक्षा: प्रतिपक्षी कांग्रेसले गर्‍यो बैठक बहिष्कार

डिसी नेपाल
२८ वैशाख २०८३ १३:१७

काठमाडौं। प्रधानमन्त्री बालेन शाह राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा लगातार दोस्रो पटक पनि अनुपस्थित भएपछि प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले बैठक बहिष्कार गरेको छ।

गृह मन्त्रालयको समेत जिम्मेवारी सम्हालिरहेका प्रधानमन्त्रीसँग सुकुम्वासी बस्ती खाली गराइएको, सुरक्षा प्रशासन तथा समसामयिक राजनीतिक विषयमा जवाफ माग्नुपर्ने भए पनि उनी बैठकमा नआएपछि कांग्रेसले कडा आपत्ति जनाएको हो।

प्रधानमन्त्रीको उपस्थिति बिना छलफलको कुनै अर्थ र औचित्य नभएको भन्दै कांग्रेस सांसदहरूले बैठक कक्ष छाडेर बाहिरिएका हुन्।

समिति बैठकमा सहभागी कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बे, सचेतक निस्कल राई तथा सांसदहरू अर्जुननरसिंह केसी र रेखाकुमारी यादवले प्रधानमन्त्रीको अनुपस्थितिलाई लिएर सभापति हरि ढकालको ध्यानाकर्षण गराएका थिए।

नेता आङ्देम्बेले प्रधानमन्त्री जस्तो जिम्मेवार व्यक्ति संसदीय समितिको बैठकमा नआउनु लोकतान्त्रिक अभ्यासको उपहास भएको टिप्पणी गर्दै आगामी दिनमा प्रधानमन्त्री उपस्थित हुने ग्यारेन्टी भए मात्रै बैठकको जानकारी दिन सभापतिलाई आग्रह गरे।

प्रतिपक्षी दलको बहिष्कारपछि समितिको कामकारबाही प्रभावित भएको छ भने सरकार र संसदीय समितिबीचको समन्वयमा समेत प्रश्न उठेको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *